एकदिवसीय विश्वकपको ढाँचा अचानक फेरिएकोमा स्कटल्याण्ड र नेदरल्यान्ड्सको संयुक्त विरोध

  • Image नेप्लेज
  • २५ श्रावण २०८३, सोमवार
  • 1176 पटक हेरिएको
एकदिवसीय विश्वकपको ढाँचा अचानक फेरिएकोमा स्कटल्याण्ड र नेदरल्यान्ड्सको संयुक्त विरोध

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले पुरुष एकदिवसीय (५० ओभर) विश्वकपको छनोट प्रक्रिया र प्रतियोगिताको संरचनामा अचानक परिवर्तन गरेकोप्रति स्कटल्याण्ड र नेदरल्याण्ड्सका क्रिकेट बोर्डले कडा असन्तुष्टि व्यक्त गरेका छन् ।

सोमबार एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै दुवै क्रिकेट बोर्डले आईसीसीको निर्णयको विरोध गरेका हुन् ।

विज्ञप्तिमा यो कदमले एसोसिएट राष्ट्रहरूको क्रिकेट विकासमा गम्भीर धक्का पुग्ने र खेललाई विश्वव्यापी बनाउने अभियानलाई कमजोर बनाउने चेतावनी दिइएको छ ।

विश्वकप सुरु हुन १८ महिनाभन्दा पनि कम समय बाँकी रहँदा आईसीसीले महत्वपूर्ण संरचनात्मक परिवर्तन गरेको हो । यति छोटो समयमा गरिएको परिवर्तनले सदस्य राष्ट्रहरूलाई तयारी र योजना बदल्न निकै कठिन हुने विज्ञप्तिमा उल्लेख छ ।

एसोसिएट सदस्यहरूसँग कुनै पनि अर्थपूर्ण छलफल वा परामर्श नगरी यस्तो ठूलो निर्णय लिइएकोमा दुवै बोर्डले आपत्ति जनाएका छन् । निर्णय प्रक्रिया पारदर्शी नभएको र यसले अन्तर्राष्ट्रिय क्रिकेटको साखमा आँच पुर्‍याउने उनीहरूको तर्क छ ।

एसोसिएट राष्ट्रहरूले सीमित स्रोत र साधनका बावजुद विश्वकपलाई लक्षित गरी ठूलो लगानी र दीर्घकालीन योजना बनाएका हुन्छन् । अचानक हुने परिवर्तनले उनीहरूको व्यावसायिक साझेदार, खेलाडी र सरकारी सहयोगमा समेत नकारात्मक असर पर्ने बताइएको छ ।

क्रिकेट स्कटल्याण्ड र नेदरल्याण्ड्स लगायतका एसोसिएट सदस्यहरूले यस विषयमा स्पष्टता खोज्दै आईसीसीसँग दुई पटक बैठक गरेका थिए । तर, पछिल्लो दुई हप्तादेखि आईसीसीले कुनै ठोस जवाफ नदिएको उनीहरूको गुनासो छ ।