१० औँ राष्ट्रिय खेलकुद : कर्णालीमाथि गण्डकीको सहज जित

  • Image नेप्लेज
  • १० मंसिर २०८३, बिहिवार
  • 95 पटक हेरिएको
१० औँ राष्ट्रिय खेलकुद :  कर्णालीमाथि गण्डकीको सहज जित

१० औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सह–आयोजक कर्णाली प्रदेश पुरुष फुटबलको लिग चरणबाटै बाहिरिएको छ । बिहीबार प्रतियोगिताको तेस्रोदिनको पहिलो खेलमा गण्डकी प्रदेशसँग ५–० गोल अन्तरले पराजित भएपछि कर्णालीको यात्रा लिग चरणमै समाप्त भएको हो ।

आजको खेलमा जित निकाल्नैपर्ने दबाबमा रहेको कर्णाली प्रतियोगिताबाट बाहिरिने पहिलो टोलीसमेत बनेको छ । यसअघि मंगलबार भएकोउद्घाटन खेलमा कर्णाली नेपाल पुलिस क्लबसँग ३–० गोल अन्तरले पराजित भएको थियो ।

गण्डकीले खेलको सुरुवातदेखि नै कर्णालीमाथि दबाब बनाएको थियो । खेलको १६ औँ मिनेटमा लछु थापाले गोल गर्दै गण्डकीलाई अग्रता दिलाए ।त्यसपछि आशिष गुरुङले खेलको २५ औँ र ३३ औँ मिनेटमा लगातार दुई गोल थप्दै गण्डकीको अग्रता ३–० मा पुर्‍याए ।

दोस्रो हाफमा पनि गण्डकीले आफ्नो आक्रामक खेललाई निरन्तरता दियो । खेलको ५७ औँ मिनेटमा सुदीप गुरुङले गोल गर्दै अग्रता ४–० बनाए ।खेलको अतिरिक्त समयमा टेकराज गुरुङले थप एक गोल गरेपछि गण्डकी ५–० को फराकिलो जित निकाल्न सफल भयो ।

म्याच कमिसनर वीरेन्द्र पाण्डेका अनुसार खेलमा गण्डकीका रन्दीप पौडेल र यामबहादुर श्रेष्ठ तथा कर्णालीका दिलविजय शाहीले पहेँलो कार्ड पाएकाथिए ।

प्रतियोगिताअन्तर्गत बिहीबार दिउँसो २ः३० बजे हुने अर्को खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब र मधेस प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment