साग आयोजनाका लागि अघिल्ला सरकार गम्भीर भएनन्- खेलकुद मन्त्री विश्वकर्मा

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-१०-२२
  • |
  • 377 पटक हेरिएको

१३औं दक्षिण एसियाली खेलकुद साग आगामी भदौमा हुने युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले दाबी गरेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री विश्वकर्माले साग आयोजनाका लागि अघिल्ला सरकारहरु गम्भीर नभएका कारण समयमा हुन नसकेको आरोप लगाए ।

सन् २०१८ मा हुनु पर्ने दक्षिण एसियाली खेलकुद आयोजनाको जिम्मा नेपालले लिएको थियो । तर समयमा पूर्वाधार निर्माणको काम सम्पन्न नहुँदा मार्चका लागि सारिएको थियो । त्यस समयमा पनि सम्पन्न नहुने भएपछि सेप्टेम्बरका लागि सारिएको छ । ‘पूर्ववर्ती सरकारहरुले यो प्रतियोगिता आयोजना गर्नका लागि गर्नुपर्ने तयारी, पूर्वाधारका कामहरु निर्माण गरेको भए, आज यो अवस्था आउने थिएन,’ मन्त्री विश्वकर्माले संचारकर्मीहरुलाई बताए ।

मन्त्री विश्वकर्मा थप्छन्, ‘सबै चुनौतिलाई सामना गर्दै आगामी सेप्टेम्बरमा जसरी भएपनि दक्षिण एसियाली प्रतियोगिता आयोजना गर्नेछौं ।’ दक्षिण एसियाली खेलकुदमात्र होइन, मन्त्री समक्ष आठौं राष्ट्रिय खेलकुद आयोजनाको ठूलो जिम्मेवारी पनि सम्मुक छ । त्यसका लागि तयार हुनु पर्ने पूर्वाधारहरु बनेका छैनन् ।

पूर्वाधारकै कारण मंसिरमा तय भएको राष्ट्रिय खेलकुद, माघ, फागुन हुँदै अब चैतका लागि सारिएको छ । तर पनि अझसम्म पूर्वाधारका तयार भएको छैन । सबै संरचनाहरु निर्माणाधीन अवस्थामा छन् ।

मन्त्री विश्वकर्माले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि जिम्मेवारी बोधका साथ काममा केन्द्रित भएको बताए, ‘हामीसँग ठोस कार्ययोजना छन् । पूर्वाधारका कामहरु पनि भइरहेका छन् ।’ मन्त्री विश्वकर्माले जुन संघमा विवाद कायम छ, त्यो खेललाई राष्ट्रिय खेलकुदमा समावेश नगरिने दाबी गरे ।

‘आशन्न राष्ट्रिय खेलकुदमा विवादमा नरहेका खेल संघलाईमात्र सहभागिता गराइनेछ,’ मन्त्री विश्वकर्माले बताए । कार्यक्रममा मन्त्री विश्वकर्माले यूएईविरुद्धको एक दिवसीय र टि–२० अन्तराष्ट्रिय क्रिकेट श्रृखंला जितेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सरकारले जनही ५ लाख नगदसहित सम्मान गर्ने बताए ।

मन्त्री विश्वकर्माले नयाँ पुस्तालाई पनि खेलकुद क्षेत्रमा आकर्षित गर्ने गरी खेलकुद क्षेत्रको विकास गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । सरकारले खेलकुद क्षेत्रको विकासबाट पनि मुलुकलाई समृद्ध बनाउन चाहेको पनि दोहोर्‍याए । अब खेलाडीले समयमा सेवा सुविधा पाउने मन्त्री विश्वकर्माको दाबी छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey