हरमितले जनकपुर बोल्ट्सको कप्तानी गर्ने

  • Image नेप्लेज
  • २३ श्रावण २०८३, शनिवार
  • 995 पटक हेरिएको
हरमितले जनकपुर बोल्ट्सको कप्तानी गर्ने

काठमाडौं । अमेरिकी अलराउन्डर हरमित सिंहले जनकपुर बोल्ट्सबाट आउँदो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट खेल्ने भएका छन् ।

जनकपुर बोल्ट्सले शनिबार आफ्नो समाजिक प्लेटफर्मबाट हरमितलाई अनुबन्धन गरेको घोषणा गरेको छ ।

बोल्ट्सले एसोसिएट क्रिकेटका प्रभावशाली खेलाडी हरमितलाई कप्तानीको जिम्मेवारी पनि दिएको छ ।

देव्रेहाते स्पिन अलराउन्डर हरमितले पहिलो दुई सिजन सुदुरपश्चिम रोयल्सलाई उपविजेता बनाउन ठुलो भूमिका खेलेका थिए ।

पहिलो सिजनको च्याम्पियन बोल्ट्स हरमितलाई भित्राउन पाउँदा निकै उत्साहित रहेको छ ।

अनिल साहको कप्तानीमा बोल्ट्सले पहिलो सिजनको उपाधि जितेको थियो । दोस्रो सिजनमा अनिलसँगैं दक्षिण अफ्रिकाका वायन पार्नेल र नामिबियाका जान निकोल लफ्टी इटनले जनकपुरको कप्तानी गरेका थिए ।

हरमितले पहिलो सिजनमा ८ विकेट लिनुका साथै ५ खेलमा २८ रन बनाएका थिए । दोस्रो सिजनमा उनले १६६ माथिको स्ट्राइक रेटमा ९ खेलमा १ सय ३३ रन बनाएका थिए भने ६.१८ को इकोनोमीमा १२ विकेट लिएका थिए ।

हरमितले अमेरिकाबाट २९ वानडे अन्तर्राष्ट्रिय खेलमा ३९ विकेट र २९ टी–२० अन्तर्राष्ट्रियमा ३१ विकेट लिएका छन् । ‘हरेक सफल टोलीको आधार केवल उत्कृष्ट खेलाडीमात्र होइन, सशक्त नेतृत्व पनि हो ।

नयाँ सिजनसँगैं जनकपुर बोल्ट्सले नयाँ उर्जा, नयाँ सोच र नयाँ संकल्पका साथ अगाडि बढ्ने तयारी गरिरहेको छ । यही यात्राको नेतृत्व गर्ने जिम्मेवारी हामीले हरमित सिंहलाई सुम्पिएका छौं । हरमितले आफ्नो उत्कृष्ट अलराउन्ड प्रदर्शनसँगैं मैदान भित्र र बाहिर देखाएको अनुशासन, परिपक्वता र टोली प्रतिको प्रतिबद्धताले उनलाई यो भूमिकाका लागि स्वभाविक छनोट बनाएको हो । उनी जनकपुर बोल्ट्सले आत्मसात गरेको संघर्ष, एकता र कहिल्यै हार नमान्ने भावनाको सशक्त प्रतिनिधित्व गर्छन ।’ जनकपुर बोल्ट्सका प्रमुख कार्यकारी अधिकृत निरोज खतिवडाले भनेका छन्।