आइपीएल आजबाट सुरु हुँदै, रोहित र कोहलीको भिडन्त

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२७
  • |
  • 264 पटक हेरिएको

अघिल्लो संस्करण सकिएको पाँच महिनामा नै भारतीय क्रिकेट बोर्डले आजबाट १४ औं संस्करणको इन्डियन प्रिमियर लिग गर्दैछ । भारतमा कोरोना संक्रमणको दर उच्च भएपनि बीसीसीआईले सावधानीका साथ प्रतियोगिता सुरु गर्दैछ ।

कोरोनाकै कारण अघिल्लो सिजनमा आइपीएल यूएईमा गरिएको थियो । यो पटक भारतका ६ वटा मैदानमा यो प्रतियोगिता गर्दैछ । जसमा उद्घाटन खेल चेन्नेईमा हुँदैछ । जसमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्स र रोयल च्यालेञ्जर्स बैंग्लोरविच उद्घाटन खेल हुँदैछ । यो खेल नेपाली समय अनुसार साँझ पौने आठ बजेबाट सुरु हुनेछ ।

रोहित शर्माको कप्तानीमा रहेको मुम्बई र विराट कोहलीको कप्तानमा रहेको बैंग्लोरविचको भिडन्त रोमाञ्चक हुने अपेक्षा गरिएको छ । अघिल्लो सिजनमा दुई पटक यी दुई टिम खेल्दा दुबैले एक एक खेल जितेका थिए ।

प्रतियोगिताको सर्वाधिक सफल टिम मुम्बई छैटौं पटक यो प्रतियोगिताको उपाधि जित्ने लक्ष्यमा हुनेछ । यता अहिलेसम्म एक पटक पनि उपाधि जित्न नसकेको बैंग्लोरको लक्ष्य पहिलो पटक उपाधि जित्ने हुनेछ ।

पेपेरमा निकै बलियो भएपनि बैंग्लोरले अहिलेसम्म प्रतियोगिमा राम्रो नतिजा निकाल्न सकेका छैन । अघिल्लो सिजनमा पनि बैंग्लोर चौथो स्थानमा रहेको थियो ।

याे सिजनमा अरू बेलाकाे तुलनामा केहि परिवर्तन देखिने छ । जसमा यस प्रकारका परिवर्तन हुनेछन ।

१. घरेलु मैदानमा खेल्न नपाइने :

आईपीएलमा यस पटक कुनै पनि टिमले घरेलु मैदानमा खेल्न पाउने छैनन् । यसले गर्दा कुनै पनि टिमले मैदानमा घरेलु दर्शकको साथ पाउने छैनन् ।

नयाँ नियमअन्तर्गत आईपीएलको १४ औँ संस्करणमा प्रत्येक टिमले ‘तटस्थ स्थान’ मा प्रतिस्पर्धा गर्नुपर्ने छ ।

२. ‘सफ्ट सिग्नल’ हटाइयो :

आईपीएलको १४ औँ संस्करणमा अम्पायरले तेस्रो अम्पायरलाई मैदानबाट ‘सफ्ट सिग्नल’ दिने छैनन् ।

मैदानमा रहेको अम्पायर कुनै निर्णयमा पुग्नका लागि विश्वस्त नभएको अवस्थामा तेस्रो अम्पायरलाई ‘रेफर’ गर्ने क्रममा मैदानबाट ‘सफ्ट सिग्नल’ का रूपमा आफ्नो निर्णय दिनुपर्ने नियम छ ।

तर, ‘सफ्ट सिग्नल’ लाई उल्टाउनका लागि पर्याप्त प्रमाण आवश्यक पर्ने भएकाले कतिपय अवस्थामा तेस्रो अम्पायरले समेत सही निर्णय दिन नसकेको अवस्था थियो ।

हालै भारत र इंग्ल्याण्डबीचको खेलमा ‘सफ्ट सिग्नल’ का बारेमा विवादसमेत भएको थियो । तर, आईपीएलको १४ औं संस्करणमा अम्पायरले मैदानबाट ‘सफ्ट सिग्नल’ दिन पाउने छैनन् ।

३. ९० मिनेटभित्र २० ओभर :

बीसीसीआईले आईपीएलको १४ औँ संस्करणमा एउटा नयाँ नियम ल्याएको छ, जसअनुसार २० ओभरको खेललाई ९० मिनेटभित्र टुंग्याइसक्नुपर्ने छ ।

यसअघि २० औँ ओभर ९० मिनेटमा सुरू गर्नुपर्ने बाध्यता रहे पनि अब भने ९० मिनेटभित्रै २० ओभर समाप्त गरिसक्नुपर्ने जनाइएको छ ।

बलिङ गर्ने टिमले निर्धारित समयभित्र म्याच समाप्त नगरेमा त्यस्तो टिमको कप्तानलाई १२ लाख रुपैयाँदेखि लिएर ३० लाख रुपैयाँसम्म जरिवाना हुनेछ । अम्पायरले कप्तानलाई एक म्याचका लागि प्रतिवन्धसमेत लगाउन सक्ने नियम बनाइएको छ ।

४. ‘शर्ट रन’ बारे तेस्रो अम्पायरले फैसला गर्ने :

‘शर्ट रन’ का बारेमा अब मैदानमा रहेको अम्पायरले नभई तेस्रो अम्पायरले अन्तिम फैसला गर्नेछ । मैदानमा रहेको अम्पायरले गरेको फैसलामा त्रुटि रहेमा तेस्रो अम्पायरले उक्त फैसलालाई उल्ट्याउन सक्नेछ ।

५. चौथो अम्पायरलाई चेतावनीको अधिकार :

ब्याटिङ गर्ने टिमले जानाजान समय बर्बाद गरिरहेको छ भने चौथो अम्पायरले चेतावनी दिन सक्ने छ ।

बलिङ गरिरहेको टिमलाई निर्धारित समयभित्र खेल सक्नबाट रोक्ने उद्देश्यले ब्याटिङ टिमबाट समय खेल फाल्ने काम भइरहेको महसुस भएमा चौथो अम्पायरले चेतावनी दिन सक्ने र त्यस्तो चेतावनीबारे टिमको कप्तान र मेनेजर दुवैलाई जानकारी दिने व्यवस्था गरिएको छ ।

६. म्याच अवरुद्ध भएमा अतिरिक्त समय :

कुनै कारणबस बीचमा केही समय म्याच अवरुद्ध भएमा अवरुद्ध भएको समय पूर्ति गर्नका लागि प्रतिओभर ४ मिनेट १५ सेकेन्ड समय थपिने व्यवस्था गरिएको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey