तेक्वान्दो विवाद– एशियन गेम्स सहभागिता अन्योल

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-२३
  • |
  • 1071 पटक हेरिएको

चैत २२, काठमाडौं । ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताअघि खेल संघहरुको विवाद नेपालमा नयाँ होइन । अघिल्लो संस्करणको एशियाली खेलकुदमा पनि केहि संघहरुमा विवाद देखिएकै थियो । यसपटक पनि एशियाली खेलकुद नजिकिँदै जाँदा विशेष गरी तेक्वान्दो संघको विवाद उत्कर्षमा पुगेको छ ।

अहिलेको विवाद नेपाल तेक्वान्दो संघ र राष्ट्रिय तेक्वान्दो युनियनबीचको हो । दुवै संघले एशियाली खेलकुदलाई लक्षित गरी राष्ट्रिय प्रतियोगिता गरी खेलाडी छनोट गरिसकेका छन् । तर, दुई संघको विवादले इण्डोनेशियामा आगामी अगष्ट÷सेप्टेम्बरमा हुने एशियाली खेलकुदमा खेलाडीको सहभागिता अन्योलमा परेको छ ।

युवराज लामाले रोपेको विऊ

विक्रम सम्बत २०६८ सालमा युवराज लामा राष्ट्रिय खेलकुद परिषदको सदस्यसचिव हुँदा राष्ट्रिय तेक्वान्दो युनियन नामक संघ दर्ता भयो । नेपाल तेक्वान्दो संघ अस्थित्वमा रहँदै समान प्रक्रितिको अर्को संघ गठन भएपछि विवादको बिऊ त्यतिबेलै रोपिएको हो ।

राजनीतिक प्रभावमा लामाले नयाँ संघ गठन गर्न अनुमति दिएको नेपाल तेक्वान्दो संघले आरोप लगाएको छ ।

नेपाल तेक्वान्दो संघले त्यतिबेलै समान प्रकृतिको अर्को संघ गठन गर्न दिएकोमा आपत्ती नजनाएको होइन । तर, आधिकारिकताको विषयमा नेपाल तेक्वान्दो संघमात्र रहने आश्वासन पाएपछि विवाद सेलाएको थियो ।

राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष तथा नेपाल ओलम्पिक कमिटीका समासचिव लामा टेण्डी शेर्पाले पनि लामाले बिधि मिचेर समान प्रकृतिको संघ गठनका लागि अनुमति दिएकाले अहिले तेक्वान्दोमा विवाद देखिएको र त्यसको समाधानका लागि आफू प्रयासरत रहेको बताए ।

एशियाली खेलकुद सहभागिता

५ महिनापछि एशियाली खेलकुद इण्डोनेशियामा हुँदैछ । त्यसको तयारीका लागि उच्चस्तरीय समिति पनि गठन गरिएको छ । टेण्डी शेर्पाको संयोजकत्वमा गठित समितिले प्रतियोगितामा कति खेलको कति इभेण्ट्समा कति खेलाडी सहभागिता गराउने भन्ने बारे निर्णय लिनेछ ।

खेल र खेलाडी छनोटका लागि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी तथा ओलम्पिक कमिटी अफ एशियाको मापदण्डमा रहेर निर्णय गरिने संयोजक शेर्पाले जानकारी दिएका छन् ।

शेर्पाका अनुसार तेक्वान्दोमा पनि ओलम्पिक कमिटिले मान्यता दिएको संघका खेलाडीले मात्र एशियाली खेलकुदमा सहभागिता जनाउन पाउँछ । नेपालमा नेपाल तेक्वान्दो संघलाई ओलम्पिक कमिटीले मान्यता दिएको छ ।

ओलम्पिक कमिटीका महासचिव शेर्पाले भनेका छन् कि, ‘नेपाल ओलम्पिक कमिटिले तेक्वान्दोको एउटा संघमात्र चिन्छ, त्यो हो नेपाल तेक्वान्दो संघ । ओलम्पिक कमिटीमार्फत हुने अन्तर्राष्ट्रिय सहभागिता पनि त्यही संघबाट हुन्छ ।’

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले पनि विवाद देखिएको स्वीकार्दै समाधानका लागि प्रयास भइरहेको बताए । दुवै संघले खेलाडी छनोट गरिसकेका छन्, तेक्वान्दोको सहभागिता कसरी हुन्छ ? भन्ने प्रश्नमा उनले भने, ‘परिषदले मान्यता दिएको दुई संघ भएपनि विश्व तेक्वान्दोले कसलाई मान्यता दिएको छ, त्यसैका आधारमा अन्तर्राष्ट्रिय सहभागिता हुने हो । हामीले उच्चस्तरीय समिति पनि बनाएका छौं, त्यही समितिले निर्णय गर्ला ।’

‘विश्व तेक्वान्दो महासंघ र ओलम्पिक कमिटिले मान्यता दिएन भने त यहाँ कराएरमात्रै के अर्थ छ र ?’ सदस्यसचिवले भने ।

एशियाली खेलकुदका लागि नेपाल तेक्वान्दो संघ र राष्ट्रिय तेक्वान्दो युनियन दुवैले खेलाडी छनोट गरिसकेका छन् । गत, पुसमा भएको राखेप च्याम्पियसिपमार्फत राष्ट्रिय टिममा रहेका खेलाडीहरुलाई छनोट प्रतियोगितामार्फत एशियाली खेलकुदको तयारीमा राखिएको छ ।

राष्ट्रिय तेक्वान्दो युनियनका महासचिव राजकुमार श्रेष्ठले दुवै संघका खेलाडीहरुबीच प्रतियोगिता गराएर एशियाली खेलकुदका लागि तेक्वान्दो टिम बनाउन माग गरे । उनले भने, ‘एशियाली खेलकुदमा सहभागिताको अधिकार राष्ट्रिय खेलकुद परिषदसँग छ, उसको नजरमा तेक्वान्दोका दुवै संघ समान हैसियदको भएकाले दुवैलाई समेटेर अघि बढ्नुपर्छ ।’

यता नेपाल तेक्वान्दो संघ यसलाई मान्ने पक्षमा छैन । ३५ वर्षदेखि नेपालमा तेक्वान्दो गतिविधि गरिरहेको तथा विश्व तेक्वान्दो र ओलम्पिक कमिटीको मान्यता पाएको संघबाट मात्र खेलाडीको सहभागिता हुनुपर्ने नेपाल तेक्वान्दो संघका सचिव तथा प्रशिक्षक दीपक विष्टले बताए ।

‘अघिल्ला सदस्यसचिवले गर्नुभएको अदूरदर्शी निर्णयले अहिले यस्तो भएको हो, तर अन्तर्राष्ट्रिय आधिकारिकता नभएको संघले अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडी सहभागिता गराउन पाउने नियम संसारमा छैन ।’ प्रशिक्षक विष्टले भने ।

कीर्तिमानी तेक्वान्दो खेलाडी विष्टले भने, ‘नेपालमा एउटा मात्र तेक्वान्दो संघ छ, कोही उफ्रँदैछ भने बुझ्नुस उसले खेलाडीको जीवन वर्वाद गर्दैछ ।’

प्रशिक्षक विष्टले कुनै आधार नभएको संघले एउटा राष्ट्रिय प्रतियोगिता गर्दैमा खेलाडी सेलेक्सन नहुने आरोप समेत लगाए । ‘तेक्वान्दोको संरचनाअनुसार जिल्ला, क्षेत्र÷प्रदेशबाट छनोट भएर राष्ट्रिय प्रतियोगिता खेलेपछि राष्ट्रिय टिममा आउने हो ।’

यता राष्ट्रिय तेक्वान्दो एशोसियसनले भने आफ्ना खेलाडीलाई जसरी पनि एशियाली खेलकुदमा सहभागिता गराइने दावी गरेको छ । संघका महासचिव कार्कीले भने, ‘खेलकुद परिषदबाट बराबरी सुविधा पाएको संघ हो, खेलकुद परिषदका प्रशिक्षकहरुले प्रशिक्षण दिइराख्नुभएको छ, हामीले एशियाली खेलकुदमा सहभागिता नजनाउने भन्ने त कुरै हुँदैन ।’

‘साँढेको जुधाइ बाच्छाको मिचाइ’

सन् २०१४ को एशियाली खेलकुदमा तेक्वान्दो युनियनका एक खेलाडी रविन अधिकारी प्रतियोगिताका लागि कोरिया पुगेका थिए । तर, विश्व तेक्वान्दो र ओलम्पिक कमिटीको मान्यता नभएको संघबाट प्रतिनिधित्व भएकै कारण उनले खेल्न पाएनन् ।

यो दृष्टान्तले के देखाउँछ भने संघको विवादले अन्ततः मारमा पर्ने भनेका खेलाडी नै हुन् ।

युनियनका महासचिव कार्कीले अघिल्लो एशियाली खेलकुदमा आफ्नो खेलाडीलाई सहभागिताबाट षडयन्त्रपूर्वक बञ्चित गराइएको आरोप लगाए । उनले भने, ‘खुरापातीहरुले के के गरेर त्यो क्याटागोरी नै हटाइदिएछन् ।’

