दशौँ राष्ट्रिय खेलकुद: कुन जिल्लामा कुन-कुन खेल हुँदैछन्

  • Image नेप्लेज
  • ४ मंसिर २०८३, शुक्रवार
  • 49 पटक हेरिएको
दशौँ राष्ट्रिय खेलकुद: कुन जिल्लामा कुन-कुन खेल हुँदैछन्

काठमाडौं । कर्णाली प्रदेशमा आयोजना हुन गइरहेको दशौँ राष्ट्रिय खेलकुद-२०८३ अन्तर्गतका खेलहरू कर्णालीका ५ र लुम्बिनी प्रदेशका २ गरी कुल ७ स्थानमा सञ्चालन हुने भएका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सार्वजनिक गरेको खेल तालिकाअनुसार कुल ३२ खेलमध्ये अधिकांश अर्थात् २३ वटा खेल सुर्खेतमै केन्द्रित हुनेछन् ।

राखेपका अनुसार बाँकी ९ खेलमध्ये कर्णाली प्रदेशका सल्यान, दैलेख, कालीकोट र पश्चिम रुकुम तथा छिमेकी लुम्बिनी प्रदेशको नेपालगञ्ज र बर्दियामा हुने भएको छ ।

कुन जिल्लामा कुन र कति खेल ?

सुर्खेत (२३ खेल) : प्रतियोगिताको मुख्य केन्द्र सुर्खेतमा एथलेटिक्स, फुटबल, क्रिकेट, हक्की, भलिबल, कबड्डी, कराते, ब्याडमिन्टन, फुलकन्ट्याक्ट कराते, टेबलटेनिस, उसु, तेक्वान्दो, जिम्न्यास्टिक, बक्सिङ, ह्याण्डबल, स्क्वास, बास्केटबल, आर्चरी, भारोत्तोलन, रग्वी, साइक्लिङ, इ–स्पोर्टस् र सेपाकताक्रो गरी २३ खेल सञ्चालन हुनेछन्। सुर्खेतको मुख्य रंगशाला, कभर्डहल, सेनाको खेल मैदान, काँक्रेबिहार र छिन्चु लगायतका स्थानमा यी खेल खेलाइनेछ ।

नेपालगञ्ज (२ खेल) : पूर्वाधारको उपलब्धतालाई ध्यान दिँदै बाँकेको नेपालगञ्जमा पौडी र सुटिङका प्रतिस्पर्धा सञ्चालन गरिनेछ।

बर्दिया (२ खेल) : बर्दियामा टेनिस र खो–खो (मुरीघाट) का खेलहरू आयोजना हुनेछन् ।

सल्यान (२ खेल) : सल्यानको श्रीनगर कभर्डहलमा कुस्ती र जुडोका खेलहरू सञ्चालन हुने तालिका छ ।

दैलेख (१ खेल) : दैलेखको नारायण कभर्डहलमा आई.टि.एफ. तेक्वान्दोको प्रतिस्पर्धा हुनेछ ।

कालीकोट (१ खेल) : कालीकोट कभर्डहलमा बुद्धिचाल (चेस) खेल आयोजना गरिनेछ ।

पश्चिम रुकुम (१ खेल) : पश्चिम रुकुमको चौरजहारीमा शारीरिक सुगठन (बडीबिल्डिङ) को प्रतिस्पर्धा हुनेछ।

यद्यपि, राखेपले प्राविधिक कारणवश आवश्यक परेमा खेलस्थल परिवर्तन हुन सक्ने स्पष्ट पारेको छ ।

उद्घाटनअघि नै १० खेल सुरु हुने आगामी मंसिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा प्रतियोगिताको औपचारिक उद्घाटन र मंसिर २७ गते समापन हुने तय भएको छ ।

यद्यपि, उद्घाटनको आठ दिनअघि अर्थात् मंसिर ८ गतेदेखि नै भलिबल, फुटबल, क्रिकेट, हक्की, सुटिङ, पौडी र टेनिस लगायतका १० खेल सुरु भइसक्नेछन् । सात प्रदेश, तीन विभागीय टोली र एनआरएनए गरी ११ टिम सहभागी हुने यस प्रतियोगितामा ३८४ इभेन्ट्समा कुल १ हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

यस संस्करणदेखि रजत र कास्य पदक विजेतालाई समेत पहिलोपटक नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment