पौडी सङ्घमा चुनावी सरगर्मी : बज्राचार्यलाई श्रेष्ठको चुनौती

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-१२-२४
  • |
  • 491 पटक हेरिएको

नेपाल पौडी सङ्घले लामो समयको मौनतालाई भङ्ग गर्दै यही मिति २०८१ वैशाख ८ गते काठमाण्डौंमा चुनावी साधारण सभाको आयोजना गरेको छ ।

चुनावी साधारण सभाको घोषणा सँगै पौडी संघमा चुनावी सरगर्मी पनि बढेको छ । विगत लामो समय देखि नेतृत्व सम्हालिरहेका नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष एवं नेपाल पौडी सङ्घका अध्यक्ष अशोक बज्राचार्यलाई विस्थापित गर्न सङ्घका महासचिव जगतमान श्रेष्ठले चुनौती दिने तयारी गरेका छन् ।

नेपाल पौडी सङ्घ तदर्थ समितिका एक सदस्यले लमो समयदेखि पौडी सङ्घको नेतृत्व सम्हाल्दै आएका बज्राचार्यले व्यक्तिगत सम्पत्ति जस्तै प्रयोग गर्दै आइरहेको र सङ्घमा रहेका पदाधिकारीहरुलाई पौडी सङ्घको निर्णयहरुमा किनाराको साक्षी मात्र बनाउँदै आएको बताए ।

उनले अध्यक्ष बज्राचार्य आफै बोक्सी आफै झाँक्री भनेझैँ आफैले समस्या निकाल्ने र सो समस्यालाई आफैले समाधान गर्ने जस्ता कार्य गर्दै आएका छन् । त्यति मात्र नभएर आफ्नो पक्षमा हो मा हो मिलाउने व्यक्तिहरूलाई मात्र अवसर प्रदान गर्ने, अन्तर्राष्ट्रिय पौडी कार्यक्रममा आफै मात्र जानु पर्ने, अरूलाई अन्तर्राष्ट्रिय समुदायसँग सम्बन्ध विकास गर्न पनि नदिएको बताए ।

लामो समयसम्म पौडीसंघको अध्यक्ष भएका बज्राचार्यलाई अबको चुनावी साधारणसभाबाट सम्मानजनक बिदाइ गर्नु पर्ने भन्दै महासचिव श्रेष्ठले तयारी सुरु गरेको बुझिएको छ ।

अध्यक्ष बज्राचार्यलाई चुनौती पेस गर्न अग्रसर रहेका महासचिव श्रेष्ठ खेलकुदमा भलिबल पृष्ठभूमिका व्यक्ति हुन् । कुनै बेला पौडी सङ्घमा विवाद आई दुई सङ्घ हुँदा श्रेष्ठले बज्राचार्यको विरुद्ध अर्को सङ्घको नेतृत्व गरेका थिए । हालको सङ्घमा पनि उनी अध्यक्ष बज्राचार्यका कार्यहरू प्रति निरन्तर विरुद्धमा रहँदै आएका छन् । प्रहरी प्रशासनबाट सेवा निवृत्त श्रेष्ठ विगतमा नेपाल भलिबल सङ्घको महासचिव समेत रहेका थिए ।

नेपाल पौडी सङ्घको निर्वाचनका लागि केन्द्रीय तदर्थ कार्यसमितिका २६ सदस्य, सात प्रदेशबाट दुई-दुई प्रतिनिधि गरी १४ जना, राष्ट्रिय खेलकुद परिषद्बाट दुई प्रतिनिधि गरी ४२ जना मतदाता रहेकोमा गण्डकी प्रदेशलाई प्रक्रियागत त्रुटिका कारण साधारण सभामा सहभागिताका लागि प्रतिबन्धित गरिएका कारण ४० सदस्यीय मतदाता रहेका छन् ।

राष्ट्रिय खेलकुद परिषद्ले सङ्घहरूलाई नयाँ संरचनाको विधान सहित साधारण सभामा जान तदर्थ समिति गठन गरे पश्चात् नयाँ विधान बमोजिम बन्ने नेपाल पौडी सङ्घमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, एक मनोनीत सहित ४ उपाध्यक्ष, महासचिव, दुई सचिव, कोषाध्यक्ष, सह–कोषाध्यक्ष, १८ सदस्य र राष्ट्रिय खेलकुद परिषद्बाट नेतृत्व गर्ने २ सहित कुल ३१ सदस्यीय कार्य समिति रहने प्रावधान रहेको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey