नेपाल ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो सुरु, साग स्वर्ण विजेता पार्वतीलाई स्वर्ण 

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१०-१३
  • |
  • 480 पटक हेरिएको

काठमाडौं, माघ १३ गते । कोटेश्वर तेक्वान्दो डोजाङ, मूलपानी तेक्वान्दो डोजाङ, काभ्रेस्थली तेक्वान्दो डोजाङ, स्युचाटार तेक्वान्दो डोजाङ, बाल गीताञ्जली स्कुल र मोर्निङ ग्लोरी स्कुलको संयुक्त आयोजनामा प्रथम नेपाल ओपन अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो प्रतियोगिता मंगलबारदेखि कोटश्वर तेक्वान्दो डोजाङमा सुरु भएको छ ।

प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री दावा तामाङले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवाल, राखेपका सदस्य मानदेव हजरा, ओलम्पियनद्वय संगिना वैद्य, दीपक विष्ट, १३ औं सागका दोहोरो स्वर्ण विजेता करातेका मन्डेकाजी श्रेष्ठलगायतका महानुभावहरुको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा पुम्से, हाइ स्पिड किक र पारा तेक्वान्दोमा प्रतिस्पर्धा भइरहेको प्रतियोगिता संयोजक समेत रहेका तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठले जनाएका छन् । हाइ स्पिड स्पर्धाको प्रतियोगिता नेपालमै पहिलो पटक आयोजना गरिएको संयोजक श्रेष्ठले जानकारी दिए । पुम्मेमा ६० र हाइ स्पिड किकमा ३० गरी ९० स्पर्धा समावेश छन् । प्रतियोगितामा विभिन्न ३१ राष्ट्रका १ हजार ३ सय १५ खेलाडीको सहभागिता रहेको प्रतियोगिता आयोजक समितिका सचिव अशोक खड्काले जानकारी दिए ।

प्रतियोगिताको उत्कृष्ट पुरुष÷महिला खेलाडीले समान १–१ सय अमेरिकी डलर नगद पुरस्कार पाउने छन् । मोस्ट पपुलर प्लेयर खेलाडीलाई १ सय ५० अमेरिकी डलरबाट पुरस्कृत गरिने छ । यो विधाको चयन युट्युबमा सर्वाधिक हेरिएको खेलाडीको भिडियोका आधारमा गरिने छ । ५ नेपाली र ७ विदेशी गरी १२ अन्तर्राष्ट्रिय निर्णायकले प्रतियोगिता सञ्चालन गरिरहेका छन् । उद्घाटनका अवसरमा पाँच नेपाली अन्तर्राष्ट्रिय निर्णायक नोर्बु लामा, अशोक खड्का, मिन न्यौपाने, हीराबहादुर थापा र विक्रम खड्गीलाई सम्मान गरिएको थियो ।

पहिलो दिन महिला पुम्सेको १८–३० वर्षमा नेपालकी पार्वती गुरुङले स्वर्ण जितिन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता पार्वतीले ६.८० अंक जोडिन् । इरानकी मार्याम दोश्रो तथा इरानकी सेयेदेह र मकाउकी ला हियो तोङ तेश्रो भए । सोही स्पर्धाको पुरुषमा इरानका हेसेयम अल्होई ७.६५ अंकसाथ पहिलो भए । मकाउका तोङ हाउ पान दोश्रो तथा मकाउकै लि झी पेङ र नेपालका १३ औं सागका कांस्य विजेता जितबहादुर बोट तेश्रो बने ।

महिला पुम्सेको ४० वर्षमुनि मकाउकी जुस्तिना लेइले शीर्ष स्थान कब्जा गरिन् । जुस्तिनाले ७.५० अंक जोडिन् । १३ औं सागकी दोहोरो स्वर्ण विजेता आयशा शाक्य ६.८५ अंकसाथ दोश्रो स्थानमा सीमित भइन् । इरानकी महबौबेह हसनी र नेपालकी रेखमाया गुरुङले तेश्रो स्थानमा चित्त बुझाए । महिला पुम्सेको ५० वर्षमुनि भेनेन्जुएलाकी जेनिफर गार्सिया पहिलो भइन् । जेनिफरले ६.९६ अंक प्राप्त गरिन् । इरानकी जेनियब नाजेर दोश्रो तथा नेपालकी विमला भण्डारी तेश्रो स्थानमा रहे ।

पुम्सेकै पुरुष ६० वर्षमुनि इरानका युसोफ (७.१३ अंक) तथा महिला ६० वर्षमुनि इरानकै सयेद जाहरा (६.३३ अंक) ले स्वर्ण जिते ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey