प्रतियोगिता, नतिजा र नीतिमा सफल वर्ष-२०७६

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-१२-३०
  • |
  • 424 पटक हेरिएको

गएकाे १ वर्ष नेपाली खेलकुदका लागि स्वर्णीम समय रह्याे । प्रतियाेगिता, नतिजा र नीतिका हिसावमा याे वर्ष भएका उपलब्धीले आगामी धेरै वर्षसम्म नेपाली खेलकुदकाे दिशा निर्धारण गरेको छ । भलिबल, फुटबल, क्रिकेट र मार्सल आर्टका राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियाेगिताहरु नियमितरुपमा हुँदा वर्षभरी नै नेपाली खेलाडीहरु ब्यस्त बने ।

यस वर्षका मुख्य उपलब्धी के के हुन् त ? हामी नेप्लेज डट कम नयाँ वर्षकाे शुभकामनासहित वर्षकाे समीक्षा प्रस्तुत गर्दैछाैं ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग)

यस वर्ष भएकाे सबैभन्दा ठूलाे उपलब्धि भनेकाे १३ औं साग नै हाे, आयाेजना र नतिजा दुवै हिसावमा । नेपालबाट सुरु भएकाे साग खेलकुद तेस्रो पटक नेपालमा मंसिर १५ देखि २४ सम्म आयाेजना भयाे । नेपालले आयाेजना गर्नसक्ने सबैभन्दा ठूलो प्रतियोगिता पनि हाे याे । दक्षिण एसियाका ७ मुलुकका करिव १० हजार खेलकर्मीलाई १० दिनकाे प्रतियाेगितामा नेपालले आतिथ्य गरेकाे थियाे । कुनै ब्यबधानबिना काठमाडौं, पाेखरा र जनकपुरमा खेलहरु आयाेजना सम्भव भयाे ।

अर्काे संस्करण दुई वर्षपछि पाकिस्तानमा गर्ने गरी खेलकुद महामेला सम्पन्न भयाे । नतिजाका हिसावमा पनि नेपालले अहिलेसम्मकै सर्वाधिक सफलता हासिल गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)काे लक्ष्यअनुसार नै नेपालले ५१ स्वर्ण पदक जित्याे । ६० रजत र ९५ कांस्यसहित २ सय ६ पदक घरेलु खेलाडीले राखे ।

फुटबलले उपाधि रक्षा गर्न सक्याे, गाैरिका सिंहले पाैडीमा ४ स्वर्ण जितेर कीर्तिमान बनाइन्, सन्ताेषी श्रेष्ठ एथ्लेटिक्सबाट सागमा स्वर्ण जित्ने पहिलाे महिला खेलाडी बनिन् । कुस्तीबाट यस्तै सफलता संगीता धामीकाे नाममा रह्याे । महिला भलिबल टाेलीले  ऐतिहासिक रजन जित्याे । तेक्वान्दाेबाट १२ र कराँतेबाट १० सहित नेपालकाे बलियाे पक्षकाे रुपमा रहिकाे मार्सल आर्ट खेलबाट ३२ स्वर्ण जित्याे । शुटिङका खेलाडीले खेल सामाग्री नपाउँदा ब्यहाेर्नुपरेकाे लज्जास्पद पराजय खेलकुदकाे कालाे पाटाेकाे रुपमा हेर्न सकिन्छ ।

खेलकुद नीति पारित

खेलकुद  ऐन पुरानाे भएकाले समयानुकुल परिवर्तनको माग उठेकाे धेरै भएकाे थियाे । देशमा संघीयता लागू भएपछि ऐन परिवर्तन अनिवार्य नै भयाे । खेलकुदकाे नयाँ बिधेयक संसदकाे दुवै समितिबाट पारित भएपछि राष्ट्रपति बिध्यादेवी भण्डारीबाट प्रमाणीकरणकाे तयारीमा छ । खेलकुदको विकासका लागि बनेकाे बिधेयक २०७५ फागुनमा राष्ट्रिय सभामा दर्ता भएकाे थियाे । राष्ट्रिय सभाले २०७६ साउनमा पारित गरेपछि प्रतिनिधि सभामा पठाइयाे । प्रतिनिधिसभाबाट माघमा पारित भएपछि अब प्रमाणीकरणकाे तयारीमा छ । काेराेना भाइरसकाे महामारीले देश लकडाउनकाे स्थितिमा रहेकाले प्रमाणीकरण ढिला भएको हो । नयाँ ऐनले नेपालमा ओलम्पिक कमिटी विवाद समाधान हुने अपेक्षा गरिएको छ ।

परिषदमा नयाँ नेतृत्व, ओलम्पिकमा फेरि जीवनराम

नेपाली खेलकुदकाे नियमक निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले यसै वर्ष नयाँ नेतृत्व पायाे । केशवकुमार विष्टले ४ वर्षे कार्याकाल पूरा गरेपछि खेलकुद मन्त्रालयले असार २३ गते शिक्षा व्यवशायी रमेशकुमार सिलवाललाई सदस्य सचिवमा नियुक्त गरेको थियो । फ्रेन्चाइज क्रिकेटका मुख्य लगानीकर्तामध्येका एक सिलवाल खेलकुदका जानकार व्यक्तित्व नै हुन् । उनी मदन भण्डारी स्पाेर्टस एकेडेमीका संस्थापक पनि हुन् । सागकाे सफल आयाेजनाले धेरै हदसम्म याे पुस्टी गरेकाे छ । सिलवाल राजधानीकाे गाेल्डेनगेट कलेजका सन्चालक हुन् ।
यसै वर्षकाे असाेजमा नेपाल ओलम्पिक कमिटीकाे नेतृत्वमा जीवनराम श्रेष्ठ दाेस्राे कार्यकालका लागि निर्वाचित भए । चार वर्ष अगाडि कै समिकरणका रुपमा पुन: उमेशलाल श्रेष्ठलाई भारी मतान्तरले पराजित गरी जीवनरामले चुनाव जिते । जीवनरामले १६ र उमेशलालले ११ मत ल्याए । महासचिवमा निर्वाचित निलेन्द्रराज श्रेष्ठले पुरेन्द्र विक्रम लाखेलाई पराजित गरे ।

क्रिकेटमा आईसीसीकाे निलम्बन फुकुवा, कप्तानबाट पारसकाे राजीनामा

नेपाली क्रिकेटमा राजनीति हावी भएकाे भन्दै चार वर्ष अघि गरेकाे निलम्बन आईसीसीबाट शर्तसहित फुकुवा भएकाे छ । विगतमा जुन नेतृत्वमा आउँदा राखेपले हस्तक्षेप गरेपछि याे परिस्थिति आएकाे थियाे अहिले सबै प्रकिया पुर्‍याएर निर्वाचन हुँदा उही नेतृत्वनै दाेहाेरिएकाे छ । नेतृत्व चयन भएसँगै आईसीसीले नेपालकाे निलम्बन फुकुवा गरेकाे छ भने नेपाल क्रिकेट संघ क्यान घरेलु क्रिकेटमा काम गर्न शुरु गरिसकेकाे छ । यस बीचमा कीर्तिपुर मैदानमा अन्तराष्ट्रिय प्रतियाेगिता पनि आयाेजना भइसकेकाे छ ।

यस बीचमा क्रिकेट टिमका कप्तान पारस खड्काले राजीनामा दिए । जुन कुरा क्रिकेट समर्थकले भने त्यति रुचाएका छैनन् । नेपाली क्रिकेटलाई एक दिवसीय मान्यता दिलाउँदा सम्म नेतृत्व गरेका पारसबाट अझै‌ं धेरैले लामाे समयसम्म कप्तानकाे रुपमा देखेका थिए । खेलाडीकाे रुपमा पारस टिममा छन् भने अहिले नेपाली टिमकाे नेतृत्व ज्ञानेन्द्र मल्लकाे काँधमा छ ।

फुटबलमा अबसर धेरै, नतिजा थाेरै

राष्ट्रिय फुटबल टाेलीले विश्वकप छनाेटकाे दाेस्राे चरणमा अाफूभन्दा माथिल्ला स्तरका ठूला टाेलीहरुसँग खेल्ने अवसर पायाे । विश्वकप तथा एसिया कप छनोटमा समूह बीमा रहेकाे नेपालले अष्ट्रेलिया, जाेर्डन, कुवेतजस्ता ठूला टाेलीसँग खेल्ने अवसर पायाे । भदाै र असाेज महिनामा नेपालले कुवेत, चाइनिज ताइपेइ, अस्ट्रेलिया र जाेर्डनसँग उनीहरुकै मैदानमा खेल्याे । चाइनिज ताइपेइ बाहेक अन्यसँगकाे नतिजा सुखद रहेन । हाेम खेल अन्तर्गत मंसिरमा कुवेनविरुद्दकाे खेल दशरथ रंगशालाकाे पुनर्निर्माण सम्पन्न नभएकाले भुटानमा सारियाे । यस खेलमा पनि नेपाल पराजित रह्याे । प्रतियाेगिता अन्तर्गत अष्ट्रेलिया, जाेर्डन र चाइनिज ताइपेइसँगकाे हाेम खेल वर्षकाे अन्तिमतिर महामारीकाे रुपमा फैलिरहेकाे ज्यानमारा काेराेना भाइरसका कारण स्थगित गरिएकाे छ ।
उमेर समूहकाे ओलम्पिक टाेलीले सागकाे फाइनलमा भुटानलाई पराजित गरी उपाधि रक्षा गर्न सक्याे । सिनियर टाेली नै खेलाइएकाे महिला टाेली भने पुन: एकपल्ट भारतसँग पराजित हुँदै रजनमा सीमित बन्याे । सहिद स्मारक ए डिभिजन लिगले यस वर्ष नयाँ विजेता पायाे । राष्ट्रिय टाेलीका अधिकांश खेलाडी समेटेर तयार पारिएकाे मच्छिन्द्रले ५० लाख रुपैयाँ पुरस्कार पायाे ।

भलिबलमा महिलातर्फ प्रगति, पुरुषतर्फ अधाेगति

राष्ट्रिय खेल भलिबलमा याे वर्ष उल्लेखनीय उपलब्धी रह्याे । नेपालले पहिलाे पल्ट एसियाली स्तरकाे प्रतियाेगिता आयाेजना गर्याे । भदाैमा लगनखेलमा आयाेजिन एभीसी सिनियर मेन्स सेन्ट्रल जाेन भलिबलमा घरेलु टोलीको प्रदर्शन भने लज्जास्पद रह्यो । ६ टाेली सम्मिलित प्रतियाेगितामा नेपाल पाँचाैें भयाे । यसले पुरुष भलिबलमा अझै धेरै लगानीकाे खाँचाे औंल्याइएकाे छ । सागमा पनि पुरुष टाेलीले समूह चरण पार गर्न सकेन ।
महिलातर्फ भने यस वर्ष स्वर्णीम समयकाे रुपमा रह्याे । कात्तिकमा बंगलादेशमा सम्पन्न पहिलाे एभीसी सिनियर वुमेन्स सेन्ट्रल जाेन भलिबलकाे उपाधि अरुणा शाही नेतृत्वकाे नेपाली टाेलीले जित्याे । सागमा नेपालले फाइनलसम्मकाे यात्रा तय गरेपनि फाइनलमा भारतसँग पराजित हुँदै रजत पदक जित्न सफल भयाे ।

ब्याडमिन्टनमा प्रिन्स दाहालकाे सफलता

प्रिन्स दाहालले नेपाली ब्याडमिन्टनकाे स्तरलाई विश्वसामू चिनाउन गरेकाे प्रयास सराहनीय छ । १६ वर्षीय यी किशाेर ब्याडमिन्टनकाे जुनियर विश्व वरियतामा साताैं स्थानमा छन् । प्रिन्सले यस वर्ष आधिकारिक जुनियर सिरिद अन्तर्गतका ९ प्रतियाेगिता खेले । भदाैमा दुवइ इन्टरनेसनल सिरिजकाे उपाधि जितेका उनले माघमा नेपालमै भएकाे प्रधानमन्त्री कप नेपाल जुनियर सिरिजमा उपविजेता बनेका थिए । उनले सागमा टिम स्पर्धा र युगल स्पर्धामा नेपालका लागि कांस्य पदक जिते ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey