खेलकुद मन्त्रीलाई ३ प्रश्न ‘सागका पदकधारीले पुरस्कार रकम कहिले पाउँछन्’

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-११-१२
  • |
  • 235 पटक हेरिएको

काठमाडौं, १२ फागुन । १३ औं दक्षिण एसियाली खेलकुद सागका पदकधारी खेलाडीले १५ दिन भित्र नगद पुरस्कार पाउने भएका छन् ।

मंसिरमा १५–२४ सम्म काठमाडौंमा भएको प्रतियोगितामा नेपालले ५१ स्वर्ण सहित कुल २०६ पदकका साथ दोस्रो स्थान कव्जा गरेको थियो । नेपालले यो प्रतियोगिामा ५१ स्वर्णका साथ ६० रजत र ९५ कास्य पदक जितेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्ण पदक जित्ने खेलाडीलाई नौ लाख, रजत पदक जित्नेलाई छ लाख र काश्य पदक जित्नेलाई तीन लाख पुरस्कार दिने घोषणा गरेका थिए । एकभन्दा बढी स्वर्ण पदक जित्ने खेलाडीलाई ११ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरिएको छ ।

प्रतियोगिता सकिएको झण्डै साढे २ महिना सम्म पनि पुरस्कार पाएका छैनन् । खेलकुदमन्त्रीलाई हामीले तीन प्रश्न गरेका छौं ।

१.सागका पदकधारिले पाउने पुरस्कारको प्रक्रिया कहाँ पुग्यो ?

१३ औं दक्षिण एसियाली खेलकुद सागमा पदक विजेता खेलाडीहरुलाई सरकारको तर्फबाट पुरस्कार दिने विषयमा केही समय अगाडि नै प्रधानमन्त्री ज्यूले जुन पुरस्कार रकम घोषणा गर्नुभएको छ । त्यो रकम उपलव्ध गराउनका लागि पुरस्कार तथा सम्मान कार्यविधि छ । त्यो कार्यविधिमा संशोधन आवश्यक थियो सोही अनुसार कार्यविधि संशोधन गर्नका लागि आवश्यक प्रक्रिया अगाडि बढाएर अर्थमन्त्रालयमा पठाएका थियौं । अर्थमन्त्रालयबाट फागुन ७ गते सहमति प्राप्त भइसकेको छ । आगामी मन्त्रिपरिषद्को बैठकमा युवा तथा खेलकुद मन्त्रालयका तर्फबाट यो प्रस्ताव पठाउने गरि तयारी भइरहेको छ । प्रधानमन्त्रीले घोषणा गरे अनुसारकै प्रस्ताव तयार भएको पनि छ ।

२.कहिले पाउँछन् त त्यसो भए मन्त्रि ज्यू खेलाडीले पुरस्कार ?

मन्त्रिपरिषद्बाट हामीले प्रस्ताव गरेको एजेण्डामा निर्णय भएलगत्तै अर्थमन्त्रालयले रकम निकासा गर्ने छ । त्यसपछि कुनै पनि बिलम्ब नगरि खेलाडीहरुलाई पुरस्कार रकम हस्तान्तरण गर्छौं । हामीले खेलाडीहरुलाई विशेष समारोह आयोजना गरेर नै हस्तान्तरण गर्ने छौं । बढीमा अबको १५ दिन भित्र १३ औं सागमा पदक जितेका सबै खेलाडीहरुलाई पुरस्कार रकम हस्तान्तरण गर्छौं ।

३.किन ढिला भयो खेलाडीले पाउने पुरस्कार दिन ?

अरु केही कारण छैन यसमा । खासगरि हाम्रो प्रक्रियाकै कारण मात्र ढिला भएको हो । प्रधानमन्त्रीले घोषणा गरिसकेकाले यसमा तलमाथि हुने कुरा भएन । प्रक्रिया पुरा गर्नका लागि केही समय मात्र लागेको जस्तो देखिएको हो । यो प्रक्रियामा प्रवेश गरिसकेकाले अब १५ दिन भित्र खेलाडीले पुरस्कार पाइसक्छन् । पुरानो कार्यविधि अनुसार प्रधानमन्त्रीले सम्बोधन गरेको जस्तो नभएकाले त्यसलाई परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको थियो । सोही अनुसार हामीले कार्यविधि परिमार्जन गरिसकेका छौं । त्यसैगरि पदक विजेता सबै खेलाडी र उनीहरुको मुख्य प्रशिक्षकहरु छन् उनीहरुको सवै डकुमेन्ट पनि प्राप्त हुन केही समय लागेकाले पनि यसमा ढिला भएको हो भन्दा हुन्छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey