आठौं राष्ट्रिय खेलकूदः खेलस्थल सफा गर्दै एनआरएनए

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०१-०७
  • |
  • 220 पटक हेरिएको

मुक्तिबाबु रेग्मी-

दाङ, ७ वैशाख । प्रदेश पाँचमा जारी आठौं राष्ट्रिय खेलकूद पाँच वटा जिल्लामा सञ्चालन भइरहेको छ । आगामी ११ गतेसम्म चल्ने प्रतियोगिताका ३५ खेलमध्य आधाजसो सकिएका छन् भने अन्य खेलहरु सञ्चालन भइरहेको छ । प्रतियोगिता सञ्चालन हुँदा दर्शकहरुको उपस्थिीति पनि क्रमश बढ्दै गएको छ ।

दर्शकहरु खेल हेर्न जाँदा ‘ड्राइ फुड्स तथा कोल्ड ड्रिंग्स’का बोतलहरु लिएर जाने गर्छन् । ख्याल गर्नु भएको होला तपाई हामीले खाइ सके पछि जथाभावि त्यसै रंगशाला परिसरमा छाडेर आउँछौं ।

दर्शकबाट हुने फोहोरो दैनिक सयौं केजीको वजनमा हुने गर्छ । प्रतियोगिता आयोजना गर्नु एउटा चुनौती त छनै संगसँगै कसरी खेल स्थल सफा राख्ने भन्ने ध्यान पनि आयोजकले दिनु पर्ने हुन्छ । आयोजकले ध्यान दिएका पनि छन् त्यसकालागि हरेक दिन जसो सरसफाइ गर्नका लागि निश्चित व्यक्तिलाई खटाएका पनि छन् ।

जारी आठौं राष्ट्रिय खेलकूद प्रतियोगितामा सात वटा प्रदेश तीन विभागीय र एउटा गैरआवासिय नेपालीहरु (एनआरएनए) को टिम सहभागी छन् । जम्मा २५ खेलाडीले पहिलो पटक राष्ट्रिय खेलकूदमा सहभागीता जनाएको एनआरएनएले अहिले खेलस्थल सफाइको अभियाननै सञ्चालन गरेको छ ।

एनआरएनका खेलाडीहरुले सहभागीता जनाएका खेलस्थलको फोहोर संकलन गर्ने काम शुरु देखिनै गर्दै आएको छ । वैशाख ५ गते नेपालगञ्ज रंगशालामा उद्घाटन भए पछि एनआरएनएले रंगशाला परिसर सफाई गरेर फोहोर संकलन गरेको थियो । त्यस रंगशालाबाट झण्डै चार सय केजी बराबर फोहोर संकलन भएको एनआरएनएका टिम संयोजक श्रीराम घिमिरले नेप्लेजलाई जानकारी दिए ।

आयोजकहरु प्रतियोगिताको व्यवस्थापनमा केन्द्रित हुने हुँदा एनआरएनएका खेलाडी, प्रशिक्षक, व्यवस्थापक, खेल अधिकारी सबै मिलेर खेल सकिए पछि फोहोर संकलन गर्ने गरेको घिमिरेले बताए । यसरी संकलन गरिएको फोहोर आयोजकको रोहबरमा निश्चित ठाउँमा राखिदिने र उनीहरुले व्यवस्थापन गर्ने गरेको उनको भनाई छ ।

एनआरएनएबाट आठौं राष्ट्रिय खेलकूदमा २५ जना खेलाडी, १७ जना व्यवस्थापक, २ जना निर्णायक र ७ जना खेल पदाधिकारी गरि ५१ जनाको सहभागीता रहेको छ । अहिलेसम्म एनआरएनएले नेपालगञ्ज रंगशालाका साथै तुलसीपुरमा जारी कराँते परिसर र घोराहीको व्याडमिन्ट कोर्ट आसपासमा सरसफाई गरिरहेको छ ।

आगामी दिनमा एनआरएनएले खेल्ने खेल स्थलको पनि सफाई गर्ने जनाइएको छ । घोराही र तुलसीपुरमा झण्डै ६० केजी फोहोर संकलन भएको छ । तुलसीपुरमा जारी कराते प्रतियोगितामा पहिलो दिन काता मात्रै भएको र आइतबारदेखि फाइट पनि हुने हुँदा फोहोर झनै बढ्ने आंकलन गरिएको छ । एनआरएनले अहिलेसम्म १ स्वर्ण १ रजत र ४ कास्य पदक जितिसकेको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey