१३औं सागमा २७ खेल, नेपालका लागि अबसर : जीवनराम श्रेष्ठ

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०४-१९
  • |
  • 316 पटक हेरिएको

नेप्लेज, १९ साउन । आगामी फागुन २५ देखि चैत ४ सम्म नेपालमै १३औं दक्षिण एशियाली खेलकुद आयोजना हुँदैछ । १० दिने खेलकुद मेलामा २७ खेलका ३१५ इभेन्ट सञ्चालन हुनेछन् । प्रतियोगितामा अघिल्लो संस्करणको भन्दा ४ खेल समावेश गरिएको हो । क्रिकेटले साग गेम्समा पुनरागमन गर्दा प्याराग्लाइडिङलाई पहिलो पटक समावेश गर्ने निर्णय दक्षिण एशियाली ओलम्पिक काउन्सिलको पछिल्लो बैठकले गरेपछि खेल संख्या २७ पुगेको हो ।

नेपाल ओलम्पिक कमिटी, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद र सरकारसमेत नेपालमा हुने सबैभन्दा ठूलो खेलकुद प्रतियोगिताको तयारीमा लागेको छ । सबैले तोकिएकै समयमा प्रतियोगिता सुरु हुने दुहाइ दिइरहेका बेला भौतिक पूर्वाधार तयारीको पाटो भने सुस्त गतिमै रहेको देखिन्छ । काठमाडौं र पोखरामा हुने भनिएको १३औं सागका लागि मुख्य भेन्यू काठमाडौंको दशरथ रंगशाला हो । जुन पुनर्निर्माणको क्रममा छ र प्रतियोगितासम्ममा तयार हुने भनिएको छ । सरकारी स्वामित्वको काठमाडौंको कवर्डहल जीर्ण अवस्थामा छ भने पोखरा रंगशाला पुनर्निर्माण सुरु भएकै छैन ।

पूर्वाधारमा बलियो भइनसकेको अवस्थामा प्रतियोगितामा खेल संख्या थप्दै जानुले प्रतियोगिता आयोजना नेपालका लागि दवाव त होइन भन्ने गुनासो सुनिन थालेको छ । तर, दक्षिण एशियाली ओलम्पिक काउन्सिलका अध्यक्षसमेत रहेका नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ भने प्रतियोगितामा सर्बाधिक खेल समावेश नेपालका लागि अवसर भएको बताएका छन् ।

१३औं साग निःशन्देह समयमै आयोजना हुन्छ

पूर्वाधार तयारी प्रक्रिया अपेक्षाकृत अघि नबढिरहेको अवस्थामा अध्यक्ष श्रेष्ठले भने सरोकारवाला निकायहरु प्रतियोगिताको तयारीमा कटिबद्ध रहेकाले समयमै सुरु हुनेमा शंका नगर्न आग्रह गरे । उनले भने, ‘हामीले पटक पटक सरकारी प्रतिनिधिसँग पनि छलफल गरेका छौं । वर्तमान खेलकुद मन्त्री, राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव पनि प्रतियोगिता समयमै गर्न कटिबद्ध हुनुहुन्छ । महत्वपूर्ण कुरा सरकारले नै नयाँ बजेटमा सागका लागि छुट्टै २ अर्ब ४ करोड बजेट विनियोजन गरेको छ ।’

‘कुनै पनि मुलुकको ओलम्पिक कमिटीले निर्णय गर्ने, आयोजना र व्यवस्थापन गर्ने हो । पूर्वाधार तयार गर्ने, लगानी गर्ने काम सम्बन्धित मुलुकको सरकारको हो ।’ उनले थपे, ‘हाम्रो सरकारले दुई वर्षअघि भारतमा भएको प्रतियोगितामै १३औं संस्करण हामीले गर्ने भन्ने प्रतिबद्धता जनाइसकेको हुनाले प्रतियोगिता समयमै हुन्छ ।’

‘साग गेम्स नेपालमा हुने सबैभन्दा ठूलो खेलकुद इभेन्ट हो । त्यसका लागि हामीसँग पर्याप्त पूर्वाधार चाहिन्छ । रंगशालामा पुनर्निर्माण भइरहेको छ । दक्षिण एशियाली ओलम्पिक काउन्सिलका प्रतिनिधिले पनि बन्दै गरेको रंगशाला हेर्नुभएको छ । राखेपले जानकारी दिएअनुसार सबै काम सागसम्ममा सकिनेछ ।’

सागमा सर्बाधिक खेल समावेश, अवसर कि प्रेसर ?

निश्चित रुपमा सन् १९८४ मा नेपालले नै प्रतियोगिताको सुरुआत गरेको हो । ५ खेल समावेश गरी सुरु गरिएको प्रतियोगिताको १३औं संस्करणसम्म आइपुग्दा खेलसंख्या २७ पुगेको छ । संसारभर नै खेलकुदको महत्व र रुची बढेको छ ।

पूर्वाधार तयारीको सवालमा प्रतियोगितामा धेरै खेल नेपालका लागि दवावको रुपमा देखिन्छ । यद्यपी अध्यक्ष श्रेष्ठले भने यसलाई अवसरको रुपमा लिएका छन् । ‘हामीले नै सुरु गरेको प्रतियोगिता तेस्रो पटक हामीले आयोजना गर्दा धेरै खेलका धेरै इभेन्टहरु सञ्चालन गर्दैछौं भने पक्कै पनि त्यो अवसर हो ।’ नेप्लेजसँगको कुराकानीमा अध्यक्ष श्रेष्ठले भने ।

घरेलु मैदानमा फाइदा लिनका लागि भने धेरै भन्दा धेरै रणनीतिक योजनाहरु बनाउनुपर्ने धारणा उनको छ । ‘खेलकुद भनेको हार र जितमात्र होइन, यसका बहुआयामिक पाटोहरु छन्, त्यसलाई कसरी प्रयोग गर्ने भन्नेमात्र हो ।’

‘नेपाल दक्षिण एशियाको ओलम्पिकको इतिहासमा जन्मदाता हो । मुस्लिम धर्ममा जसरी मक्का मदिनाको ठूलो महत्व हुन्छ, त्यस्तै दक्षिण एशियाली खेलकुदका लागि नेपाल र काठमाडौं मम्मा मदिना जस्तै हो । दशरथ रंगशाला मक्का हो ।’

‘यसलाई प्रचार गरेर हामीले हाम्रो रंगशालालाई ह्यारिटेज एरिया बनाउन सक्यौं भने हामीलाई धेरै फाइदा हुन्छ । पहिलो पटक ओलम्पिक आयोजना भएको एथेन्सलाई ग्रिसले हेरिटेजको रुपमा विकास गरेको छ र त्यहाँ संसारभरका हजारौं पर्यटक पुग्छन् ।’

दक्षिण एशियाली खेलकुद व्यवस्थित बन्दै

दुई साताअघि नेपालमा बसेको दक्षिण एशियाली ओलम्पिक काउन्सिलको बैठकले खेल थप्ने निर्णयका अलावा बिधान संशोधनबारे महत्वपूर्ण निर्णय पनि गरेको छ । अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल र ओलम्पिक काउन्सिल अफ एशियाकै ढाँचामा बिधान संशोधन गर्न लागिएको छ भने चक्रिय प्रणालीमा रहेको ओलम्पिकको नेतृत्वमा निर्वाचन प्रक्रियामा ल्याउने तयारी भइरहेको छ । आगामी अगष्ट १९ मा इण्डोनेसियामा बस्ने काउन्सिलको बैठकले बिधान संशोधनको अन्तिम निर्णय लिने काउन्सिलका अध्यक्ष श्रेष्ठले बताए ।

‘पहिलो पटक नेपालमा आयोजना हुँदा दक्षिण एशियाली ओलम्पिक काउन्सिल गठन भयो । त्यतिबेला बनेको बिधानले नै अहिलेसम्म कार्यसञ्चालन गर्दै आइएको छ । पछिल्लो अवस्थामा खेलकुदमा अन्तर्राष्ट्रिय संस्थाहरु अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी, त्यसमातहतका महादेशीय तथा क्षेत्रीय ओलम्पिक कमिटी, काउन्सिलहरु धेरै व्यवस्थित भइसकेका छन् ।’

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey