खुकुरी कप क्रिकेटमा टिकापुर क्लव र अन्तर जिल्ला क्लव विजयी

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२६
  • |
  • 333 पटक हेरिएको

माघ २६, काठमाडौं  । काठमाडौंमा जारी खुकुरी च्यालेञ्जर्स कप टि–२० क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार भएका खेलहरुमा समूह डीमा रहेका टिकापुर क्रिकेट क्लव र अन्तर जिल्ला स्पोर्टस क्लवले आ–आफ्नो खेलमा जित हासिल गरेका छन् ।

मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा टिकापुरले बुटवल क्रिकेट व्वाइजलाई १० रनले हरायो । प्रतियोगिताको आफ्नो दोस्रो खेलमा टिकापुरको पहिलो जित हो । त्यस्तै अन्तर जिल्लाले रौतहट किंग्स इलाभेनलाई ५ विकेटले पराजित गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको टिकापुरले निर्धारित ओभरमा ३ विकेट गुमाएर १३९ रन बनाएको थियो । उसका लागि रविन्द्रजंग शाहीले ६५ तथा राजन शेरचनले ५० रन बनाए । टिकापुरले १७ अतिरिक्त रन पाएको थियो ।

जवाफमा बुटवलले निर्धारित ओभरमा ६ विकेट गुमाएर १२९ रनमात्र बनाउन सक्यो । बुटवलका लागि ओपनर उदय पाण्डेले ४२ तथा रविन क्षेत्रीले ४५ रन बनाए पनि अन्यको प्रदर्शन सन्तोषजनक हुन नसक्दा झिनो अन्तरको हार ब्यहोर्न बाध्य भयो ।

बलिङतर्फ टिकापुरका अनुभव यादवले २ विकेट लिए ।

अर्को खेलमा रौतहटले दिएको १२० रनको लक्ष्य अन्तर जिल्ला स्पोर्टस क्लवले १८.५ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको थियो । अन्तर जिल्लाका लागि प्रकाश जैसीले अविजित ४५ रन बनाए भने मञ्जिल गुरुङले ३५ तथा सन्दिप यादवले २३ रन बनाएका थिए ।

बलिङमा रौतहटका सुनील मिश्राले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको रौतहटले निर्धारित ओभरमा ८ विकेट गुमाएर ११९ रनको सामान्य योगफल बनाएको थियो । ओपनर अस्चल चौधरीले ४९ र धर्मेन्द्र साहले २३ रन बनाउनुबाहेक रौतहटका अन्य सबै ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् ।

बलिङमा अन्तरजिल्लाका शेर मल्लले ३ तथा दुर्गेस कुर्मीले २ विकेट लिए । खेलको म्यान अफ द म्याच अन्तर जिल्लाका प्रकाश जैसी चुनिए ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey