परिषद्काे निर्देशनकाे बेवास्ता गरे दुबै तेक्वान्दाे संघ बिघटन हुने

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०८-०९
  • |
  • 470 पटक हेरिएको

राष्ट्रिय खेलकुद परिषद्ले अस्तित्वमा रहेका नेपाल तेक्वान्दो संघ तथा नेपाल तेक्वान्दो संघ–नेपाललाई विघटन प्रक्रिया अगाडि बढाउने भएको छ । खेलाडी छनोटदेखि अन्तर्राष्ट्रिय सहभागितासम्म विवाद आएपछि दुवै संघलाई २७ कात्तिकमा विवाद सल्टाउन भनी परिषद्ले सातदिने पत्र काटेको थियो । परिषद्ले दिएको अल्टिमेटन समाप्त भइसकेको छ ।

दुवै संघ अहिलेसम्म सकारात्मक नदेखिँदा तेक्वान्दोको विवाद सधैँका लागि समाप्त पार्न विघटन नै गर्नुपर्ने अवस्था आएको परिषद्का सदस्यसचिव केशवकुमार विष्टले बताएका छन् ।

राष्ट्रिय खेलकुद परिषद्ले दुवै संघका पदाधिकारीलाई आपसी छलफलबाट समाधान गरून् भन्ने चाहना राखेकाे भएपनि एक आपसको जुँगाको लडाइँ चलिरहँदा भने परिषद् चुप लागेर नबस्ने र अग्रगामी निर्णय लिने तयारी गरेकाे छ । विष्टले नेप्लेजसँगकाे कुराकानीमा भने ‘हामी अझै पनि दुई संघका पदाधिकारीबीच सौहार्द वातावरणमा छलफल होस् भन्ने चाहन्छौँ, यसका लागि हामी धेरैमा दुई महिना समय दिन्छौँ ।’

तेक्वान्दोका खेलाडी मारमा नपरून् भनी दुई संघका पदाधिकारीलाई चेतावनीस्वरूप परिषद्ले पत्र काटेको सदस्यसचिव विष्टको भनाइ छ । ‘अबको दुई महिनाभित्र उनीहरूबीच केही भएन भने हामी संघलाई विघटन गर्छौँ ।’ कोइराला अध्यक्ष संघले विवाद सल्टाउन पाँच सदस्यीय वार्ता टोली गठन गर्दा राणा पक्षले भने परिषद्को पत्र सम्बन्धमा केही प्रतिक्रिया दिएको छैन ।

परिषदमा रहेको संघ तथा संस्था दर्ता ढर्रा किताबमा एकै स्वरूप भएका दुई–दुई दर्जन संघ छन् । तीमध्ये तेक्वान्दो संघको इतिहास गर्विलो छ । एसियन खेलकुद प्रतियोगितामा ऐतिहासिक पहिलो रजत, दक्षिण एसियाली खेलकुदमा सर्वाधिक स्वर्ण जित्ने तथा छनोट चरण पार गरी ओलम्पिक खेल नै तेक्वान्दो हो । पछिल्लो समय दुई समानान्तर संघ रहँदा यो विवादित बनिरहेको छ । ‘ढिलो वा चाँडो हो, अब नेपालमा एक मात्र तेक्वान्दो संघ रहनेछ,’ विष्टले भने, ‘खेलाडीहरूको माग पनि यही नै हो ।’

अन्तर्राष्ट्रिय सम्बन्धकाे धाककाे काम छैन
खेलकुद मन्त्रालय र परिषद्ले मान्यता दिएपछि त्यस संघको अन्तर्राष्ट्रिय मान्यताको कुनै अर्थ नरहने विष्टले स्पष्ट पारे । ‘सरकार र परिषद्ले नै मान्यता दिन्छ भने अन्तर्राष्ट्रिय निकायको मान्यता चाहिन्छ भन्ने कुरै उठ्दैन,’ उनले भने, ‘अब कसैले पनि हामी अन्तर्राष्ट्रिय मान्यता प्राप्त संघ हो भनी घमन्ड नगरे हुन्छ ।’ तेक्वान्दो संघ एउटै बनाउँदा नयाँ वा पुरानो भन्ने नहुने उनले उद्घाेष गरे । ‘जो–जो परिषद्को निर्देशन पालना गर्छन्, उनीहरू पर्न सक्छन, तर जो मान्दैनन्, उनीहरू बाहिर रहनेछन्,’ दुवै संघका पदाधिकारीलाई चेतावनी दिँदै उनले भने ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey