इंग्लिस प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेड दुई गोलले पछि परेको अवस्थामा पुनरागमन गर्दै जित निकालेको छ ।
शनिबार भएको खेलमा युनाइटेडले नटिङगम फरेष्टलाई ३ २ गोलले पराजित गरेको हो । सुरुवती चार मिनेटमा नै युनाइटेड दुई गोलले पछि परेको अवस्थामा पुनरागमन गरेको हो । खेलको दोस्रो र चौथो मिनेटमा नटिङगम फरेष्टले गोल गर्दै खेलमा दुई गोलको अग्रता बनाएको थियो ।
खेलको दोस्रो मिनेटमा नै नटिङघमका लागि टाइओ अवोनियीले गोल गर्दै टोलीलाई एक गोलको अग्रता दिलाए । त्यसको दुइ मिनेटमा नै विलि जोबो बोलीले नटिङघमका लागि दोस्रो गोल गरे ।
खेलको १७ औं मिनेटमा क्रिष्टियन एरिक्शनले एक गोल गर्दै युनाइटेडको फरेष्टसँगको गोल अन्तर घटाए । उनले मार्कोस रासफोर्डको पासमा गोल गरेका हुन् ।
पहिलो हाफका एक गोलले पछि परेको युनाइटेडले दोस्रो हाफमा थप दुई गोल गर्दै तीन अंक जोड्न सफल भयो । खेलको ५२ औं मिनेटमा ब्रुनो फर्नान्डेजको पासमा कासिमिरोले बराबरी गोल गरे ।
त्यसपछि खेलको ७६ औं मिनेटमा ब्रुनो फर्नान्डेजले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई जित दिलाए ।
जितसँगै युनाइटेडले तीन खेलबाट ६ अंक जोड्दै लिगको पाँचौं स्थानमा उक्लेको छ । पराजित भएको नटिङघम फरेष्ट तीन अंकका साथ १४ औं स्थानमा रहेको छ ।