खेलकुदका प्रतिष्ठित जोडी, जसले खेलबाट सफलतासँगै जीवनसाथी पनि भेट्टाए

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-०२
  • |
  • 455 पटक हेरिएको

नेप्लेज । आज १४ फेब्रुअरी, भ्यालेन्टाइन डे तर्थात प्रयण दिवस । पश्चिमा संस्कृतिमा चर्चित भ्यालेन्टाइन डे अहिले हाम्रो देशमा पनि युवाहरुमाझ उत्तिकै लोकप्रिय छ ।

मायामा निकटताले धेरै ठूलो अर्थ राख्छ । सामान्य मानव स्वभाव पनि के रहने गरेको छ भने आफूले माया गर्नेहरु आफूसँगै, नजिकै भइरहुन भन्ने हुन्छ । पूवीर्य संस्कृतिमा त यो मान्यता झन् बढी छ ।

एकै क्षेत्रमा काम गर्दा मन मिल्नु र त्यसलाई जीवनपर्यत्न सहकार्यको रुपमा अघि बढाउनु सामान्य नै हो । नेपाली खेलकुदमा पनि थुप्रै प्रतिष्ठित जोडीहरु छन्, जो एउटै क्षेत्रमा एकअर्कामा नजिक भए र सँगै जीवन विताउने प्रण गरे ।

खेलकुद क्षेत्रमा त्यस्ता जोडीहरु थुर्पै छन् । कतिपयले विवाहपछि खेल छाडेका पनि छन्, कोही विदेश पलायन भएका छन् । हामीले खेल क्षेत्रबाट मन मिलेर विवाह गरेका र अहिलेसम्म पनि दुवै जना खेलकुदमै सक्रिय रहेका केहि जोडीबारे कुरा गर्न लागेका छौं ।

दीपक–आयशाको जोडी

नेपाली खेलकुदमा सबैभन्दा चर्चित जोडी हुन्, ओलम्पियन तथा कीर्तिमानी खेलाडी दीपक विष्ट र सागकी दोहोरो स्वर्णधारी आयशा शाक्यको जोडी । उनीहरुलाई तेक्वान्दो खेलले नै नजिक्याएको हो ।

उनीहरुबीच झन्डै १० वर्ष उमेरको अन्तर छ । सन् १९९९ देखि सन् १०१० सम्म चारपल्ट दक्षिण एसियाली खेलकुदमा स्वर्ण जितेर कीर्तिमान बनाएका दीपक र आयशाले २०६७ फागुन २१ गते प्रेम विवाह गरेका हुन् । पारिवारिक असहमतीका बाबजुद संगैबाँच्ने सँगै मर्ने कसम खाएका उनीहरुको अहिले २ सन्तान छन् ।

आयशाले अघिल्लो वर्ष नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुदमा दुई स्वर्ण जितेकी छन् । दीपक त्यही टोलीका प्रशिक्षक थिए । दुई सन्तानको आमा भएर पनि ठूलो प्रतियोगितामा सफलता हासिल गरेकी आयशा समग्र महिला खेलाडीहरुका लागि प्रेरण पनि हुन् ।

कुशल–ताराको जोडी

धनकुटाका कुशल श्रेष्ठ र कास्कीकी तारा गुरुङलाई एक बनाउन खेलकुद नै मियोका रुपमा रह्यो ।

कराँते खेलमार्फत नै यी दुई नजिकिएका हुन् । सन् २००६ मा श्रीलंकामा आयोजित दशौं दक्षिण एसियाली खेलकुदका स्वर्ण जित्नुभन्दा अगाडि नै यो जोडीले विवाह गरिसकेको थियो । उनीहरुले २०६० साल फागुन ८ मा विहे गरेका हुन् ।

साग खेल्न नपाए पनि ताराले कराँतेको विश्व च्याम्पियनसिपदेखि दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी छन् । यो जोडीको एक सन्तान छ । अहिले दुवै जना राखेपको कराँते सहायक प्रशिक्षकको जिम्मेबारीमा छन् ।

नविता– राकेशको जोडी

महिला टेवलटेनिसमा कीर्तिमानी ८ पल्टको राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठ र राकेश महर्जनलाई खेलकुदले नै नजिक्याएको हो । स्वयम्भूको बिजेश्वरी स्कुलमा नविता विद्यार्थी र राकेश प्रशिक्षकको रुपमा थिए । त्यहीँ उनीहरु नजिकिएका हुन् ।

लामो समय प्रेम सम्बन्धमा रहँदा राकेशले नविताको करिअर बढाउन धेरै नै सहयोग गरे । दुवैजना नेपाल प्रहरी क्लबमा अनुबन्ध छन् । आफू औषत खेलाडी कै रुपमा रहेर राकेशले नवितालाई लगातार राष्ट्रिय च्याम्पियन बन्न उत्प्रेरित गरिरहे । उनीहरुले २०७० माघ ६ गते पारिवारिक सहमतिमा विहे गरेका हुन् ।

नविता र राकेशको हालै छोरा जन्मिएको छ । उनीहरुले हालैमात्र च्याम्पियन एकेडेमी नामको टेवलटेनिस एकेडेमी स्थापना गरेका छन् । नयाँबजार, टाउनप्लानिङमा स्थापित एकेडेमीमा खेलाडी उत्पादन र राष्ट्रिय प्र्रतिभा उत्पादनको लक्ष्य राखिएको छ ।

विराट–सदिनाको जोडी

फुटबलका विराटकृष्ण श्रेष्ठ र भलिबलकी सदिना श्रेष्ठ पनि खेलकुदकै कारण प्रेममा परेका हुन् । उनीहरु खेलाडी जीवनदेखिकै चिनजानले विहेको चरणमा पुग्यो र जीवनसाथीका रुपमा छन् ।

दुवै जना आआफ्नो खेलमा प्रशिक्षक हुँदै मुख्य प्रशिक्षकको जिम्मेबारी पूरा गरिसकेका छन् । उनीहरुले २०५२ साल माघ ७ गते विवाह गरेका हुन् । उनीहरु अहिले रिटायर्ड जीवन विताइरहेका छन् ।

सूर्यभूषण–रेणुदेवीको जोडी

सूर्यभूषण बज्राचार्य र रेणुदेवी कोण्डाको भेट टेनिसको कोर्टमा भएको हो । खेलकुदबाट चिनजान, साथी हुँदै जीवनसाथीको रुपमा सम्बन्ध विकास गरेका उनीहरुको विहे भएको पनि २१ वर्ष भइसकेको छ ।

उनीहरुले २०५६ साल माघको श्रीपन्चमीको दिन विहे गरेका हुन् । रेणु हाल टेनिसका लागि राष्ट्रिय खेलकुद परिषदको मुख्य प्रशिक्षक छिन् भने सुर्यभूषण राखेपमै टेनिस प्रशिक्षकका रुपमा करारमा कार्यरत छन् ।

वाङदेन–जेनिफरको जोडी

वाङदेन लामा र जेनिफर भूजेलको मायाप्रिती पौडी पोखरीबाटै झाँगिएको हो । दुवैजना पौडी खेलाडीका रुपमा सक्रिय थिए, जेनिफरलाई पहिलो हेराइमै मन पराएका उनीहरुबीचको सम्वन्ध २०५२ सालमा विवाहमा परिणत भयो ।

विहेपछि जेनिफरले केहि समय पौडीबाट बिश्राम लिइन् । वाङदेनले निरन्तरता लिए । अहिले दुवै जना पौडी प्रशिक्षकका रुपमा कार्यरत छन् ।

कमल र राजलक्ष्मीको जोडी

कमल बहादुर अधिकारी र राजलक्ष्मी थापाको चिनजान र विवाह पनि खेलकुदकै कारणले भएको हो ।
सागका स्वर्णधारी कमलले १८ वर्ष अगाडि खेलाडीकै रुपमा सुरुआती चिनजानमा रहेकी राजलक्ष्मीसँग विहे गरेका हुन् । उनीहरु दुवै जना अहिले पनि खेलाडीका रुपमा सक्रिय छन् ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey