स्वरुप फेर्दै दशरथ रंगशाला, एक वर्षमा बन्ला त ?

0

फागुन ३०, काठमाडौं । डिभिजन टूमा पाएको सफलताका लागि बधाई तथा पुरस्कार वितरण कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष फुटबल र क्रिकेटको एक एक अन्तर्राष्ट्रिय रंगशालाको माग गरेपछि जवाफमा प्रधानमन्त्रीले भनेका थिए, ‘खेलकुद बुझेको सरकार छ, यो सरकारले ५ वर्षको अवधिमा क्षमताले भ्याएसम्म खेलकुद पूर्वाधारको बिकासमा लगानी गर्नेछ ।

विश्वकप खेलिसकेको नेपाली क्रिकेट टोलीका कप्तानले देशको कार्यकारी प्रमुखसमक्ष रंगशालाका लागि सार्वजनिक याचना गर्नुले प्रष्ट हुन्छ कि नेपालमा खेलकुदको अवस्था कस्तो छ । आधुनिक विश्वमा मुलुकको सम्बृद्धिको मापन उसले खेलकुदमा गरेको लगानीबाट गरिन्छ तर, नेपालमा… ?

नेपालमा अहिले एउटा पनि रंगशाला छैन । अन्तर्राष्ट्रियस्तरको भनिएको एकमात्र रंगशाला तीन वर्षअघिको भूकम्पले थिलोथिलो भएपछि त्यसको पुनर्निर्माण अहिलेसम्म सुरु भएको छैन । ३ वर्षको बीचमा पुरानो संरचना भत्काउने काम पनि सकिएको छैन । क्रिकेट रंगशालाको त निर्माण सम्पन्न नै भएको छैन ।

सार्कस्तरीय खेलकुद प्रतियोगिताको १३औं संस्करण अर्को वर्ष हुने भनिएको छ । २० वर्षपछि प्रतियोगिता आयोजनाको जिम्मा पाएको नेपालसँग एउटा सुविधासम्पन्न रंगशाला छैन । भूकम्पले क्षतविक्षत बनाएको संरचना भत्काउनै ३ वर्ष लाग्यो भने त्यसको पुनर्निर्माण गरी तयार बनाउने काम १ वर्षमै सकिएला त ? यो अहिलेको पेचिलो प्रश्न हो ।

कहिले बजेट अभाव त कहिले टेन्डर प्रक्रियाको ढिलाई र, त्यो भन्दा पनि निराशाजनक कुरा भनेको सम्बन्धित संस्था/व्यक्तिमा इच्छाशक्तिको अभाव ।

नेपालमा अन्तराष्ट्रिय स्तरको भनिएको रंगशालाको अवस्था हेर्दा अवको ६ महिनामा एशियाली खेलकुद र १ वर्षमा साग गेम्स खेल्ने तयारी गरिरहेका खेलाडीहरुले कहाँ प्रशिक्षण गरिरहेका होलान् भनेर अचम्म मान्नुपर्ने अवस्था छ ।

रंगशालाको इतिहास

सन् २०१३ सालमा तत्कालीन राना महेन्द्रको राज्यभिषेकका अबसरमा केहि खेलकुदको पनि आयोजना हुने भएपछि टुँडीखेलको पुच्छारपट्टिको डाँडो (अहिलेको दशरथ रंगशाला भएको ठाउँ) सम्याएर खेलमैदान बनाइयो । महेन्द्रको राज्यभिषेक समारोहपछि त्यसलाई खेलैदानकै रुप दिइयो । त्यतिबेला मैदानको पश्चिमपट्टि एकतले भवनमा खेलाडी चेञ्जिङ रुप थियो ।

२०१८ सालमा राजा महेन्द्रले नै सेनाको स्वामित्वमा रहेको त्यस जग्गा खेलकुद मन्त्रालय अन्तर्गत सार्ने निर्णय गरेका थिए ।

