दशौं राष्ट्रिय खेलकुद : महिला क्रिकेटतर्फ आर्मी सेमिफाइनल प्रवेश, कर्णाली बाहिरियो

  • Image नेप्लेज
  • ११ मंसिर २०८३, शुक्रवार
  • 56 पटक हेरिएको
दशौं राष्ट्रिय खेलकुद : महिला क्रिकेटतर्फ आर्मी सेमिफाइनल प्रवेश, कर्णाली बाहिरियो

सुर्खेत । विभागीय टोली त्रिभुवन आर्मी क्लब दशौं राष्ट्रिय खेलकुद प्रतियोगीताको महिला क्रिकेटतर्फ सहआयोजक कर्णाली प्रदेशलाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ ।

कर्णाली आफ्नो दोस्रो हारसँगै प्रतियोगीताबाट बाहिरिएको छ । कर्णाली यसअघि कोशी प्रदेशसँग पराजित भएको थियो ।

शुक्रबार वीरेन्द्रनगर रंगशालामा भएको प्रतियोगीतामा टस जितेर ब्याटिङ गरेको आर्मीले निर्धारित ओभरमा चार विकेट गुमाउँदै १३८ रन बनायो । महिला राष्ट्रिय टीमकी सदस्य आर्मीकी सम्झना खड्काले ५८ बल खेल्दै सर्वाधिक ६२ रन बनाइन् । उनले १० चौका प्रहार गरिन् ।

यस्तै यशोदा विष्टले ३३ रन बनाउँदा कविता कुँवर ६ बलमा ११ रन बनाउँदै नटआउट रहिन् । आर्मीकी विन्दु रावलले सात तथा रुवि पोदारले पाँच रन थपिन् । आर्मीले २० रन अतिरिक्त पाएको थियो ।

कर्णालीका बलर गंगा खड्का, रमा बुढाथोकी र सोना चन्द र किरणकुमारी कुँवरले एक–एक विकेट दिए । १३९ रनको लक्ष्य पछ्याएको कर्णाली ४१ रनमै अलआउट भयो । अन्तिमतरि ब्याटिङ गर्न आएकी कर्णालीकी जयन्ती चन्दले १० रन बनाउनुबाहेक अरुले दोहोरो अंक छुन सकेनन् । कप्तान करुणा कुमारी कुँवर ८ रन बनाएर आउट हुँदा शिखा दवाडीले ६ रन बनाइन् । यस्तै रेखा सोनीले पाँच, रविना बुढामगरले तीन तथा उमा चौधरी, श्रुती बुढा र अञ्जु गुरुङले एक–एक रन बनाइन् । कर्णालीलाई सस्तैमा समेट्ने क्रममा आर्मीकी मनिषा उपाध्यायले चार विकेट लिइन् । चार ओभर बलिङ गरेकी मनिषाले जम्मा १० रन मात्रै दिइन् ।

यस्तै यमुना थारुले चार ओभर बलिङ गर्दै एक मेर्डन राखेर तीन विकेट लिइन् भने कविता कुँवरले तीन ओभर बलिङ गर्दै दुई विकेट लिइन् । लक्ष्मी साउँदको नाममा एक विकेट रह्यो । आर्मीका लागि सर्वाधिक ६२ रन बनाएकी सम्झना प्लेयर अफ द म्याच घोषित भइन् ।

Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment