आवश्यक परे खेल क्षेत्रका लागि पनि राहत प्याकेज घोषणा गर्छौं : मन्त्री विश्वकर्मा

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-१२-२७
  • |
  • 262 पटक हेरिएको

काठमाडौं, २७ चैत । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले कोरोना भाइरसको महामारीबाट पार पाउनका लागि सबै मिलेर लाग्नु पर्नेमा जोड दिएका छन् । विश्वमै महामारीको स्वरुप कस्तो हुने भन्ने निक्र्योल नभइसकेकाले अहिले अप्ठेरो परिस्थित उत्पन्न भएको पनि बताए । नेप्लेजसँगको कुराकानीमा मन्त्री विश्वकर्माले कोरोना भाइरसविरुद्धका लागि युवा, खेलाडी तथा स्काउटलाई स्वयंसेवकको रुपमा परिचालन गर्नका लागि आफूहरुले काम शुरु गरिसेकेको पनि जानकारी दिए ।

कोरोना महामारीको प्रारम्भिक चरणमा रहेकाले नेपालसहित विश्वमै यसदे दीर्घकालिन असर पार्ने पनि बताएका छन् । यसैगरी खेल क्षेत्रलाई अब माथि उठाउनका लागि आवश्यक परे खेलाडी तथा खेलसंघहरुलाई राहतको प्याकेज ल्याउने पनि जानकारी दिए । मन्त्री विश्वकर्मासँग मुक्तिबाबु रेग्मीले टेलिफोनमा गरेको कुराकानीको सम्पादित अंश ।

लकडाउनका बेला कसरी दिनहरु वितिरहेका छन् मन्त्री ज्यु ?
स्वभाविकरुपमा अहिले इतिहासमै मानवजातिका अस्तित्वमाथि आएको संकट हो । यसले हामी सबैलाई गम्भीर बनाएको छ । संवेदनशील बनाएको छ ।  अस्तिमात्रै मन्त्रिपरिषद्को बैठकले हामीलाई जिम्मेवारी दिएको छ । कोरोना भाइरस नियन्त्रण तथा आवश्यकता अनुसार राहात सामाग्री वितरण लगायतका कुराहरुमा युवा, खेलाडी तथा स्काउटलाई परिचालन गर्ने निर्णय गरेको छ । त्यसको परिचालनका लागि आवश्यक परिचालनको समन्वय गर्ने निर्णय भएको छ । त्यसैलाई कार्यान्वयन गर्ने गरि हामीले छलफल अघि बढाएका छौं । हामीले स्वयंसेवक परिचालन समिति पनि बनाएका छौं । त्यसको संयोजक म आफै छु ।

के के गर्नुभयो अहिलेसम्म ?
हिजो मात्रै बैठक बसेर योजना बनाएका छौं । ती योजनाहरु सार्वजनिक पनि गरिसकेका छौं ।

अहिलेको महामारीले नेपाली खेलकुद कति पछाडि धकेलियो ?
यसको दीर्घकालिन प्रभाव त अवस्य नै पर्छ । अहिले अन्तर्राष्ट्रिय स्तरमा परि सकेको छ । नेपालमा पनि पर्छ नै । विश्वकै जनजीवन प्रभावित त भइसकेको छ नै खेलकुद गतिविधिहरु पनि रोकिएका छन् । ओलम्पिक जस्तो ठूलो प्रतियोगिता पनि एक वर्ष पर धकेलिएको छ । नेपालमा पनि नियमितरुपमा हुनुपर्ने प्रतियोगिताहरु पनि अहिले स्थगन भएका छन् ।

खेल क्षेत्रका लागि राहत प्याकेजको कुराहरु सोँच्नु भएको छ की ?
अहिले अरु क्षेत्र जस्तो खेलकुद क्षेत्रलाई प्रत्यक्ष राहतको कुरा सोँचेका छैनौं । अहिले हामी प्रारम्भिक चरणमै रहेकाले पनि यसको बारेमा सोँचेका छैनौं । तर भोलिका दिनमा आवश्यक परे हामीले केही न केही गर्नै पर्छ । यस्तोमा हाम्रा खेलाडीहरुलाई परेको प्रभाव र खेलक्षेत्रलाई माथि उठाउनका लागि निश्चितरुपमा केही राहतको प्याकेज ल्याउनै पर्छ । साथै कोरोना भाइरसको महामारीका कारण खेलका पूर्वाधार निर्माणमा परेका बाधाहरु फुकाउनका लागि पनि हामीले यसमा ध्यान दिनै पर्छ ।

अब नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अर्को बर्ष पोखरामा हुन सक्ला ?
विश्वव्यापीरुपमा कोरोना भाइरसको संक्रमण फैलदो छ र यसको सम्भाव्य रुप कस्तो हुन्छ भनेर आंकलन गर्न नसकिरहेका बेला यसले लिने रुपलाई नै हेरेर हामीले नवौं राष्ट्रिय खेलकुदको विषयमा सोँच्नु पर्ने हुन्छ ।

अन्त्यमा, १३ औं सागका पदकधारी खेलाडीको पुरस्कार रकमको कुरा कहाँ पुग्यो ?
१३ औं साग खेलकुद प्रतियोगितामा पदक जितेका खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक र खेल संघको खातामा पैसा पठाउन मन्त्रालयले शुरु गरिसकेको छ । अबको तीन चार दिन भित्र सबैको बैंक खातामा पैसा जम्मा भइसक्छ । अहिले मुलुक लकडाउनमा भए पनि मन्त्रालयको लेखा शाखाले यो कामलाई तिब्रता दिएको छ । यसका लागि सिमित कर्मचारीले दैनिकरुपमा यो काम गरिरहनु भएको छ । खेलाडी, खेल संघ प्रशिक्षक सबै गरेर हामीले ६२८ वटा बैंक खातामा पैसा जम्मा गर्नुपर्ने छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey