काठमाडौं । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको प्लेअफमा पुगेको छ ।
बिहीबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराउँदै डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्सले प्लेअफमा स्थान पक्का गरेको हो ।
प्लेअफमा स्थान पक्का गरेको लुम्बिनी लायन्स एनपीएलको अंकतालिकाको शीर्ष स्थानमा पनि उक्लिएको छ ।
कर्णाली याक्सले दिएको १०६ रनको लक्ष्य लुम्बिनी लायन्सले १६ .४ ओभरमा ६ विकेटको क्षतिमा पूरा गरेको हो ।
लुम्बिनी लायन्सका लागि ओपनर डार्सी सटले सर्वाधिक ४६ रनको योगदान दिए । ३४ बल खेलेका डार्सीले ६ चौका र १ छक्का प्रहार गरे । निरोसन डिकवालाले १६ रन जोडे । १३ बल खेलेका डिकवालाले २ चौका प्रहार गरे । दिलिप नाथ २८ र रुबेन ट्रम्पलम्यान २ रनमा अविजित रहे । २७ बल खेलेका दिलिपले ४ चौका प्रहार गरे । समिम होसैनले ५ रन जोडे । होसैनले ५ बलमा १ चौका प्रहार गरे । डिकवालाअघि सन्दीप जोरा ४, कप्तान रोहितकुमार पौडेल र ओपनर आसिफ शेख समान १-१ रन जोडेर पभिलियन फर्किएका थिए ।
कर्णाली याक्सका लागि मार्क वाटले ४ विकेट लिए । यस्तै, पवन सराफ र हुसैन तलातले समान १-१ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको कर्णाली याक्सले १९.२ ओभरमा अलआउट हुँदै १०५ रनको योगफल तयार पारेको थियो । कर्णाली याक्सका लागि सोमपाल कामीले सर्वाधिक २८ रन जोडे । १८ बल खेलेका कामीले ४ चौका र १ छक्का प्रहार गरे । हुसैन तलातले २४ र गुल्सन झाले १३ रनको योगदान दिए । २२ बल खेलेका तलातले २ चक्का र १ छक्का प्रहार गरे । १४ बल खेलेका गुल्सनले २ चौका प्रहार गरे । पवन सराफले १२ रनको योगदान दिए । २४ बल खेलेका सराफले १ चौका प्रहार गरे । कप्तान डेभिड मिलर ५, अरिफूल इस्लाम तथा दीपक डुम्रे समान ४-४ रन जोडेर पभिलियन फर्किए । ७ बल खेलेका मिलरले १ चौका प्रहार गरेका थिए । ओपनर दीपेन्द्र रावत भने शून्य रनमै पभिलियन फर्किएका थिए । लुम्बिनी लायन्सका लागि कप्तान रोहितकुमार पौडेल, किशोर महतो, अभिषेश गौतम, र डार्सी सटले समान २-२ तथा रुबन ट्रम्पलम्यान र शेर मल्लले समान १-१ विकेट लिए ।
जितसँगै एनपीएलको तेस्रो संस्करणको प्लेअफमा स्थान पक्का गरेको लुम्बिनी लायन्स ६ खेलबाट ९ अंकका साथ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
हारसँगै कर्णाली याक्सको प्लेअफ पुग्ने सम्भावना भने झिनो मात्रै बाँकी छ । कर्णाली याक्स ६ खेलबाट ४ अंकका साथ तालिकाको सातौँ स्थानमा छ ।