पलेसा र कविराज वर्षका उत्कृष्ट

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-०८
  • |
  • 368 पटक हेरिएको

काठमाडौँ । छनोट चरण पार गर्दै पेरिस पारालिम्पिक खेल्न लागेकी पारा तेक्वान्दो खेलाडी पलेसा गोवर्धन र प्रशिक्षक कविराज नेगी लामा क्रमशः वर्षका उत्कृष्ट खेलाडी र प्रशिक्षकबाट सम्मानित भएका छन्। 

नेपाल तेक्वान्दो संघले आठौं वार्षिक साधारणसभाका अवसरमा पलेसालाई वर्षको उत्कृष्ट खेलाडी र कविराजलाई उत्कृष्ट प्रशिक्षकबाट सम्मानित गरेको हो। शनिबार चितवनको सौराहमा आयोजित साधारणसभामा पलेसालाई ५० हजार र कविराजलाई नगद १५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो।

उनीहरुलाई युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ र नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशम्शेर राणाले सम्मान गरेका थिए। चीनको ताइयानमा गत चैत ४ गते भएको एसियाली छनोटमा स्वर्ण पदक जित्दै पलेसा पेरिस पारालिम्पिकका लागि छनोट भएकी थिइन्। पलेसा छनोट चरण पार गरेर पारालिम्पिक खेल्न लागेकी पहिलो नेपाली खेलाडी हुन्।

गत असोजमा चीनको हाङझावमा सम्पन्न चौथो एसियाली पारा खेलकुदमा पनि पलेसाले ऐतिहासिक कांस्य पदक जितेकी थिइन्। यसअघि सन् २०२० मा भएको टोकियो पारालिम्पिकमा पलेसाले दुई खेल जितेकी थिइन्। ओलम्पिकमा दुई खेल जित्ने पलेशा पहिलो नेपाली खेलाडी पनि हुन्।
कविराजले सन् २०१५ देखि पारा तेक्वान्दो प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै आएका छन्। उनको प्रशिक्षणमा नेपालले अहिलेसम्म १० वटा अन्तर्राष्ट्रिय पदक जितिसकेको छ। जसमा तीन स्वर्ण, दुई रजत र पाँच कांस्य छन्।

रोल्पाको जलजला तेक्वान्दो डोजाङका प्रशिक्षक हेमन्त खत्री बेस्ट तेक्वान्दो इन्स्ट्रक्टर अवार्डबाट सम्मानित  भए। उनलाई नगद १५ हजार रुपैयाँबाट सम्मानित गरिएको थियो। यस्तै उत्कृष्ट जिल्ला र उत्कृष्ट प्रदेशबाट क्रमशः चितवन र बागमती प्रदेशलाई नगद २५ हजार रुपैयाँबाट सम्मान गरिएको थियो।

यसैगरी एनटीए सोसल अवार्ड बन्दी सहायता नेपालकी अध्यक्ष प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर र गोल्छा समूहका अध्यक्ष एवं प्रबन्ध निर्देशक शेखर गोल्छालाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरियो। यस्तै एनटीए प्रेसिडेन्ट अवार्ड नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भानबहादुर चन्द र केन्द्रीय सदस्य राम गिरीलाई प्रदान गरिएको थियो। संघका केन्द्रीय सदस्य एवं प्रवक्ता साम्राज्यविक्रम पाण्डे, नेपाल तेक्वान्दो संघ बागमती प्रदेशका अध्यक्ष केशव पुरी र मधेस प्रदेश तेक्वान्दो संघ प्रसंशापत्रबाट सम्मानित भए।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey