पहिलोपल्ट युरो खेल्ने तयारीमा रहेको नर्थ मासेडोनियाकाे अवसर

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-१३
  • |
  • 802 पटक हेरिएको

एजेन्सी । दक्षिण पूर्वी युरोपमा अवस्थित भूपरिवेष्ठित मुलुक नर्थ मासेडोनिया नेपालभन्दा धेरै सानो देश हो । नेपालको प्रदेश १ कै जति क्षेत्रफल भएको यो देश युरो–२०२० खेल्ने युरोपका २४ देशहरुमध्येको एक हो ।

सन् १९९१ मा युगोस्लाभियाबाट स्वतन्त्र भएपछि अन्तर्राष्ट्रिय फुटबलमा पाइला राखेको यो देश तीन दशकपछि युरोपको सबैभन्दा ठूलो प्रतियोगितामा छनोट हुन सफल भयो । २० लाख जनसंख्या रहेको नर्थ मासेडोनिया फिफा वरियतामा ६२ औं स्थानमा छ ।

समूह सी मा अवसर

छनोट प्रतियोगितामा समूह जी बाट उत्कृष्ट तेस्रोको रुपमा प्लेअफमा पुगेर प्लेअफको फाइनलमा जर्जियालाई हराउँदै युरोमा छनोट भएको नर्थ मासेडोनिया युरोको समूह सी मा परेको छ ।

यो समूहमा अस्ट्रिया, नेदरल्याण्ड्स र युक्रेन छन् । बाँकी टिमहरु लयमा नदेखिएको समयमा पहिलो प्रतियोगितामै अविष्मरणीय प्रदर्शन गर्ने अवसर नर्थ मासेडोनियालाई छ ।

विश्वकप छनोटको खेलमा विश्व फुटबलको महारथी जर्मनीलाई पराजित गरी सनसनी मच्चाएको मासेडोनियालाई गुमाउनु केहि छैन । त्यसैले उनीहरु दवावरहित खेल्नेछन् ।

मुख्य खेलाडी

गोरान पान्डेभ (११४ क्याप, ३६ गोल)

छनोट प्रतियोगिताको फाइनलमा जर्जियाबिरुद्ध विजयी गोल गरेपछि नर्थ मासेडोनियाका कप्तान गोरानलाई राष्ट्रिय नायकको मान्यता दिइयो ।

टिमको नेतासँगै मिहिनेती र सृजनात्मक लेफ्ट फुटेट ३७ वर्षीय यी स्ट्राइकर आफ्नो टेक्निकल क्षमताका कारण लोकप्रिय बनेका छन् । उनी गोलका अवसर सृजना गर्न पनि उत्तिकै माहिर छन् ।

जियोना क्लबका यी खेलाडी देशका लागि सर्बाधिक क्याप जित्ने खेलाडी हुन् भने सर्बाधिक गोलकर्ता पनि हुन् ।

इनिस बार्ढी (३१ क्याप, ५ गोल)

स्पेनिस टोली लेभान्टेका यी मिडफिल्डरको पास, सृजनात्मकता र गोलस्कोरिङ खतरा कायम राख्ने क्षमता अदभूत छ । उनको सेट पिस तथ्यांक पनि लोभलाग्दो छ । ला लिगामा उत्कृष्ट फ्रिकिक प्रहार गर्नेमा मेस्सीकै बराबर छन् ।

सन् २०१७ को युइएफए यू–२१ च्याम्पियनसिपको फाइनलको अनुभव पनि उनीसँग छ ।

नर्थ मासेडोनियाका लागि अविष्मरणीय क्षण

सन् १९९३ मा अन्तर्राष्ट्रिय डेब्यू खेल खेलेको नर्थ मासेडोनियाले पहिलो खेलमै स्लोभेनियालाई ४–१ ले पराजित गरेको थियो । जोरान बोस्कोस्कीले अन्तर्राष्ट्रिय टोलीका लागि पहिलो गोल गरेका थिए ।

सन् २००४ को युरो छनोटमा इंग्ल्याण्डविरुद्ध अर्तिम साकिरीले कर्नरबाट सिधै गोल गरेको क्षण पनि निकै नै चाखलाग्दो थियो ।

नर्थ मासेडोनियाले सन् १९९६ को विश्वकप छनोटमा लिचेस्टाइनबिरुद्धको ११–१ अन्तरको फराकिलो जित पनि उसको फुटबल इतिहासको हाइलाइट्स हो ।

र, यो पनि जान्नुहोस्

गोलरक्षक ब्लागोजे भिदिनिचमात्र एकमात्र नर्थ मासेडोनियाली मूलका खेलाडी हुन्, जसले युरो खेल्ने अवसर पाएका थिए । उनले सन् १९६० को प्रतियोगिताको उद्घाटन खेलमा सोभियत युनियनविरुद्ध युगोस्लाभियाको टिमबाट खेलेका थिए ।

टिमका वर्तमान मुख्य प्रशिक्षक इगोर एंथगेलोभ्स्की राष्ट्रिय टोलीको प्रशिक्षकका रुपमा सबैभन्दा लामो समयसम्म जिम्मेबारी पाउने व्यक्ति हुन् । उनको प्रशिक्षणमा टोलीले खेलेको ४५ खेलमा २० जित, १० बराबरी र १५ हारको नतिजा निस्किएको छ ।

सन् १९९३ यता राष्ट्रिय टिमको जिम्मेबारी संहाल्ने एंगेलोभ्स्की १७ औं प्रशिक्षक हुन् । तीमध्ये चारजना प्रशिक्षकमात्र विदेशी थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey