काठमाडौं । नेपाली पावरलिफ्टिङ खेलाडी मनोज श्रेष्ठलाई आगामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताका लागि शिवम् सिमेन्टले सहकार्य गर्ने भएको छ। पावरलिफ्टिङ क्षेत्रमा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएका श्रेष्ठलाई आगामी खेल यात्रामा सहयोग पुर्याउने उद्देश्यले कम्पनीले सहकार्य गर्न लागेको जनाएको छ।
सन् २०१७ देखि पावरलिफ्टिङ क्षेत्रमा सक्रिय श्रेष्ठले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदकसहित उल्लेखनीय सफलता हासिल गर्दै आएका छन्। उनले सन् २०२५ मा सम्पन्न अन्तर्राष्ट्रिय वर्ल्ड पावरलिफ्टिङ च्याम्पियनसिपमा स्वर्ण पदक जितेका थिए।
त्यस्तै, उनले एनवाईएफसी क्लासिक २०२४ र फर्स्ट भ्याली लेभल ओपन पावरलिफ्टिङ च्याम्पियनसिप २०२४ मा समेत स्वर्ण पदक प्राप्त गरेका छन्। श्रेष्ठले बेन्च प्रेसमा १८० केजी र पावरलिफ्टिङ टोटलमा ७८१ केजीको रेकर्ड कायम गरेका छन्। उनले दुबईमा राष्ट्रिय रेकर्डसमेत बनाएका छन्।
अन्डर ८३ केजीदेखि मेन्स १२० केजीसम्मका विभिन्न तौल समूहमा प्रतिस्पर्धा गर्दै आएका श्रेष्ठले नेपाली युथ फिटनेस एन्ड क्यालिस्थेनिक्स (एनवाईएफसी) द्वारा आयोजित प्रतियोगिताहरूमा पनि निरन्तर सफलता हासिल गर्दै आएका छन्।
श्रेष्ठको निरन्तर मेहनत, अनुशासन र खेलप्रतिको समर्पणको सम्मान गर्दै शिवम् सिमेन्टले उनको आगामी खेल यात्रालाई सहज र उत्कृष्ट बनाउन सहकार्य गर्न लागेको जनाएको छ। गुणस्तर र मजबुतीलाई आफ्नो पहिचान बनाउँदै आएको शिवम् सिमेन्टले श्रेष्ठको शक्ति, आत्मविश्वास र दृढतालाई आफ्नो ब्रान्डको मूल्यसँग जोडेको जनाएको छ।
शिवम् सिमेन्टले यसअघि पनि भलिबल, फुटबल, क्रिकेट, म्याराथनलगायत विभिन्न खेलकुद गतिविधिमा सक्रिय सहभागिता जनाउँदै नेपाली खेलकुद क्षेत्रको विकासमा योगदान पुर्याउँदै आएको छ। खेलकुदमार्फत युवामा ऊर्जा, अनुशासन र राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्ने उद्देश्यसहित कम्पनीले खेलाडी तथा खेलकुद क्षेत्रलाई सहयोग गर्दै आएको छ।