शहीद दशरथ चन्दको नामबाट स्थापना गरिएको रंगशालाको अहिलेको स्वरुप भने बिक्रम सम्वत २०२७ सालमा निर्माण सुरु भएर २०३० सालमा सकिएको हो । चीन सरकारको सिमेन्ट र रड सहयोगमा नेपालले नै बनाएको तत्कालीन रंगशालामा अहिलेको जस्तो एथ्लेटिक्स ट्र्याक थिएन भने दर्शक क्षमता २० हजारको थियो । रंगशाला निर्माणका लागि चीन सरकारले ७० हजार बोरा सिमेन्ट र आवश्यक रड उपलब्ध गराएको थियो । २०३१ सालमा शुभजन्मोत्सव कप फुटबल प्रतियोगिता खेलाएर रंगशालाको उद्घाटन गरियो ।

२०५५ साल (सन् १९९९)मा दशरथ रंगशालामा एथ्लेटिक्स ट्र्याक, फ्लड लाइट र स्कोरबोर्डको सुविधा थपियो, चीन सरकारकै सहयोगमा । राजा विरेन्द्रको राज्यभिषेकको २५औं जन्मजयन्तीको अवसरमा चीन सरकारले उपहार दिएको १ करोड डलर त्यहाँ सदुपयोग गरिएको थियो । (भूकम्पपछि फ्लडलाइट र स्कोरबोर्ड दुवै बिग्रिएका छन् ।)

एथ्लेटिक्स ट्र्याक निर्माण गर्ने क्रममा साधारण प्याराफिटको दुई लेन भत्काइएको थियो । त्यसपछि रंगशालाको क्षमता १७ हजार ९०० मा झरेको थियो ।

२०७२ साल बैशाख १२ गतेको भूकम्प जाँदा दशरथ रंगशालामा यू–१४ गर्ल्सको अन्तर्राष्ट्रिय प्रतियोगिता भइरहेको थियो । त्यस प्रतियोगिताको फाइनल स्थगित गरियो र त्यसपछि त्यहाँ अहिलेसम्म कुनै पनि अन्तर्राष्ट्रिय तथा घरेलु खेल खेलाइएको छैन । रंगशालाको पश्चिमतर्फको भीआईपी प्याराफिट र साधारण प्यारासफटको उत्तरतर्फको भाग भूकम्पले पूर्ण क्षति पुगेको थियो । त्यसलाई भत्काएर अर्को बनाउने काम अहिले जारी छ ।

त्यस्तै दक्षिण र पूर्वतर्फको साधारण प्याराफिटमा सामान्य क्षति भएकाले पुनर्निर्माण गरिसकिएको छ ।

खेलकुद गतिविधिमात्रै होइन पार्टीको अधिबेशन, कन्सर्ट, श्रद्धाञ्जलि सभा होस या थांका प्रदर्शनी तथा बिभिन्न संस्थाको साधारणसभा यही रंगशालामा आयोजना हुने गरेको थियो । तर आवश्यक परेका बेला जस्तोसुकै कार्यक्रम पनि गर्ने तर, मर्मतमा ध्यान नदिँदा मैदानको अवस्था झन झन नाजुक बनिसकेको थियो । यतिसम्म कि चीन सरकारले बनाइदिएको एथ्लेटिम्स ट्र्याक च्यातिइसकेको थियो ।

भुकम्पपछि पुर्ननिर्माणको दबाव

त्यसोत, दशरथ रगंशाला पुनर्निर्माणका लागि राष्ट्रिय खेलकुद परिषदका तत्कालीन सदस्य सचिव युवराज लामाले भूकम्प आउनुअघि नै काम सुरु गरिसकेका थिए । जसअनुसार साधारण प्याराफिटमा सिट हाल्ने काम सकिसकेको थियो भने छानो हाल्ने काम हुँदै थियो । भूकम्पले त्यो सबै रोकियो ।

त्यसपछि खेलकुदको नेतृत्वमा केशव विष्ट आए । भूकम्पले थिलोथिलो भएको रंगशालाको पूरा संरचना परिवर्तन गर्नुपर्ने बुझेका उनले काम सुरु गर्न भने करिव २ वर्ष लगाए । भूकम्पपछिको एक वर्षको समय त चेकजाँचमै लाग्यो । त्यसपछि कहिले ठेक्का प्रक्रिया त कहिले बजेट अभावले काम ढिला भयो ।

एक वर्षअघि पुनर्निर्माणको काम सुरु भएपछि सदस्य सचिव विष्टले भनेका थिए कि १ वर्षमा पुनर्निर्माण सम्पन्न हुन्छ । तर, काम के भयो त ? जवाफमा उनी भन्छन्, अवको एक वर्षमा चाहीँ पक्का ।

सदस्यसचिव विष्टसँग हामीले रंगशाला पुनर्निर्माणको प्रगति र भइरहेको ढिलाइको कारणबारे कुराकानी गरेका थियौं ।

भूकम्प आएको बैशाखमा ३ वर्ष पुग्दैछ, दशरथ रंगशालाको पुनर्निर्माण प्रक्रिया कहाँ पुग्यो ?

रंगशाला निर्माणका लागि धरै कुराले फरक पार्छ, कहिले बजेटको अभाव, कहिले नाकाबन्दी, कहिले ठेक्का प्रक्रिया, कहिले ठेकेदारको लापरवाहीले गर्दा विगतमा काम हुन नसकेको हो ।

तर पछिल्लो एक बर्षमा हामीले रंगशाला पुन निर्माणको काम द्रूत गतिमा अगाडि बढाएका छौं । रंगशालाको छ स्टेपलाई भत्काएर पिलर सहितको प्याराफिट बनाउने तयारीमा छौ, त्यसका लागि ठेक्का भएर ठेकेदारसँग केहि दिनमा सम्झौता हुन्छ । पश्चिम पट्टिको भीआइपी प्याराफिटको भत्काउने काम भइरहेको छ । त्यो भत्काएपछि हामी त्यसका लागि पनि ठेक्का प्रक्रियामा जानेछौं ।

तर अघिल्लो बर्ष नै काम सकिन्छ भनेर तपाईले नै भन्नुभएको होइन र ?

हेर्नुस्, नेपालको सरकारी प्रक्रिया नै यति झण्झटिलो छ कि काम भनेको समयमा गर्न गाह्रो छ । खेलकुदमा मात्र होइन हरेक क्षेत्रमा कुनै पनि काम भनेको समयमा भएको छैन, कामगर्ने बातबरण बनाउन निकै आवश्यक छ ।

तर पनि हामीले पछिल्लो एक बर्षमा केहि दबाव दिएर नै रंगशालाका लागि काम अगाडि बढाएका छौं । अबको ६ महिनामा स्ट्रक्चरको काम सक्नेछौं । त्यसपछि चीन सरकारले हामीलाई रंगशालामा विग्रिएका कुराहरु (लाईट, साउण्ड सिस्टम, स्कोरबोर्ड, ट्रयाक) बनाइदिने भएको छ । ६ महिना पछि हामी चीन सरकारलाई हस्तान्तरण गर्नेछांै, भनेपछि अबको एक बर्षमा रंगशालाको काम सम्पन्न हुनेछ ।

मिति फेरि सर्दैन भन्ने के ग्यारेन्टी ?

तपाई ढुक्कु हुनुहोस, यसपटक सरकार पनि खेलमैत्री नै आएको छ । अर्को बर्ष सागको आयोजनाको जिम्मेवारी पनि छ, त्यसैले सागको पुर्वाधारका लागि भनेर पनि बजेट निकालेर रंगशाला मात्र होइन जुन जुन ठाँउमा सागको आयोजना हुने सम्भावना छ, त्यो स्थानका पुर्वाधार तयार हुनेछन् ।

सदस्य सचिवले एक वर्षमा काम सक्छौं भन्दै गर्दा अवको १ वर्षपनि जोडेर हिसाव गर्ने हो भने नेपालले ४ वर्षको बीचमा धेरै नोक्सानी ब्यहोरेको छ । धेरै नोक्सानी ब्यहोर्नेमा फुटबल सबैभन्दा अगाडि छ ।

रंगशाला नहुँदा कति गुमायो फुटबलले ?

देशमा एउटा सुविधासम्पन्न रंगशाला नभए कतिको घाटा हुन्छ त्यसको पछिल्लो उदाहरणका रुपमा एन्फालाई हेरे पुग्छ । सामान्य अन्तर्राष्ट्रिय फुटबलमा खचाखच भरिने दशरथ रंगशालामा टिकट बिक्रिबाटै एन्फाले बार्षिक करोडौं कमाइरहेको थियो । तर, चार वर्षसम्म उसको आम्दानीमो नियमित श्रोत बन्द भयो ।

नेपालले यसबीचमा एएफसी एशियन कप छनोटका तीनवटा खेल घरेलु मैदानमा खेलियो । जसमा दुई खेल हलचोकको मैदानमा र एक खेल एन्फाको मैदानमा । हलचोकमा हुदा मात्र १५ सय दर्शक उपस्थित रहेका थिए भने सातदोबाटोमा ५ हजार दर्शक ।

यदि यी तीन खेल रंगशालामा खेलाउन पाएको भए २० हजार दर्शकले खचाखच भरिएको हुन्थ्यो । जसको टिकट विक्रिबाट मात्र पनि एन्फाले कम्तिमा ३ करोड रुपैयाँ आम्दानी गर्न सक्थ्यो ।

किनकि यसअघि २०१३ मा काठमाडौमा भएको साफ च्याम्पियनसिप फुटबलमा नेपाल र अफगानिस्तान विरुद्धको खेलमा मात्र एन्फाले टिकट विक्रिबाट ९५ लाख रुपैया उठाएको थियो ।

सन् २०१५ मा मलेसियामा भएको एएफसी सोलिडारीटी कप नेपालले आयोजना गर्ने अवसर गुमायो । त्यस प्रतियोगितामा मलेसिया सहभागी थिएन, तर, प्रतियोगिता त्यहीँ खेलाइयो । त्यस प्रतियोगिता आयोजना गर्न पाएको भए टिकट बिक्रिबाटै एन्फाले ८–१० करोड कमाउन सक्थ्यो । रंगशाला नहुँदा एएफसीले एन्फालाई अरु अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनाको प्रस्ताव नै गरेन ।

त्यस्तै उमेर समूहका प्रतियोगिताहरु यू–१६ र यू–१९ साफ च्याम्पियनसिप एन्फा कम्प्लेक्समा हुदा गेट कलेक्सनबाट ९ करोड रुपैया घाटा एन्फाले ब्यहोर्यो ।

रंगशालाकै अभावका कारण पछिल्लो ३ बर्ष देखि ए डिभिजन लिग हुन सकेको छैन । जसको असर खेलाडीलाई नै प्रत्यक्ष रुपमा परिरहेको छ । राष्ट्रिय खेलाडी उत्पादनको मेरुदण्डको रुपमा रहेको लिग सञ्चालन हुन नसकेको अर्को वर्ष ४ वर्ष पूरा हुनेछ ।

यतिमात्र होइन यसको मुख्य घाटा दर्शकको क्रेजमा परेको छ भने निजी क्षेत्रको आकर्षण पनि फुटबलबाट क्रिकेटमा सरेको देखिन्छ ।

पुनर्निर्माणका लागि बजेट कति आयो र कुन मन्त्रीले के गरे ?

रंगशाला भुकम्पले प्रभावित भएपछि यसको पुन निर्माणका लागि बारम्बार रकम नआएको होइन । तर त्यो बजेट कति फ्रिज भयो भने केहिको काम नै देखिएन । २०७२–७३ सालमा रंगशाला पुननिर्माणका लागि १० करोड रुपैयाँ छुट्याइएको थियो । तर, त्यो बजेट फ्रिज हुन पुग्यो । त्यसअघि सिट हाल्नका लागि ४१ करोट खर्च भएकोमा भूकम्पले स्वाहाः पारिदियो ।

त्यसपछि अघिल्लो आर्थिक बर्षमा रंगशालाकै लागि भनेर २ करोड रुपैयाँ निकासा भएको थियो भने पछि थप १ करोड रुपैयाँ निकालिएको थियो ।

यसपटक खेलकुद परिषदले साधारण प्याराफिटका लागि २२ करोड रुपैयाँको टेन्डर गरेको छ । अब ठेकेदारले कुन गतिमा काम गर्ने हो त्यो भने हेर्न बाँकी छ ।

भुकम्पले रंगशाला खेल्न योग्य नुहँदा पनि सरकार हाक्ने नेताहरु नै रंगशालामा आएर नखेलेका होइनन् । त्यति बेला उनीहरुले चाँडै यो रंगशाला तयार हुन्छ भनेर आश्वासन पनि दिन्थे । तर, खै त बनेको ?

भुकम्प पछि नेपालमा पाँच पटक प्रधानमन्त्री (स्व. शुसिल कोइराला, केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादु देउवा र पुनः केपी शर्मा ओली) र चार वटा खेलकुद मन्त्री (पुरुषोत्तम पौडेल, सत्यनारायण मण्डल, दलजीत शर्मा श्रीपाइली र राजेन्द्रकुमार केसी) परिवर्तन भए ।

पुरुषोत्तम पौडेलले रंगशालामा नै गएर यसको विकल्पका रुपमा सरकारले अर्को स्थानमा जग्गा हेरिसकेको र चाँडै अधिग्रहरको काम हुने भरेर ४ बर्ष अगाडि बोलेका थिए । तर जव भुकम्पले रंगशालामा असर परेसँगै राजनीतिक घटनाक्रममा उनको कुर्सी पनि धरापमा प¥यो ।

दलजीत श्रीपाइली खेलकुद मन्त्री भएपछि रंगशालाको निरीक्षण मात्र गरेनन्, भूकम्पपछि पुनर्निर्माण जारी रहेको रंगशालामा फोहर सरसफाइको नाममा पब्लिसिटी स्टन्ट नै गरे ।

मैदानमै उभिएर अब चाँडै सरकारले यसलाई पूर्णता दिन्छ पनि भन्न भ्याए । उनले एउटा योजना अगाडि सारेका थिए, रंगशाला पुनर्निर्माणको जिम्मा सेनालाई दिने । सराहनीय योजना कार्यान्वयन गर्न नपाउँदै देशमा सरकार फेरियो, उनी पदमुक्त भए ।

यसबीचमा मन्त्री भएका सत्यनारायण मण्डलले रंगशालाका लागि सार्वजनिक रुपमा केहि गरेको देखिएन÷सुनिएन ।

त्यसपछि खेलकुद मन्त्रीका रुपमा आएका राजेन्द्र केसीले मन्त्री पद सम्हालेको एक साता वित्न नपाउँदै २ घण्टा घुमेर रंगशालाको निरीक्षण गरे । परिषद्का पदाधिकारीलाई अगाडि पछाडि राखेर ठूलै तामझाम देखाएका केसीले पुनर्निर्माणका लागि गरेको काम त्यति निरीक्षण गर्ने मात्र हो ।

एक बर्षमै सकिएला त पुनर्निर्माण ?

रंगशालाको पछिल्लो पटकको काम द्रूत गतिमा अगाडि बढिरहेको छ । तर, जुन किसिमले काम भइरहेको छ, त्यो भने चित्त बुझ्दो छैन ।

विशेष गरी भीआईपी प्याराफिट भत्काउन नै अझै २ महिना लाग्नेछ । त्यसमा पनि फोहोर ब्यवस्थापनको अर्को पाटो छ भने उत्तर पट्टिको प्याराफिटलाई पुर्ण रुपमा भत्काएर नयाँ बनाउनुपर्नेछ ।

परिषद्का इन्जिनियरको भनाई मान्ने हो भने यो रंगशाला पुनर्निर्माणले पूर्णता पाउन अझै २ बर्ष लाग्नेछ ।

Post Add 1025X115
Loading...