दशौं राष्ट्रिय खेलकुदमा पौडीतर्फ एनआरएनए दोस्रो स्थानमा

  • Image नेप्लेज
  • ११ मंसिर २०८३, शुक्रवार
  • 59 पटक हेरिएको
दशौं राष्ट्रिय खेलकुदमा पौडीतर्फ एनआरएनए दोस्रो स्थानमा

नेपालगन्जमा सम्पन्न दशौं राष्ट्रिय खेलकुद पौडी प्रतियोगिता तथा २३औं राष्ट्रिय पौडी च्याम्पियनसिपमा एनआरएन टिम समग्रमा दोस्रो भए पनि महिलातर्फ च्याम्पियन बन्दै बलियो उपस्थिति जनाउन सफल भएको छ ।

प्रतियोगितामा बागमति प्रदेश १६ स्वर्ण, ९ रजत र १० कास्यसहित कुल ३५ पदक जितेर समग्र च्याम्पियन बन्दा एनआरएनले १२ स्वर्ण, ४ रजत र ४ कास्यसहित कुल २० पदक हात पारेको हो ।

एनआरएनको सफलतामा लिली बोहरा र मिखा काया थापाको प्रदर्शन विशेष रह्यो । महिला २०० मिटर बटरफ्लाईमा एनआरएनकी लिलीले २ मिनेट ३३.२० सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जित्दै यसअघि डुअना लामाको नाममा रहेको २ मिनेट ३५.२९ सेकेन्डको कीर्तिमान भंग गरिन् । सोही स्पर्धामा आर्मीकी डुअनाले २ मिनेट ३९.९४ सेकेन्डसहित रजत र पुलिसकी देभान्सी जोशीले ३ मिनेट ०३.१३ सेकेन्डसहित कास्य पदक जिते ।

लिलीले महिला ४०० मिटर फ्रिस्टायलमा पनि ४ मिनेट ४३.११ सेकेन्डको समय निकाल्दै स्वर्ण पदक जित्न सफल भइन् । उक्त इभेन्टमा आर्मीकी डुअना लामाले ४ मिनेट ५२.६२ सेकेन्डसहित रजत जित्दा एनआरएनकै मिखा काया थापाले ५ मिनेट ०२.७६ सेकेन्डसहित कास्य पदक जोडिन् ।

यसका अतिरिक्त महिला १०० मिटर ब्रेस्ट स्ट्रोकमा एनआरएनकी लिलीले १ मिनेट २२.५५ सेकेन्डको समयसहित रजत पदक हात पारिन्, जहाँ आर्मीकी डुअना लामाले १ मिनेट १९.९२ सेकेन्डसहित स्वर्ण र बागमतीकी रोयल प्रजापतिले १ मिनेट २४.१८ सेकेन्डसहित कास्य जिते ।

महिला ५० मिटर फ्रिस्टायलतर्फ भने एनआरएनकी मिखा काया थापाले २९.१५ सेकेन्डको समयसहित स्वर्ण पदक जित्दै टिमको स्वर्ण संख्या अझ उकासिन् । सो स्पर्धामा बागमतीकी आर्या महर्जनले २९.४९ सेकेन्डसहित रजत र बागमतीकै रोयल प्रजापतिले ३०.०९ सेकेन्डसहित कास्य पदक जिते । 

Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment