ब्रेन्टफोर्डसँग चेल्सी स्तब्ध

  • Image नेप्लेज
  • ३ आश्विन २०८३, शनिवार
  • 77 पटक हेरिएको
ब्रेन्टफोर्डसँग चेल्सी स्तब्ध

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा ब्रेन्टफोर्डले चेल्सीलाई ३-० गोल अन्तरले पराजित गरेको छ । गएराति भएको खेलमा ब्रेन्टफोर्डले दोस्रो हाफमा तीन गोल गर्दै चेल्सीमाथि प्रभावशाली जित निकालेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । चेल्सीले सुरुआतमा केही राम्रो अवसर बनाए पनि ब्रेन्टफोर्डका गोलरक्षक कोभिन केलेहरले पेड्रो नेटोको प्रहार उत्कृष्ट बचाउ गरेका थिए ।

खेलको ६१औँ मिनेटमा ब्रेन्टफोर्डले अग्रता लियो । मिकेल डाम्सगार्डको कर्नरमा जानिक सुश्टरले बललाई गोलतर्फ फर्काएपछि जाइडन एन्थोनीले नजिकबाट हेडमार्फत गोल गरेका थिए । चेल्सीले बराबरीका लागि दबाब बढाए पनि स्पष्ट अवसर सिर्जना गर्न सकेन ।

उल्टै ८३औँ मिनेटमा ब्रेन्टफोर्डले अग्रता दोब्बर बनायो । केभिन शाडेको प्रहार चेल्सीका गोलरक्षक एमिलियानो मार्टिनेजले रोके पनि रिबाउन्डमा इगोर थियागोले गोल गर्दै खेल २–० बनाए ।

इन्जुरी समयको चौथो मिनेटमा फाबियो कार्भाल्होले तेस्रो गोल थपे । शाडेको क्रसमा कार्भाल्होले गोल गर्दै ब्रेन्टफोर्डको जित पक्का गरे । यस हारसँगै चेल्सीले प्रिमियर लिगमा लगातार तीन खेलमा जित निकाल्न सकेको छैन । पाँच खेलबाट चेल्सीको७ अंक छ ।

ब्रेन्टफोर्ड भने यस सिजन लिगमा अपराजित रहँदै ९ अंकसहित तालिकाको तेस्रो स्थानमा पुगेको छ । ब्रेन्टफोर्डले चेल्सीविरुद्ध आफ्नो घरेलु मैदानमा सन् १९३८ पछि पहिलोपटक जित हात पारेको हो ।