विश्व तेक्वान्दोबाट मान्यता पाएको नेपाल तेक्वान्दो संघकै असन्तुष्ट पदाधिकारीले २०६८ सालमा युनियनको नामबाट तेक्वान्दो संघ गठन गरेका हुन् । आ–आफ्नो स्वार्थ पूर्तिका लागि संघ गठन हुँदै जाने र खेल र खेलाडीलाई मारमा पार्दै जाने चलन नेपालमा पुरानै हो ।

युनियनका महासचिव कार्कीले नेपाल तेक्वान्दो संघ विष बोकेकाहरुको झुण्ड भएको र आफ्नो संघ चाहीँ अमृतहरुको समूह भएको दाबी गरे । ‘तीसौं वर्षदेखि एकैजनाले नेतृत्व गरेको नेपाल तेक्वान्दो संघमा नयाँ मान्छेहरुको प्रवेश सम्भव नै छैन, त्यहाँ एकै व्यक्तिले कमाइ खाने भाँडो बनाएका छन्, गणतन्त्र आइसक्दा पनि नेपाल तेक्वान्दो संघमा तानाशाही व्यवस्था कायमै छ ।’

तर, नयाँ संघ स्थापना गर्ने, खेलाडीहरुलाई आफ्नो संघबाट खेल्न लगाउने तर, अन्तर्राष्ट्रिय सहभागितामा बञ्चित हुनुपर्दा खेर गएको लगानी र खेलाडीको भविश्यका बारेमा को जिम्मेबार हुने भन्ने प्रश्नको जवाफ कसैसँग छैन ।

हलको विवाद

राष्ट्रिय खेलकुद परिषदले नेपाल तेक्वान्दो संघले प्रयोग गरिरहेको दशरथ रंगशालामा रहेको तेक्वान्दो हल राष्ट्रिय तेक्वान्दो युनियनलाई प्रयोगका लागि अनुमति दिएपछि सुरु भएको विवाद अहिले उत्कर्षमा छ ।

नेपाल तेक्वान्दो संघले भनेको छ, ‘दशरथ रंगशाला पुनर्निर्माणका लागि हल खाली गराउ भनेर परिषदले हल युनियनलाई दियो ।’

तेक्वान्दो संघका एक सदस्यका अनुसार दशरथ रंगशाला पुनर्निर्माण भइरहेका कारण हल खाली गरिएको हो । ‘त्यो हलले नेपाली तेक्वान्दोको इतिहास बोकेको छ, विधान लामा, संगीना बैद्य, दीपक विष्टजस्ता खेलाडी जन्माएको त्यस हल अर्को संस्थालाई दिएर किन विवाद बढाइयो भन्ने हाम्रो प्रश्न हो ।’
तर, सदस्यसचिव विष्टले भने तेक्वान्दो युनियनलाई चैत मासान्तसम्मका लागि प्रशिक्षकस्थलको व्यवस्था गरिदिएको बताए । ‘युनियनले हल चाहियो भनिरहेकै थियो, त्यहाँ खाली रहेछ, चैत मसान्तसम्मका लागि मात्र दिएको हो, अनावश्यक विवाद बढाइयो ।’

यता युनियनका महासचिव कार्कीले भने दशरथ रंगशालाको मात्र होइन सातदोवाटोमा बन्दै गरेको तेक्वान्दो एकेडेमीमा पनि आफूहरुको बराबर हक लाग्ने दाबी गरे । उनले भने, ‘हामी बराबर हैसियदका खेलसंघ हौं, रंगशालाको मात्र होइन सातदोवाटोको एकेडेमीमा पनि हाम्रो अधिकार छ, किनभने त्यो राखेपको सम्पत्ति हो ।’

नेपाल तेक्वान्दो संघले भने सदस्यसचिव र खेलकुद मन्त्री जगत विश्वकर्मालाई समेत आफ्नो हल तत्काल फिर्ता दिन माग गरिसकेको छ । सदस्यसचिवले निर्णय सच्याउने आश्वासन दिएको संघका एक सदस्यले जानकारी दिए ।

तेक्वान्दो संघले परिषदले राजनीतिक मिलेमतोमा आफूहरुको सम्पत्ति अन्यत्र दिइएको भन्दै परिषदलाई सचेत गराइसकेको छ । संघले तेक्वान्दो संघका सचिव नवीन श्रेष्ठको संयोजकत्वमा दपिक विष्ट, संगीना बैद्यसम्मिलित ४० सदस्यीय संघर्ष समितिसमेत गठन गरेको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey