म्यानचेस्टर युनाइटेडले प्रशिक्षक क्यारिकलाई प्रदर्शन सुधार्ने अवसर दिने

  • Image नेप्लेज
  • ११ कार्तिक २०८३, बुधवार
  • 70 पटक हेरिएको
म्यानचेस्टर युनाइटेडले प्रशिक्षक क्यारिकलाई प्रदर्शन सुधार्ने अवसर दिने

काठमाडौं । म्यानचेस्टर युनाइटेडका प्रशिक्षक माइकल क्यारिकले यसै साता चेल्सीविरुद्ध हुने खेलमा पनि टोलीको जिम्मेवारी सम्हाल्ने भएका छन् ।

खराब नतिजाका कारण उनको भविष्यबारे प्रश्न उठे पनि क्लब व्यवस्थापनले उनलाई टोलीको प्रदर्शन सुधार्ने अवसर दिने भएको हो । बर्नमाउथसँग घरेलु मैदानमा ३–० ले पराजित भएपछि युनाइटेडको लगातार आठ खेलमा जितविहीन यात्रा लम्बिएको थियो । जारी सिजन प्रिमियर लिगका आठ खेलमा टोलीले एक खेल मात्रै जितेको छ र रेलिगेसन क्षेत्रभन्दा एक स्थान माथि रहेको छ।

क्यारिकले गत जनवरीमा रुबेन आमोरिमको बिदाइपछि अन्तरिम प्रशिक्षकको जिम्मेवारी पाएका थिए। च्याम्पियन्स लिगमा छनोट गराउँदै टोलीलाई तेस्रो स्थानमा पुर्‍याएपछि उनलाई मे महिनामा स्थायी प्रशिक्षक बनाइएको थियो । युनाइटेडले क्यारिकको विकल्पका रूपमा न्युक्यासलका पूर्वप्रशिक्षक एडी हाउ र जर्मनीका पूर्वप्रशिक्षक जुलियन नागेल्समनबारे पनि छलफल गरेको बताइएको छ ।

एस्टन भिल्लाका प्रशिक्षक उनाइ एमरीप्रति पनि क्लबको चासो रहेको जनाइएको छ । युनाइटेडले शनिबार स्टामफोर्ड ब्रिजमा चेल्सीको सामना गर्नेछ । क्यारिकका लागि उक्त खेल टोलीको खस्किएको प्रदर्शन सुधार्ने महत्त्वपूर्ण अवसर हुनेछ ।