दिपक बिष्टका ती चार पदक (फ्ल्यासब्याक)

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०५-२६
  • |
  • 356 पटक हेरिएको

सागमा चारवटा स्वर्ण पदक जितेका दिपक बिष्ट अहिले प्रशिक्षकको भुमिकामा छन् । शरिरले साथ नदिएपछि जित्दा जित्दै तेक्वान्दो छोडेका दिपक अहिले प्रशिक्षकको भुमिकामा छन् । उनी आफू जस्तै सफल खेलाडी उत्पादन गर्न प्रयासरत छन् । तर पनि कहिलेकाहीँ अझै खेल्न पाए हुन्थ्यो जस्तो लाग्छ दिपकलाई । दिपकले बनाएको त्यो कीर्तिमान अहिलेसम्म कसैले तोड्न सकेको छैन ।

तत्कालिन समयमा बैकुण्ठ मानन्धरले बनाएको तीन स्वर्णको कीर्तिमान तोड्ने ल्याकत कुनै खेलाडीमा थिएन । तर, जिवनमा विभिन्न उतारचढाव सहेर भएपनि दिपकले सन् २०१० मा ढाकामा भएको एघारौं सागमा चौथो स्वर्ण जितेपछि उनले दक्षिण एसियामै एउटा कोषेढुंगा कायम गर्न सफल भए । अझै पनि दिपकलाई त्यस्तो सफलता कसरी हासिल गरेँ जस्तो लाग्छ । ‘अहिले आएर कसरी खेलेँ जस्तो लाग्छ,’ दिपक भन्छन् । ‘अझ खेल्न पाएपनि हुन्थ्यो जस्तो लाग्छ ।’ अहिले प्रशिक्षकको भुमिकामा छन् ।

खेलाडी र प्रशिक्षकमा धेरै अन्तर रहेको दिपकको अनुभव छ, ‘प्रशिक्षक हुँदा अलि धेरै जिम्मेवारी काँधमा आउँदो रहेछ ।’ कञ्चनपुरको एउटा विकट गाउँमा जन्मिएका दिपकलाई खेलमा लाग्न परिवारबाट बन्देज थियो । तर, खेल भनेपछि उनलाई केही चाहिँदैनथ्यो । ‘कहिलेकाहीँ मलाई खेल भएपछि केही चाहिँदैन जस्तो लाग्थ्यो,’ दिपक सम्झन्छन् । निम्न आर्थिकस्थिती भएको परिवारमा हुर्केका दिपकले शुरुमा भलिबल खेले ।

उनले तेक्वान्दो त धेरै पछि खेलेका थिए । सुदूरपश्चिममै आईएससी सकाएपछि दिपकको यात्रा काठमाडौंतिर सोझियो । बुवा–आमाबाट टाढा भएका कारण उनले निर्वाध रुपमा तेक्वान्दो खेल्न पाए । उनको प्रदर्शनबाट प्रशिक्षकहरु पनि प्रभावित भए । प्रशिक्षकहरुले दिएको तारिफले उनलाई अझ बढी मेहनत गर्न प्रेरणा मिल्यो । त्यही प्रेरणाले उनलाई स्वर्णमाथि स्वर्ण थप्न मनोबल बढायो ।

पहिलो स्वर्णः जीवनको टर्निङ पोइन्ट

सन् १९९८ मा भएको एसियाली खेलकुदमा उनले सहभागिता जनाएको भएपनि कुनै पदक जित्न सकेनन् । पदक जितेका सविता राजभण्डारी र किशोर श्रेष्ठलाई दिइएको सम्मानबाट उनी लालयित भए । त्यसपछि उनमा जितको भोक जाग्यो । ‘पदक ल्याएपछि उहाँहरुको मान–सम्मान, चर्चा ब्यापक भयो । ‘त्यसबाट ममा यति इख जाग्यो, आफ्नो प्रदर्शनबाट चिन्तित भएँ । त्यसपछि लाग्यो, मेडल त जित्नै पर्ने रहेछ जस्तो लाग्यो,’ दिपक सम्झन्छन् । आठौं दक्षिण एसियाली खेलकुदअघि उनी आफ्नो तौलसमूहमा च्याम्पियन बनिसकेका थिए ।

घरेलु मैदानमा उनले स्वर्ण पदक जिते । ‘युवराज दिपेन्द्रले पदक दिएको फोटो पत्रिकाको पहिलो पेजमा छापिएपछि रातारात मेरो जीवन परिवर्तन भयो । त्यो मान–सम्मान, राजा, प्रधानमन्त्री, मन्त्रीहरुले पार्टी दिने, म एउटा सानो कोठामा बस्नेलाई ठूलो कुरा थियो ।’ ‘त्यसबेला बैंक खाता पनि थिएन । अलिअलि पैसा पाएँ । घरमा पनि दिएँ । घरतिर बधाईको ओहिरो आउँदा बुवा आमा पनि दंग । आठौं दक्षिण एसियाली खेलकुदले जीवनमा कायापलट गरिदियो ।’ त्यो सफलताले दिपकलाई अझ राम्रो गर्नुपर्छ भन्ने भावना आयो । तेक्वान्दो बाहेक उनले कतै हेरेनन् ।

दुःखको पदकः नवौं दक्षिण एसियाली खेलकुद

भारत–पाकिस्तान विवादका कारण नवौं दक्षिण एसियाली खेलकुद केही ढिला भयो । सन् २००४ मा पाकिस्तान सागमा सहभागिता जनाउनका लागि दिपकसँगै नेपाली खेलाडी चार दिन मोटरको यात्रा गरेर आयोजना स्थल पुगेका थिए । सेमिफाइनलमा उनको खुट्टा नै भाँचियो । त्यसपछि खेल्ने की नखेल्ने भन्ने द्वविधाकाबीच प्रतिष्पर्धा गर्ने निर्णय गरे । ‘भगवानको कृया, नेपालीहरुको साथ मायाका कारणले गर्दा नजित्ने खेल जितेँ,’ दोस्रो साग पदक उनका लागि अप्रत्यासित सफलता थियो ।

‘ठूलो युद्ध जिते जत्तिकै भयो,’ दिपक भन्छन्, ‘बैशाखी टेकेर फर्किनु प¥यो ।’ ‘तर पनि मलाई कुनै चिन्ता थिएन । मसँग स्वर्ण पदक थियो ।’ ‘त्यो मेरो लागि दुःखको पदक थियो, कसरी जितेँ नै थाहा भएन ।’

कोलम्बो सागः स्वर्ण पदकमा ह्याट्रिक

दशौं दक्षिण एसियाली खेलकुद सन् २००६ मा श्रीलंकाको कोलम्बोमा भएको थियो । दुई पटक स्वर्ण पदक जितिसकेका दिपकका लागि एउटा ठूलो अवसर थियो । त्यसअघि बैकुण्ठ मानन्धरबाहेक कुनै पनि नेपाली खेलाडीले तीनवटा स्वर्ण पदक जित्न सकेका थिएनन् । म्याराथन धावक मानन्धरको रेकर्ड बराबरी गर्ने होडमा दिपक सहित तीन जना खेलाडी थिए । तेक्वान्दोकी संगीना बैद्य र करातेका दिपक श्रेष्ठले पनि त्यसअघि दुई स्वर्ण पदक जितिसकेका थिए । ‘हामी तीन जना ह्याट्रिक गर्न भनेर गएका थियौं । ह्याट्रिक कसले गर्ने भनेर प्रतिष्पर्धा थियो,’ दिपक बिष्ट सम्झिन्छन् । सफलताको महत्वाकांक्षा बढ्दै गयो ।

दक्षिण एसियाली तेक्वान्दोमा नम्बर एक हुने भोक दिपकमा थियो । दिपक श्रेष्ठ र संगीना बैद्य दुबैजना हारेपछि दिपकलाई अझ बढी दबाब आइपर्यो । त्यसबेला उनलाई ह्याट्रिक हाम्रो भाग्यमा रहेनछ जस्तो लाग्यो । ‘तर त्यहाँ मैले धेरै राम्रो प्रदर्शन गरेँ,’ दिपकले भने । ‘त्यसबेला म पूर्ण रुपमा फिट थिएँ । पाकिस्तानमा खेल्दा भाँचिएको खुट्टा निको भइसकेको थियो ।’ त्यसबेला उनको हातमा भने शल्यक्रिया गरेर स्टिल राखिएको थियो । ‘त्यही हातले पञ्च हानेर त्यो साफ गेम जितेँ र ह्याट्रिक गरेँ ।

बैकुण्ठ दाईको हाराहारीमा पुगे,’ यो सम्झिँदा दिपकको अनुहारमा छुट्टै चमक देखिन्छ । ‘गाउँमा गोरु–बाख्रा चराउँदा नाम सुनेको बैकुण्ठ मानन्धरको बराबरीमा आउनु मेरो लागि अर्को ठूलो सफलता बन्यो,’ दिपक अघि थप्छन् । ‘त्यसले गर्दा पूरा देश–विदेशमा चर्चा भयो, बधाईको ओहिरो आयो । त्यसले गर्दा चौथो जित्ने प्रेरणा मिल्यो ।’

चौथो स्वर्णः रिस्क लिँदा आएको पदक

कोलम्बोमा साग खेलेको दुई वर्ष पछि उनले बेइजिङ ओलम्पिक खेले । पाकिस्तानमा खेल्दा खुट्टामा लागेको चोट पुनः बल्झियो । तर, जितको भोक उनमा थियो, ‘डक्टरले सल्लाह विपरित बंगलादेशमा भएको दक्षिण एसियाली खेलकुद खेल्ने निर्णय गरेँ ।’ तेक्वान्दो खुट्टाले खेल्ने खेल हो । तर उनको घुँडामा नै चोट थियो । चोटका कारण उनलाई हिड्न, सिँडी चढ्न, नित्यकर्म गर्न समेत कठीन थियो । रिङमा प्रतिष्पर्धा गर्ने कसरी ? तर, उनमा आत्मविश्वास थियो ।

प्रशिक्षकले पनि नखेल्ने सल्लाह दिए । तर उनी मान्ने पक्षमा थिएनन् । हारेपनि रिङमा गएर हार्छु भन्ने सोच बनाए । ‘घुँडामा तीन–चारवटा क्याप अनि नदुखाउने सुई लगाएर म रिङ्मा उत्रिएँ ।’ ‘मेरो प्रतिष्पर्धीले घुँडामा छोएको भएपनि म खेल्न सक्दिनथेँ होला ।’ भगवानमा विश्वास गर्ने दिपक भन्छन्, ‘मेरो भगवान, कुल देवता, नेपालीको आशिर्वादले ढाकामा एउटा जादु जस्तै भयो ।’ ‘त्यहाँ पदक जित्छु जस्तो लागेकै थिएन । जित्छु भनेर गएकै थिइनँ ।’ त्यहाँ उनले स्वर्ण पदक जिते र सबैभन्दा धेरै स्वर्ण पदक जित्ने दक्षिण एसियाली खेलाडीको रेकर्ड बनाए । उनले बैकुण्ठ मानन्धरको कीर्तिमान पनि आफ्नो नाममा सारे । उनको सफलताको कथामा दुःख, सुख, खुसी, आँशु सबै मिसिएका छन् ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey