खेलकुद पूर्वाधारमा सरकारले ध्यान दिनुपर्छ : राष्ट्रपति पौडेल

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-०४
  • |
  • 468 पटक हेरिएको

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन स्थानीयस्तरबाट नै खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिन जरुरी रहेको बताएका छन् ।

राष्ट्रपति पौडेलले दशरथ रंगशालामा आयोजित १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको मङ्गलबार उदघाटन गर्दै गाउँ गाउँमा विकासका विभिन्न पूर्वाधार निर्माण गरेजस्तै खेलकुदका लागि आवश्यक स्रोत साधन, दक्ष प्रशिक्षक र पूर्वाधार निर्माणमा राज्यले जोड दिनुपर्ने धारणा व्यक्त गरे।

देशको खेलकुदको एउटा मुख्य आधारकारुपमा यो प्रतियोगिता अगाडि बढ्दै जानु सन्तोषको विषय रहेको उनको भनाइ थियो । ‘शिक्षा र खेलकुद एक सिक्काका दुई पाटा हुन्, कक्षाकोठाको शिक्षाले विद्यार्थीको आँखा र मस्तिष्क खुलाउँछ भने खेलकुदले मस्तिष्क, हातखुट्टा र मनलाई क्रियाशील तथा अनुशासित बनाउँछ’, राष्ट्रपति पौडेलले भने ,“ अतिरिक्त क्रियाकलाप र खेलकुद शिक्षालाई पूर्ण बनाउने आधार हुन्, साथै विद्यार्थीमा अभिवृत्ति, सिप, ज्ञान, सामाजिक मूल्यको आर्जन र कार्य तत्परता विकास गर्ने खुला मैदान हुन् भन्ने मलाई लाग्छ ।”

उनले पुस्तक र विद्यालयको सीमाको सिकाइले मात्र आजका विद्यार्थीलाई पूर्ण बनाउन सक्दैन भन्दै यसका लागि परिवार, समाज र परिवेश समावेश हुने, सृजनात्मक सिकाई र गरिखाने पुस्तकविहीन शिक्षाको पनि जरुरत पर्दछ भने ।

“मेरो विचारमा खेलकुद र यस्ता प्रतियोगितात्मक क्रियाकलाप यसैतर्फका उन्नत सिकाइ विधि हुन्”, राष्ट्रपति पौडेलले भने । विद्यार्थीको खेलकुदमा संलग्नता समृद्धि, सफलता र समाज निर्माणको आधार हो भन्दै उनले विद्यार्थीहरू खेलकुदमा निरन्तर अग्रसर हुँदा उनीहरूमा नयाँ विचार र नवप्रवर्तन क्षमता पनि विकास हुनेमात्र होइन यसले उनीहरूलाई भविष्यमा जीवनयापनका लागि सक्षम बनाई मुलुकको प्रगतिमा पनि सहयोग पुर्‍याउन मद्दत गर्दछ भन्ने विश्वास व्यक्त गरे।

राष्ट्रपति पौडेलले खेलको विकास, खेलाडीलाई हौसला, प्रोत्साहन र पुरस्कार तथा आवश्यक प्रशिक्षणसहितको रोजगारीको व्यवस्था गरी खेलको विकासमा सरकार र सरोकारावालाले पर्याप्त ध्यान दिनुपर्ने आवश्यकता औल्याउनुभयो ।

“विशेषतः खेलाडी गाउँ, जिल्ला र प्रदेशमै टिक्न र भविष्य बनाउन सक्छन् भन्ने सुनिश्चितता दिन स्थानीय तह र प्रदेश सरकारको विशेष ध्यान पुग्न जरुरी छ, खेलाडीको भविष्य सुनिश्चित गर्न निजी क्षेत्रले पनि उत्तिकै हातेमालो गर्नुपर्छ भन्ने लाग्छ”, उनले भने ।

उनले खेलकुदमै लागेर मेरो भविष्य बन्छ भन्ने वातावरण सुजना गर्नुनै आजको आवश्यकता हो भने ।

साथै देश विदेशमा हुने प्रतियोगिता र प्रतिस्पर्धाले हाम्रो खेलको स्तरमा विकास गर्ने भएकाले यसतर्फ पनि खेलसम्बद्ध संस्थाहरूले विशेष चासो दिने उनले विश्वास व्यक्त गरे।

खेलमा सहभागी विद्यार्थी एकअर्काप्रति सहयोगी भई सामूहिक प्रयत्न र सामाजिक भावनातर्फ अग्रसर हुन सक्छन् भन्दै उनले यो परिवार, समाज र राष्ट्रलाई समृद्ध बनाउने असल मार्ग हो भने ।

“खेलकुदले समग्र शिक्षा योजनामा विद्यार्थीलाई सहयोग गरी सामाजिक, मानसिक र आर्थिक दृष्टिमा सशक्त बनाउँन अभिप्रेरित गर्दछ, देशको समग्र विकास, समृद्धि र प्रगतिमा पनि विद्यार्थीको अग्रणी र महत्वपूर्ण भूमिका हुन्छ”, राष्ट्रपति पौडेलले भने ।

स्कुल कलेजमा हुने खेल प्रतियोगिता विद्यार्थीबीचमा सामूहिकता, सहभागिता र उत्साह जगाउने र शिक्षाको मनोक्रियात्मक क्षेत्रलाई सफल बनाउने साध्य भएकाले शिक्षा र खेलकुदबीच अद्भूत सम्बन्ध हुन्छ जसले जीवनभर सफलताको खोजी गर्न बाटो देखाउँने उनले विश्वास व्यक्तगरे।

साथै उनले यस्ता प्रतियोगिता शिक्षणसिकाइका अङ्गकै रूपमा सबै विद्यालयमा सञ्चालन हुनुपर्छ भन्ने धारणा व्यक्तगरे। उनले विद्यालय तहमा केन्द्रित रहेर खेल प्रतिभाको खोजी गरी भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी भई राष्ट्रको छवि उच्च बनाउन योगदान पुर्‍याउन सक्ने खेलाडी तयार गर्ने उद्देश्यका साथ यो कार्यक्रम आयोजना हुनु प्रशंसनीय कार्य हो भने ।

राष्ट्रपति पौडेलले देशभरिका विद्यार्थीबीचको यस खेलकुद प्रतियोगिताले विद्यार्थीमा उत्साह र प्रेरणा प्रदान गरेको तथा यसले खेलमा सहभागी हुने विद्यार्थीको नेतृत्व क्षमता विकास गरेको छ, जुन भविष्यमा देश निर्माणको जग हो भने ।

“तपाईहरूको खेलप्रतिको दृढ इच्छा र सङ्गठनशक्ति विद्यालय र त्यस क्षेत्रको मात्र नभई मुलुकको समृद्धि र सफलताको अग्रगामी प्रयत्न बन्न सकोस् भन्ने शुभकामना दिन चाहन्छु”, उनले भने ।

राखेपका सदस्य–सचिव टंकलाल घिसिङले राष्ट्रपति रनिङ शिल्ड राष्ट्रिय टिम निर्माणको जगसमेत रहेको उल्लेख गर्दै सात सय ३५ मध्ये ६३५ स्थानीय तहबाट छनोट भएको जानकारी दिए ।

उद्घाटन कार्यक्रमको सुरुआतमा सहभागी सातै प्रदेशका खेलाडी, प्रशिक्षक, प्रतियोगिताका निर्णायक तथा विभिन्न कला, संस्कृति र पहिचान बोकेका समूहको मार्च पास्ट भएको थियो । विभिन्न खेलका ओलम्पियन दशरथ रंगशालामा ओलम्पिक टर्च र्‍यालीका साथै तेक्वान्दोकी पारा ओलम्पियन पलेशाले ओलम्पिक टर्च प्रज्ज्वलन गरेकी थिइन् । उद्घाटन सत्रमा खेलाडीको तर्पmबाट कर्णाली प्रदेशकी उसु खेलाडी सन्ध्या राणा क्षेत्री तथा निर्णायकको तर्फबाट करातेका प्रकाश मोहन धौबडेलले शपथ लिएका थिए । साथै उक्त समारोहमा विभिन्न सांस्कृति नृत्य र तेक्वान्दो, डान्स स्पोर्ट्स र तेक्वान्दो खेलाडीको डेमोन्स्ट्रेसन भएको थियो । तृष्णा गुरुङ एन्ड दि कोल्याब समूहले प्रस्तुती दिएको थियो ।

तीन दिने प्रतियोगितामा एथ्लेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी ६ खेलमा प्रतिस्पर्धा हुँदै  छ । पहिलो दिन एथलेटिक्सको ८ स्पर्धाको फाइनल सम्पन्न भएको छ भने भलिबल र कबड्डीको प्रतिस्पर्धा पनि सुरु भएको छ ।

एथलेटिक्स : गणेशको राष्ट्रिय कीर्तिमान

गण्डकी प्रदेशका गणेश विकले १४ औं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताअन्तर्गत एथलेटिक्सको छात्र हाइजम्पमा मंगलबार नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा गणेशले १.८१ मिटर जम्प गर्दै २०७५ सालमा भएको राष्ट्रपति रनिङ सिल्डमा लुम्बिनीका प्रभु थारुले बनाएको १.७७ मिटरको कीर्तिमान भंग गरे । बागमती प्रदेशका अविनास सुनार (१.७५ मिटर) दोश्रो तथा लुम्बिनी प्रदेशका मिलन विश्वकर्मा (१.७० मिटर) तेश्रो भए । सो स्पर्धाको छात्रामा सुदूरपश्चिम प्रदेशकी सुस्मिता चौधरी (१.४१ मिटर) पहिलो, गण्डकीकी सिमा श्रेष्ठ (१.३८ मिटर) दोश्रो तथा लुम्बिनीकी पूजा नेपाली र कर्णाली प्रदेशकी हीरा बुढा (१.३० मिटर) तेश्रो भए ।

छात्र १ हजार ५ सय मिटर दौडमा गण्डकीका बादल कार्कीले स्वर्ण जिते । उनले निर्धारित दूरी ४ मिनेट १९.१ सेकेन्डमा पूरा गरे । ४ मिनेट १९.६ सेकेन्ड समयमा कर्णालीका अजय विक दोश्रो तथा ४ मिनेट २२.७ सेकेन्ड समयमा सुदूरपश्चिमका विक्रम विक तेश्रो भए । उक्त स्पर्धाको छात्रामा कर्णालीकी कल्पना बुढा पहिलो भइन् । निर्धारित दूरी तय गर्न कल्पनाले ५ मिनेटमा ०४.४ सेकेन्ड समय लगाइन् । सुदूरपश्चिमकी देवकीकुमारी धामी (५ मिनेट १३.०९ सेकेन्ड) दोश्रो तथा बागमतीकी अस्मिता भुजेल (५ मिनेट १९.८ सेकेन्ड) तेश्रो बने ।

छात्राको ४ सय मिटर दौडमा लुम्बिनीका रोहितकुमार गुप्ता पहिलो भए । उनले ५१.५ सेकेन्डमा दूरी तय   गरे । बागमतीका सन्तबहादुर दराई (५१.९ सेकेन्ड) दोश्रो तथा कोशी प्रदेशका राकेश सार्की तेश्रो स्थानमा रहे । सो स्पर्धाको छात्रामा कर्णालीकी सरिता खड्का पहिलो भइन् । दूरी पूरा गर्न सरिताले १ मिनेट ०२.३ सकेन्ड समय   खर्चिन् । लुम्बिनीकी अनिशा थारु (१ मिनेट ०३.५ सेकेन्ड) दोश्रो तथा कर्णालीकी भावना कर्साल (१ मिनेट ०३.७ सेकेन्ड) तेश्रो भए ।

छात्रको १ सय मिटर दौडमा मधेश प्रदेशका आदेशकुमार यादव पहिलो भए । उनले निर्धारित दूरी पूरा गर्न ११.२० सेकेन्ड समय लगाए । बागमतीका प्रवीण राना मगर (११.३५ सेकेन्ड) दोश्रो तथा सुदूरपश्चिमका चन्द्र बोहरा  (११.५२ सेकेन्ड) तेश्रो भए । सोही स्पर्धाको छात्रामा सुदूरपश्चिमकी रितु जोशी पहिलो भइन् । रितुले निर्धारित दूरी १३.५८ सेकेन्डमा पूरा गरिन् । गण्डकीका एन्जल अधिकारी (१३.६६ सेकेन्ड) दोश्रो तथा निशा घर्ती (१३.७५ सेकेन्ड) तेश्रो भए ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा भइरहेको राष्ट्रपति रनिङ सिल्डको एथलेटिक्समा विभिन्न २६ स्पर्धा समावेश छन् । पहिलो दिन मंगलबार ८ स्पर्धाको फाइनल सम्पन्न भएको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey