आफ्नै अक्षय कोषबाट खेलाडीलाई पुरस्कार दिने मनोरञ्जन

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१०-१८
  • |
  • 238 पटक हेरिएको

नेप्लेज । हरेक व्यक्तिलाई पुरस्कारको महत्व आफ्नै हुन्छ । अझ भन्ने हो भने नेपाल जस्तो विकाशसिल राष्ट्रका व्यक्तिहरुलाई पुरस्कारले काम गर्नका लागि मार्ग दर्शन गर्छ भने आगमी दिनमा अझै राम्रो गर्नुपर्छ भन्ने भावना जगाउन सक्छ ।

नेपालमा खेलाडीहरुले सम्मान पाउने भनेको प्रतियोगिता जितेका बेला र केही क्यालेन्डर अनुसार अर्थात वार्षिक कार्यक्रम अनुसार नै हो । नेपाली खेलकुद अझै व्यवसायिकता तर्फ उन्मुख भइनसकेको अवस्थामा हरेक खेल संघले दिने पुरस्कार अझ त्यसमा नगद भयो भने झनै राम्रो हुने नै भयो ।

कतिपय पुरस्कारहरु कुनै व्यक्तिको स्मरणमा दिने गरिन्छ । तर, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले आफ्नै नामबाट अक्षय कोष निर्माण गरि त्यसबाट आएको ब्याजबाट हरेक बर्ष दुई जना (महिला र पुरुष) भलिबल खेलाडीलाई प्रदान गर्दै आएका छन् ।

२०७४ साल जेठ चार गतेको तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले भलिबलाई राष्ट्रिय खेल घोषणा गर्‍यो । भलिबल खेल घोषणा भएको अवसरमा संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले पनि हरेक बर्ष आफ्नो नाममा स्थापना भएको अक्षय कोषमार्फत दुई जना खेलाडीलाई पुरस्कार दिने भनेर १० लाख रुपैयाँ जम्मा गरे । उक्त दश लाखको ब्याजबाट हरेक बर्ष दुई जना खेलाडीले पुरस्कार पाउँदै आएका छन् । यस वर्षको यो पुरस्कार महिला तर्फ प्रतिभा माली र पुरुष तर्फ इम रानाले पाएका छन् । उनीहरुले बैंकले दिएको ब्याज ७० हजार मध्य ३५–३५ हजार पाएका हुन् ।

अध्यक्ष शर्माले यो पुरस्कार रकम बृद्धि गर्ने योजना रहेको सुनाउँछन् । आफ्नै नाममा स्थापना भएको पुरस्कार आफै खेलाडीलाई दिन पाउनु आफूलाई सौभाग्यशाली ठान्ने शर्मा आफ्नो शेष पछाडि पनि यो पुरस्कारले निरन्तरता पाउनेमा विश्वस्त छन् । उनले भने ‘म बाँचुन्जेल त यो पुरस्कार निरन्तर रहन्छ, र यसमा रकम थप्दै जाने नै छु, म पछि पनि मेरा छोरा छोरी सवैलाई यो विषयमा भनेको छु, यो काम निरन्तरता दिनु भनेर ।’ साथै अर्काे वर्षदेखि एक जनालाई कम्तिमा ५० हजार दिने लक्ष्य लिएकाे पनि शर्माकाे भनाई छ ।

आगामी दिनमा उनी संघमा भए पनि नभए पनि नेतृत्वमा आउने जाे काेहीले याे पुरस्कारलाई निरन्तरता दिने संघका महासचिव जितेन्द्र बहादुर चन्दकाे भनाई छ ।

शर्माको नामबाट अवार्ड पाएका खेलाडी इम रानाले पनि आफूलाई यो पुरस्कारले थप हौसला दिने बताए भने अर्की खेलाडी प्रतिभा मालीले आफू अहिले घाइते भए पनि चाँडै नै खेल्ने गरि फिट हुने बताइन् । पुरस्कार आगामी दिनमा पनि निरन्तर हुनेमा आशा व्यक्त गर्दै यसले खेलाडीको मनोबल उच्च हुने उनको विश्वास छ । उनले भनिन् ‘इन्ज्योरी हुँदा पनि यो पुरस्कार पाएकी छु, यस्ता पुरस्कारले आगामी दिनमा खेलाडीहरुको मनोबल अझैं उच्च हुन्छ ।’

शर्माको काम प्रति राष्ट्रिय खेलकुद परिषद् राखेपक सदस्य सचिव रमेश सिलवालले पनि खुलेर प्रशंसा गर्छन् । शर्माको नेतृत्वमा नेपाली भलिबले राम्रो इतिहास बनाएको बताउने सिलवालले आफू सधै भलिबललाई साथ दिन लागि पर्ने बताए ।
भलिबल संघका अध्यक्षले जसरी खेलाडीको हौसलाबृद्धिका लागि काम गरिरहेका छन् त्यसको सिको अरु संघमा बस्ने नेतृत्वले गर्न जरुरी छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey