स्विट्जरल्यान्डले इन्फान्टिनोलाई दिएको समर्थन फिर्ता लियो

  • Image नेप्लेज
  • १५ आश्विन २०८३, बिहिवार
  • 75 पटक हेरिएको
स्विट्जरल्यान्डले इन्फान्टिनोलाई दिएको समर्थन फिर्ता लियो

स्विस फुटबल संघ (एसएफभी) ले फिफा अध्यक्ष जियानी इन्फान्टिनोको आगामी फिफा अध्यक्ष निर्वाचनमा पुनः उम्मेदवारीलाई दिएको समर्थन फिर्ता लिएको छ।

एसएफभीको कार्यसमितिले गत शुक्रबार बसेको बैठकबाट जुन २०२६ मा इन्फान्टिनोको उम्मेदवारीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। स्विस फुटबल संघका अध्यक्ष पिटर नाबेलले फिफाको नेतृत्वले पारदर्शिता, जवाफदेहिता र संस्थागत जिम्मेवारीका उच्च मापदण्ड कायम गर्नुपर्ने बताए।

उनले फिफाका पछिल्ला निर्णयको पृष्ठभूमि, जिम्मेवारी र निर्णय प्रक्रियासम्बन्धी महत्वपूर्ण प्रश्न अझै स्पष्ट नभएको बताए। ‘यी विषय विश्वसनीय रूपमा स्पष्ट नभएकाले जियानी इन्फान्टिनोको उम्मेदवारीलाई निरन्तर समर्थन गर्न सकिँदैन,’ नाबेलले भने। इन्फान्टिनोले फिफाका प्रतियोगितासँग सम्बन्धित व्यावसायिक संरचनामा निजी लगानीकर्तालाई हिस्सेदारी दिने योजना अघि सारेपछि गत जुलाईमा विवाद चर्किएको थियो। उक्त योजनाअन्तर्गत फिफा फर्वार्ड इन्टरप्राइजेज (एफएफई) अन्तर्गत स्थापना गरिएको कम्पनीमा निजी लगानीकर्तालाई हिस्सेदारी बिक्री गर्ने प्रस्ताव गरिएको थियो।

विश्वकप र क्लब विश्वकपलगायत फिफाका प्रमुख प्रतियोगितासँग सम्बन्धित अधिकारमा निजी लगानी भित्र्याउने प्रस्तावको व्यापक विरोध भएपछि योजना तत्कालका लागि स्थगित गरिएको थियो। यस घटनापछि विभिन्न युरोपेली राष्ट्रिय फुटबल संघले इन्फान्टिनोको पुनः उम्मेदवारीप्रतिको समर्थन फिर्ता लिएका छन्।

स्विस फुटबल संघको निर्णयलाई भने विशेष रूपमा महत्त्वपूर्ण मानिएको छ, किनकि इन्फान्टिनो स्विट्जरल्यान्डका नागरिक हुन् र फिफा तथा युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएको मुख्यालय पनि स्विट्जरल्यान्डमै छन्। इन्फान्टिनो सन् २०१६ देखि फिफा अध्यक्ष छन्। उनी आगामी वर्ष हुने फिफा अध्यक्ष निर्वाचनमा थप एक कार्यकालका लागि उम्मेदवार छन्।