अन्तिम एक दिवसीयमा श्रीलंका विजयी

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-१४
  • |
  • 499 पटक हेरिएको

काठमाडौं । बंगलादेशविरुद्धको अन्तिम एक दिवसीय क्रिकेट प्रतियोगितामा श्रीलंका विजयी भएको छ । ढाकामा भएको खेलमा पाहुना टोली श्रीलंका ९७ रनले विजयी भएको हो । यो सँगै पराजित भएपछि बंगलादेशले सिरिज २–१ ले आफ्नो पक्षमा पारेको छ । श्रीलंकाले पहिलो पटक बंगलादेशसँग दुई पक्षिय सिरिज गुमाएको हो ।

श्रीलंकाले दिएको २८७ रनको लक्ष्य पछ्याएको बंगलादेश ४२.३ ओभरमा १८९ रन बनाउँदा अल आउट भयो ।
बंगलादेशका लागि मोहमुदुल्लाहले ५३ तथा मोसुदेक हुसेनले ५१ रन जोड्दा मुस्फिकुर रहिमले २९ रनको योगदान गरेका थिए । अरु ब्याट्सम्यानले सम्झन लायक प्रदर्शन गरेनन् । श्रीलंकाका दुष्मन्था चमिराले सर्वाधिक ५ विकेट लिएका थिए । ९ ओभर बलिङ गरका चमिराले एक ओभर मेडन राख्दै १६ रन खर्चिएका थिए ।

टस जितेर पहिला ब्याटिङ गरेको श्रीलंकाका लागि कुशल परेराले शतकीय पारि खेले पछि निर्धारित ओभरमा ६ विकेट गुमाएर २८६ रन बनाएको थियो । बंगलादेशविरुद्ध श्रीलंकाको शुरुवात राम्रो रहेको थियो ।

 

पहिलो विकेटका लागि धनुष्का गुनथिलका र कप्तान कुशल परेराले ८२ रनको साझेदारी गर्दै ठोस शुरुवात गरेका थिए ।
व्यक्तिगत ३९ रन बनाएका धनुष्का आउट भएपछि श्रीलंकाले पहिलो विकेट गुमाएको थियो ।

त्यस लगत्तै पथुम निस्काना पनि खाता नै नखोली आउट भएपछि श्रीलंकाले ८२ रन हुँदा दोस्रो विकेट पनि गुमाएको थियो । कुशल मेन्डिस र परेराले श्रीलंकाको इनिङ अघि बढाएका थिए । १५१ रन भएका बेला तेस्रो विकेटको रुपमा मेन्डिस पभेलियन फर्किएका थिए । मेन्डिस २२ रन बनाएर आउट भएका थिए ।

परेरा र धनञ्जय डा सिल्भाले पारि सम्हालेका थिए । टिमको स्कोर २१६ रन भएका बेला शतकीय पारि खेलेका परेर आउट हुन पुगे । उनले १२२ बलमा ११ चौका र एक छक्काको मद्दतले १२० रन बनाएका थिए ।

पाँचौं विकेटको रुपमा निरोसन डिकवाला ७ रन बनाएर आउट हुँदा वानेन्डु हसरंगाले १८ रनको योगादन गरे । अन्तिमसम्म क्रिजमा रहेका सिल्भाले अर्धशतकको पारि खेल्दा रमेश मेन्डिस ८ रनमा नटआउट रहे । सिल्भाले ७० बल फेस गर्दा चार चौकाको मद्दतले ५५ रनको अर्धशतकीय पारि खेलेका थिए ।
बंगलादेशका तस्कीन अहमदले सर्वाधिक चार विकेट लिँदा सेफुल इस्लामको नाममा एक विकेट रह्यो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey