यु–१९ एसिया कप क्रिकेटः नेपाल पाकिस्तानसँग पराजित

  • Image नेप्लेज
  • २४ कार्तिक २०८३, मङ्गलवार
  • 70 पटक हेरिएको
यु–१९ एसिया कप क्रिकेटः नेपाल पाकिस्तानसँग पराजित

ओमानमा जारी यु–१९ एसिया कप  क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानसँग पराजित भएको छ ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा नेपाल पाकिस्तानसँग १०१ रनले पराजित भएको हो । पाकिस्तानले दिएको २७६ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ४३ दशमलव ४ ओभरमा सबै विकेट गुमाउदै १७४ रनमा समेटियो ।

नेपालका लागि रोहित चन्दले सर्वाधिक ३७ रन बनाए । उनले ५४ बलमा ३ चौका प्रहार गरे । निरजकुमार यादवले ५९ बलमा २९ रन बनाए भने अभय यादवले १६ बलमा २३ रन जोडे । सूर्यांशु कोइरालाले २२ र दर्श सोनारले २० रन बनाए । यस्तै सोहेल कुँवरले १४, रोशन शाहीले ७ तथा आशिष लुहारले ६ रन बनाए । कप्तान विपिन शर्मा एक रनमा अविजित रहे ।

बलिङतर्फ पाकिस्तानका अहमद हुसेनले १० ओभरमा ३५ रन खर्चेर ४ विकेट लिए । त्यस्तै मोहम्मद हुजैफा र मोहम्मद सय्यमले दुई दुई विकेट तथा जहांगिर बिलाल र रिजवानुल्लाहले समान एक एक विकेट लिए ।

 त्यसअघि  टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले  निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २७५ रनको योगफल बनाएको थियो । पाकिस्तानका लागि अहमद हुसेनले उत्कृष्ट ब्याटिङ गर्दै ७३ बलमा सर्वाधिक ८९ रनको योगफल बनाए । उनले ७ चौका र २ छक्का प्रहार गरे । यस्तै कप्तान फरहान युसुफले ९५ बलमा ७४ रनको योगदान दिए । उनले ६ चौका र ३ छक्का प्रहार गरे । हसनैन अब्बास दारले २५, जहाँगीर बिलालले २२ तथा उस्मान खानले १९ रन बनाए ।

बलिङतर्फ नेपालका लागि विपिन शर्माले १० ओभरमा ५८ रन खर्चेर ३ विकेट लिए । त्यस्तै सुशिल रावलले दुई तथा सचिन भट्ट र अभय यादवले समान एक एक विकेट लिए । पाकिस्तानसँगको हारसँगै नेपाल एसिया कपबाट बाहिरिएको छ । नेपाल यसअघि भारतसँग १० विकेटले तथा यूएईसँग ७ विकेटले पराजित भएको थियो ।