सागको मुखमा सदस्य सचिव फेरिनु कति उचित ?

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०२-०९
  • |
  • 411 पटक हेरिएको

मनाेज बस्नेत/ नेप्लेज । चार वर्षअघि सरकारले केशवकुमार विष्टलाई राष्ट्रिय खेलकुद परिषदको बागडोर संहाल्ने गरी सदस्य सचिवको जिम्मेबारी दिँदा लागेको आरोप के थियो भने उनले खेलकुद बुझेका छैनन् ।

हुन पनि नेपाली खेलकुदमा उनको नाम बिरलै सुनिएको थियो । तत्कालीन नेकपा एमालेको खेलकुद संगठन नेपाल खेलकुद महासंघका कार्यबाहक संयोजक थिए उनी । उनी कस्तो समयमा नेपाली खेलकुदको नेतृत्व संहाल्न आएका थिए भने देशको मध्य क्षेत्र भूकम्पले तहस नहस बनेको थियो । त्यसमा देशको एकमात्र अन्तर्राष्ट्रियस्तरको दशरथ रंगशाला लगायतका खेल पूर्वाधार नराम्ररी क्षतिग्रस्त बनेका थिए । खेलसंघको विवाद कायमै थियो ।

१७ औं एशियाली खेलकुदमा टिम व्यवस्थापकको रुपमा दक्षिण कोरिया जाँदा खेलाडी उतै भागेकोमा उनलाई जिम्मेबार ठहर्‍याइएको थियो । सातौं राष्ट्रिय खेलकुद आयोजना मिति तीन वर्ष ढिला भइसकेको थियो । तत्कालीन खेलकुदमन्त्री पुरुषोत्तम पौडेलको मन्त्रीस्तरीय निर्णयले सदस्य सचिव बनेका विष्टले पद संहालेलगत्तै चार वर्षमा खेलकुदलाई स्वर्णकाल बनाउने घोषणा गरेका थिए ।

प्रतियोगिता आयोजनाको हिसावले उनले आफ्नो जिम्मेबारी पूरा गरे पनि अन्य व्यवस्थापकीय पाटोमा सदस्यसचिवको नेतृत्व क्षमता कमजोर देखियो । १ वर्षसम्म ‘खेलकुद बुझ्न’का लागि समय खर्चेका विष्टले २०७३ सालमा सातौं राष्ट्रिय खेलकुद पूर्वाञ्चलमा सम्पन्न गरे ।

पूर्वाञ्चलकै स्थानीय बासिन्दा पनि भएको हिसावमा प्रतियोगिता सम्पन्न गर्न उनलाई सहज भयो । तर, केहि विवाद आएकै थिए । त्यसमध्येको मुख्य आरोप, निर्माण सम्पन्न नभएको पूर्वाधारमा प्रतियोगिता आयोजना गरेको भन्ने नै थियो । इटहरीको तेक्वान्दो हल, मोरङको बैजनाथपुर क्रिकेट रंगशालाको अवस्था नाजुक नै थियो ।

हरेक वर्ष राष्ट्रियस्तरको बृहत प्रतियोगिता आयोजना गर्ने नीति बनाएर राष्ट्रिय खेलकुद नभएको वर्ष २०७४ मा राखेपले राखेप च्याम्पियनसिपको नामबाट राष्ट्रिय प्रतियोगिता सञ्चालन गरेको थियो । युवराज लामा सदस्यसचिव हुँदा २०७१ सालमा पनि लुम्बिनी च्याम्पियनसिपको नामबाट यस्तै प्रतियोगिता आयोजना भएको थियो । आफ्नो कार्यकालको अन्तिममा उनले एक्लो अडानका साथ प्रदेश ५ मा आठौं राष्ट्रिय खेलकुद सम्पन्न गरे ।

परिषदकै उपाध्यक्ष र खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्माको कम चासोका बाबजुद उनले आठौं प्रतियोगिता सम्पन्न गर्न ठूलो मिहिनेत गरे । आठौं खेलकुदको नाममा प्रदेश नम्बर ५ ले १ अर्ब रुपैयाँ बराबरको भौतिक पूर्वाधार पाएको छ । काठमाडौंपछि खेलकुदमा पूर्वाधारसम्पन्न प्रदेश बनेको छ । पूर्वाधारमा उल्लेख्य प्रगति नभए पनि धेरै योजना निर्माण सम्पन्न हुने चरणमा छन् । आठौं राष्ट्रिय खेलकुदका लागि निर्माण भएकाबाहेक यही वर्षको मंसिरमा हुने १३ औं दक्षिण एशियाली खेलकुदका लागि काठमाडौं र पोखरामा पूर्वाधार निर्माण काम भइरहेको छ ।

भूकम्पले क्षति पुर्‍याएको दशरथ रंगशाला पुनर्निर्माण, पोखरा रंगशाला पुनर्निर्माण, सातदोवातो पौडी पोखरी निर्माण, मूलपानी क्रिकेट रंगशाला निर्माण लगायतका पूर्वाधारमध्ये धेरैजसो निर्माण यही आर्थिक वर्षमा सम्पन्न हुनेछ । मूलपानी क्रिकेट रंगशालाको मुआब्जा विवाद अन्त्य भएर काम सुरु भएको छ ।

२ वर्षमा अन्तर्राष्ट्रियस्तरको बनाउने भनिएको छ । सदस्यसचिव विष्टले भनेजस्तै स्वर्णकाल मान्न सक्ने अवस्था भने नेपाली खेलकुदमा देखिएको छैन । प्रतियोगिता आयोजना सन्तोषजनक नै भए पनि पूर्वाधार र अन्य विवाद उनको कार्यकालमा पनि अन्त्य भएन । उनकै कार्यकालमा नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले निलम्बन गरेको हो । ३ वर्षभयो अहिलेसम्म फुकुवा भएको छैन ।

क्यानको निर्वाचित कार्यसमितिलाई पाखा लगाउँदै विष्टले रमेश सिलवालको संयोजकत्वमा तदर्थ समिति बनाएपछि आईसीसीले सरकारी हस्तक्षेप भन्दै निलम्बन गरेको थियो । उत्कृष्ट प्रदर्शन गर्दै आएको क्रिकेटको स्तरलाई व्यवस्थापन गर्ने निकाय आफ्नै कारणले निलम्बनमा पर्दा फुकुवाका लागि उनको पहल अपेक्षाकृत प्रभावकारी थिएन ।

केहि खेल संघको विवादले पनि उनको कार्यकालमा समाधानको दिशा लिएन । लामो समयदेखि ब्याप्त कराँते विवादले समाधानको मार्ग लिए पनि ३ महिनामा हुने भनिएको एकीकृत अधिवेशनको टुंगो ४ महिना हुँदासम्म लागेको छैन । दुई तेक्वान्दो संघ अस्थित्वमा हुँदा देखिएको विवाद समाधानमा सदस्यसचिवको पहल प्रभावकारी भएन ।

१८ औं एयशियाली खेलकुदमा इण्डोनेसियामा नेपाली जम्बो टोली लगेकोमा पनि सदस्यसचिवको आलोचना भएको थियो । राम्रो प्रदर्शन गर्न सक्ने र पदकका आश भएकाबाहेक अनावश्यक खेललाई समावेश गराएकोमा पनि आलोचना भएको थियो । १८ औंं एशियाडमा २७ खेलका २ सय ८२ खेलाडी तथा अफिसियल इण्डोनेसिया पुगेका थिए ।

नेपालले प्याराग्लाइडिङ खेलमा रजत जितेको थियो । अहिले सदस्यसचिव ४ वर्षे कार्यभार पुरा गर्ने संघारमा छन् । उनको असार १० गते ४ वर्षे कार्यकाल पुरा हुँदै छ । कार्यकाल पुरा हुँनै लाग्दा नेपालले मंसिरमा १३ औं सागको आयोजना गर्ने जिम्मेवारी लिएको छ । जिम्मेवारी पुरा गर्ने निकाय राष्ट्रिय खेलकूद परिषद् राखेप भएकाले उनको कार्यकाल पुरा भएपछि आउने नेतृत्वले १३ औं सागको व्यवस्थापन छोटो समयमा कसरी गर्ला भन्ने प्रश्न पनि उव्जीएको छ ।

सदस्यसचिव विष्टले ४ वर्षे कार्यकालमा नेपाली खेलकूद धेरै बुझेका पनि छन् । उनले १३ औं सागको मिति तय देखि खेलस्थल तय गर्ने सम्मका भूमिकाहरु पुरा गरिसकेका छन् । काठमाडौं उपत्यका र पोखरामा आयोजना हुन लागेको नेपालको प्रष्ठिासँग जोडिएको साग सम्पन्न गर्नका लागि उनी या उनीजस्तै खेलकूद बुझेको सदस्य सचिवको खाँचो असार ११ गतेदेखि पर्ने छ । त्यसैले यता तर्फ ध्यान दिएर सरकारले नेपालको प्रतिष्ठा जोडिएको साग सम्पन्न गर्नका लागि परिषद्को जिम्मेवारी सुम्पन्ने व्यक्तिका विषयमा एक पटक सोँच्ने हो की ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey