सुदूरपश्चिम स्पोर्टस अवार्डको बर्ष खेलाडी पुरुष विधालाई नवजीवन अस्पतालको साथ

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१०-१६
  • |
  • 326 पटक हेरिएको

धनगढीमा हुने दोस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डलाई धनगढीमा रहेको नवजीवन अस्पतालले साथ दिएको छ । नेपाल खेलकद पत्रकार मञ्च कैलालीले धनगढीमा आयोजना गर्ने स्पोर्टस अवार्डको दोस्रो संस्करणमा नवजीवन अस्पतालले प्रायोजन गरेर साथ दिएको हो ।

स्पोर्टस अवार्डमा दिईने ९ वटा विधा मध्येको मुख्य विधा बर्ष खेलाडी पुरुष विधालाई नवजीवन अस्पतालले प्रायोजन गरेको हो । अब यो विधाको नाम नवजीवन अस्पताल बर्ष खेलाडी पुरुष रहने छ । खेलकुद क्षेत्रमा २०७६ सालमा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेका सुदुरपश्चिमका पुरुष खेलाडीलाई यो अवार्ड प्रदान गरिनेछ ।

यो विधाका विजेतालाई नगद ३० हजार सहित ट्रफी र मेडल प्रदान गरिनेछ । अघिल्लो बर्ष पनि नवजीवन अस्पतालले प्रायोजन गरेर साथ दिएको थियो । विधा प्रायोजन सम्बन्धी सम्झौता पत्रमा सारथी अस्पतालका मेडिकल डाईरेक्टर डाक्टर विदुरमणी ढकाल र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष सीताराम ओझाले हस्ताक्षर गरे ।

अवार्डमा अघिल्लो बर्षदेखि जोडिएकोमा यसपाली पनि अवार्डलाई साथ दिएर निरन्तरता दिएको अस्पतालका मेडिकल डाईरेक्टर डाक्टर विदुरमणी ढकालले बताए । विधा प्रायोजन गरेर सहकार्य गर्दै खेलकुद क्षेत्रलाई पनि साथ दिएको उनले बताए । उनले स्वास्थ्य र खेलकुद एक अर्कासँग जोडिएको र यस्ता कार्यक्रमले खेलाडीहरुको प्रतिभा पहिचानमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता मेडिकल डाईरेक्टर डाक्टर ढकालले जनाएका छन् । बर्ष पुरुष खेलाडी अवार्डका विजेतालाई अस्पतालमा उपलब्ध रहेको स्वास्थ्य उपचारको निशुल्क गर्ने उनले घोषणा गरे ।

आगामी चैत ६ गते धनगढीमा हुने सुदूरपश्चिम स्पोर्टस अवार्ड विभिन्न ९ विधामा दिईनेछ । बर्ष पुरुष खेलाडी, बर्ष महिला खेलाडी, बर्ष युवा खेलाडी, बर्ष प्रशिक्षक, स्पेशल अवार्ड र लाईफ टाईम एचिभमेन्ट अवार्ड प्रदान गरिने छ । त्यसैगरी पिपुल च्वाईस, सुदूरपश्चिम आईकन महिला र पुरुष विधामा पनि अवार्ड वितरण गरिनेछ । ७ वटा विधामा तीन-तीन जनाको मनोनयन सार्वजनिक गरिनेछ भने स्पेशल अवार्ड र लाईफ टाईम एचिभमेन्ट अवार्डको घोषणा कार्यक्रम आयोजना हुने दिनमा नै गरिनेछ ।

अवार्ड अन्तर्गतको बर्ष युवा खेलाडीलाई निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर, सुदूरपश्चिम आईकन पुरुष विधालाई माया मेट्रो हस्पिटल, सुदूरपश्चिम आईकन महिला विधालाई तिवारी मेडिसिन डिष्ट्रिव्युटर्स, लाईफटाईम अचिभमेन्ट अवार्डलाई सारथी अस्पताले प्रायोजन गरेका छन् । सुदूरपश्चिम स्पोर्ट्स अवार्डको दोस्रो संस्करणमा धनगढी उप महानगरपालिका प्रबद्र्धकको रुपमा रहेको छ । ओम प्यालेस भेनु पार्टनरको रुपमा रहेको छ । अन्य प्रायोजकहरु र विधा प्रायोजकहरुको खोजी भईरहेको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ ।

नेपाल खेलुकद पत्रकार मञ्च कैलालीले अघिल्लो बर्षदेखि सुदूरपश्चिम स्पोर्टस अवार्डको आयोजना गर्दै आएको छ । चैत ६ गते आयोजना हुने अवार्डको दोस्रो संस्करणमा २०७६ सालभर उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल भएका खेलाडी र प्रशिक्षक गरी विभिन्न ९ विधामा अवार्ड दिईनेछ । गत वर्ष ६ विधामा अवार्ड दिईएको थियो ।

पिपल्स च्वाईस, सुदूरपश्चिम आईकन महिला र पुरुष विधा यसपालीदेखि थप गरिएका हुन् । अघिल्लो वर्ष जस्तै यस वर्ष पनि उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्डहरू पनि छन् । उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक र पिपल्स च्वाइस अवार्ड गरी ४ विधाका विजेतालाई नगद ३० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाईफ टाइम एचिभमेन्ट अवार्डका विजेताहरूलाई नगद २५ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र दिईनेछ ।

यस्तै सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी मेडल र प्रमाणपत्रका साथै विभिन्न विधाका विजेतालाई गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ । अवार्ड कार्यक्रम डिसहोम एक्सन स्पोर्टस र धनगढीका स्थानीय संचार माध्यमबाट प्रत्यक्ष प्रसारण गरिने बताईएको छ । कार्यक्रम धनगढीको ओम प्यालेसमा आयोजना हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey