खेलकुद मन्त्री बिराजभक्तले गरे वाचा पूरा, पुरस्कार खेलाडीको खातामा

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-०१
  • |
  • 1158 पटक हेरिएको

काठमाडौं ।  प्रतियोगितामा सफलता हासिल गर्दा बधाई र शुभकामना दिन हतार हतार सामाजिक सञ्जालमा लेख्ने गरेको भए पनि सन् २०२२ देखि नै सफलता हासिल गरेका खेलाडीले पुरस्कार नपाउँदा खिन्नता व्यक्त गर्दै आएका थिए । तर, अहिलेको सरकारमा युवा तथा खेलकुद क्षेत्र बुझेको नेतृत्व सहभागी भए पछि पहिलो दिन देखि नै खेलाडीको पक्षमा आवाज उठाउँदै आएका मन्त्री विराजभक्त श्रेष्ठले आफ्नो वाचा १०० दिनभित्र पूरा गर्ने सङ्घारमा पुगेका छन् ।

पुरानो सत्ता गठबन्धन टुटेर नयाँ गठबन्धन बन्दा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सरकारमा सहभागी भएपछि बिराज भक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री भएका थिए । उनले सुरुमै भनेका थिए – ‘म युवा छु, युवाको भावना बुझेर केही सकारात्मक काम गर्नकै लागि यहाँ आएको छु ।’  

मन्त्री भएपछि हुने हरेक खेल सङ्घको स्वाग र बधाई कार्यक्रममा खेल क्षेत्रका साथै खेलाडीहरूको पुरस्कार रकम नपाएको गुनासो सुन्दै आएका उनले हरेक पटक आफूले काम गरिरहेको बताउने गरेका थिए ।

नेपाली क्रिकेट टिम वेस्ट इन्डिज र अमेरिकामा अहिले भइरहेको आइसिसी टी–२० विश्वकप क्रिकेट खेल्न जाँदा भएको बिदाइ समारोहमा पनि खेलाडीहरूले पुरस्कार चाँडै पाउने बताएका थिए । त्यसअघि उनलाई नेपाली टिमका कप्तान रोहित पौडेलले पुरस्कारको रकम नपाएको गुनासो नै गरेपछि भावुक बनेका मन्त्री श्रेष्ठले भनेका थिए ‘अब धेरै ढिला भइसक्यो, अब चाँडै निकासा हुन्छ ।’ खेलाडीलाई बिदाइ गर्न जाँदा खेलाडीहरूको पुरस्कार रकम मन्त्रिपरिषद्बाट अनुमोदन गराएर सोल्टी होटेल पुगेका मन्त्री श्रेष्ठ आत्मविश्वासी देखिएका थिए । 

फलस्वरुप, प्रक्रिया पूरा गरेर खेलाडीहरूको पुरस्कार रकम शुक्रवार युवा तथा खेलकुद मन्त्रालयको खातामा जम्मा भएकाले आइतबार औपचारिक कार्यक्रम आयोजना गरेर वितरण गरेको जानकारी गराइने छ । अहिले खेलाडीहरूको बैङ्क खातामा पुरस्कार रकम पठाउने काम भइरहेको र कार्यक्रम अघि सबै खेलाडीको खातामा रकम जम्मा हुने मन्त्रालयले जनाएको छ । 

जसमा सन् २०२२ मा भएको चौथो एसियाली पारा खेलकुद प्रतियोगितामा तेक्वान्दोमा स्वर्ण पदक जितेकी पलेसा गोवर्द्धनले १३ लाख रुपैयाँ पुरस्कार पाउने छिन् । यसैगरी प्रशिक्षक कविराज नेगीले २ लाख ६० हजार पुरस्कार पाउँदा व्यवस्थापक रामचन्द्र श्रेष्ठले १ लाख ३० हजार पाउने छन् । पारा खेलकुदतर्फ कुल पुरस्कार रकम १६ लाख ९० हजार रहेको मन्त्रालयले जनाएको छ । 

यसैगरी १९ औँ एसियाली खेलकुदमा रजत पदक विजेता महिला कबड्डी टिमका खेलाडी र अफिसियलको पनि पुरस्कार रकम निकासा भएको छ । महिला टिमका १२ जना खेलाडीले जनही ३ लाख ९० हजार रुपैयाँ पुरस्कार पाउँदा प्रशिक्षक पार्वती राईले २ लाख ६० हजार पाउने छिन् । यसैगरी सहायक प्रशिक्षक विष्णुदत्त भट्ट र व्यवस्थापक डिल्लीराम काफ्लेको जनही  १ लाख ३० हजार पुरस्कार रकम निकासा भएको छ ।

कबड्डीतर्फ १५ जनाले गरेर कुल ४८ लाख १० हजार रुपैयाँ पुरस्कार प्रदान हुने छ । 

१९ औँ एसियाली खेलकुदमा कराँतेबाट रजत पदक जितेकी एरिका गुरुङले १९ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छिन् । उनका प्रशिक्षक कुशल श्रेष्ठले २ लाख ३४ हजार पाउँदा व्यवस्थापक निवास गोपाल वैद्यले १ लाख ९५ हजार पुरस्कार पाउने छन् । यसैगरी छोरी डङ्गोल र वीर कृष्ण शाहीले भने ७८–७८ हजार रुपैयाँ पाउने छन् ।

सर्वाधिक चासोको विषय बनेको नेपाली क्रिकेट टिमका खेलाडीहरूको पनि पुरस्कार रकम निकासा भएर खेलाडीको खातामा जान सुरु भइसकेको छ । काठमाडौँमै भएको आइसिसी टी–२० विश्वकप क्रिकेट एसियन क्वालीफायरबाट अहिले भइरहेको विश्वकपमा छनोट भएका नेपाली खेलाडीहरूको पुरस्कार रकम निकासा भएको हो । सेमिफाइनलमा युएईलाई पराजित गर्दै विश्वकपमा छनोट हुनासाथ खेलाडीलाई सरकारले पुरस्कारको घोषणा गरेको थियो । तर, पुरस्कारको रकम निकासा नहुँदा खेलाडीहरूले निराशा व्यक्त गर्दै आएका थिए ।

उक्त प्रतियोगिताका लागि टिम स्वक्वाडमा रहेका १५ जना खेलाडीले जनही १३ लाख रुपैयाँ पाउने छन् । यसैगरी मुख्य प्रशिक्षक मोन्टी देशाइलाई ३ लाख ९० हजार पुरस्कार दिँदा टिम व्यवस्थापक सुमन राज कार्की, सहायक प्रशिक्षक वसन्त शाही र भिजियो विक्रम न्यौपानेले भने जनही १ लाख ९५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।  क्रिकेटतर्फ कुल २ करोड ४ लाख ७५ हजार रुपैयाँ पुरस्कार निकासा भएको छ ।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey