समयमा कार्यविधी पास नहुँदा तीन महिना देखि खेलाडीले मासिक भत्ता पाएनन्, दाेशी काे ?

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०७-०४
  • |
  • 304 पटक हेरिएको

नेपाल सरकारले दक्षिण एशियाली खेलकुद साग, एशियाली खेलकुद र ओलम्पियनलाई प्रोत्साहन स्वरुप मासिक भत्ता दिने निर्णय गरेको धेरै भइसक्यो । त्यसमा पछिल्लो पटक सरकारले सबैको प्रोत्साहन भत्ता नियमित गर्ने भनेको थियो । तर पछिल्लो पटक पहिलो ओलम्पियन, एशियाडका पदक विजेता र सागका स्वर्ण विजेता खेलाडीले तीन महिना देखि भत्ता पाउन सकेका छैन । दशैको मुखमा सरकारबाट आउने नियमित भत्ता नपाएको भन्दै खेलाडीले सामाजिक सञ्जालमा आक्रोष पोख्न थालेका छन ।

सोमबार १३ औं दक्षिण एशियाली खेलकुद सागका दोहोरो स्वर्ण विजेता खेलाडी मण्डेकाजी श्रेण्ठले आफ्नो सामाजिक सञ्जालमा आक्रोषमा आएर एउटा भनाई राखे । उनले खेले, सागमा स्वर्ण पदक विजेता खेलाडीलाई आजीवन भत्ता दिने सरकारको निर्णय कहाँ पुग्यो, दशै आइसक्यो, अत्तोपत्तो छैन त, नेता र मन्त्रीहरुको आउने हाम्रो उधारो हो सरकार भनेर प्रश्न गरे । उनले भत्ता ब्यवस्था गरि खुवाउने निकाय खेलकुद् मन्त्रालय र राखेप कहाँ छ भनेर प्रश्न गरे ।

सोमबारमात्र राखेपका नयाँ नियुक्त भएका सदस्यको सपथ कार्यक्रम अगाडी मण्डेकाजीले बारम्बार सदस्य सचिव रमेश सिलवालसँग भत्ताको विषयमा बुझ्दै थिए । उनले तीन महिना भइसक्यो के भयो सर भक्ताको भनेर बुझिरहेका थिए । त्यसमा सिलवालले हुन्छ, हुन्छ भनेर भनिरहेका थिए । त्यसको केहि घण्टापछि उनले आफ्नो भनाई फेसबुकमा राखे ।

सरकारले पहिलो अन्तराष्ट्रिय पदक विजेता, र पहिलो ओलम्पियनलाई आजीवन मासिक १० हजार रुपैयाँ, एशियाडको पदक विजेतालाई चार हजार दिने भनेकोमा पछिल्लो पटक बढाएर ६ हजार पुर्याएको थियो । यस्तै सागको स्वर्ण पदक विजेतालाई पनि ६ हजार दिने भनेको थियो ।
तर नयाँ आर्थिक बर्ष सुरु भएदेखि नै कसैले पनि सो भत्ता पाएका छैनन् । त्यसैले पनि खेलाडी तीन तीन महिनासम्म पाउने भत्ता नपाएको भन्दै आक्रोष पोखिरहेका छन ।

नयाँ आर्थिक बर्ष लागेपछि खेलाडीको भत्ताका विषयमा युवा तथा खेलकुद मन्त्रालयले कार्यविधी बनाएर पठाउन भनेर राष्ट्रिय खेलकुद परिषद्लाई पत्राचार गरेको थियो । त्यो कार्यविधी बनाएर भदौ महिनामा नै परिषद्ले मन्त्रालयलाई पठाएको थियो । तर एक महिनाको समय सकिदापनि त्यो कार्यविधीलाई कार्यान्वयनमा ल्याउन सकेको छैन ।

यसमा परिषद्का सदस्यसचिव सिलवालले कार्यविधी पास भएपछि सबैको भत्ता पुरा हुने बताए । मन्त्रालयले पास गर्नुपर्ने कार्यविधि अहिले अड्किएको र यहि विचमा कोरोनाले काम रोकिएको त्यसमा पनि खेलकुद सचिव सरुवा भएका कारण पनि ढिलो भएको सिलवालको भनाई छ ।
खेलकुद मन्त्रालयमा सचिव रामप्रसाद थपलिया सरुवा हुने कुराले पनि अन्योल पार्यो । यो विचमा उनको स्थानमा नयाँ सचिव मन्त्रालयमा आउने निर्णय भएको थियो । तर फेरी उनी नै सचिव भएको आएको बताइएको छ ।

सरकारले खेलाडीको भत्ता महिनैपिच्छे दिदै आएपनि नयाँ कार्यविधी समयमा किन पास भएन भन्ने एउटा प्रश्न हो भने, त्यसलाई कार्यान्वयन गर्न अझै कति समय कुर्नुपर्ने हो त्यो अर्को प्रश्न रहेको छ ।

यसमा मन्त्रालयले भने आधिकारीक धारणा दिन चाहेन । खेलाडीले जुन आशा गरेका थिए, त्यसमा ठेस पुग्नु पक्कैपनि राम्रो पक्ष भने होइन ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey