काठमाडौँ । मन्डिखाटार टेनिस क्लबको आयोजनामा पाँचौँ विष्णु गैरे टेनिस प्रतियोगिता शनिवारदेखि सुरु भएको छ । जेठ ३२ गतेसम्म चल्ने प्रतियोगिताको पहिलो दिन शनिवार तीन वटा रोमाञ्चक खेलहरू सम्पन्न भएका छन् ।
प्रतियोगिताको उद्घाटन खेलमा मेघेन्द्र प्रकाश गिरी र युवराज थापाको जोडीले विजयी सुरुवात गरेको छ । शनिवार बिहान भएको प्रतिस्पर्धामा गिरी र थापाको जोडीले राजु गुरुङ र जितेन्द्र खड्काको जोडीलाई ६-३, ६-४ को सोझो सेटमा पराजित गर्यो ।
सोही समयमा भएको अर्को निकै प्रतिस्पर्धात्मक खेलमा मच्छिन्द्र थापा र प्रकाश बोगटीको जोडीले सुनिल गुरुङ र डेगेन्द्र गिरीको जोडीमाथि ७-५, ६-५ (१०-६) को कठिन जित निकाल्यो । तेस्रो खेलमा नगओन निमा शेर्पा र मदन के.सी.को जोडीले एबी पुन र छेटेन नोक्र्येलको जोडीलाई ६-३, ६-४ को सेटमा पाखा लगाउँदै अर्को चरणको यात्रा तय गर्यो ।

प्रतियोगिता अन्तर्गत आइतबार बिहान ७ः०० बजे दुई खेलहरू हुनेछन्, जसमा टासी शेर्पा र राजेन्द्र जङ्ग कार्कीको जोडीले विज्ञान प्रधान र पासाङ शेर्पाको जोडीसँग प्रतिस्पर्धा गर्नेछ भने शिव सेढाई र राप्के छिरिङ शेर्पाको जोडीले निरञ्जन श्रेष्ठ र भगवान कोइरालाको जोडीको सामना गर्नेछ ।
यस्तै, अर्को खेलहरूमा भीष्म जङ्ग गुरुङ र पासाङ शेर्पाको जोडीले शनिवारको विजेता जोडी मेघेन्द्र प्रकाश गिरी र युवराज थापाको सामना गर्नेछ भने शनिवारकै अर्का विजेता नगओन निमा शेर्पा र मदन केसीको जोडीले सीमान्त गुरुङ र अजयन्द्र वीरविक्रम शाहको जोडीसँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ ।