यूरोपको हंगेरि स्थित बुढापेष्टमा जारी प्रतिष्ठित **ओलम्पिक रिङ्स एक्स्पो क्लासिक** खुल्ला बुद्धिचाल प्रतियोगितामा नेपालका क्याण्डिडेट मास्टर विवेक थिङले दोस्रो चरणको खेलमा हंगेरियन अन्तर्राष्ट्रिय खेलाडी बाकी बेन्सलाई पराजित गर्दै अर्को शानदार जित हासिल गरेका छन्। विवेकले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो चरणमा पनि जर्मनीका खेलाडीलाई पराजित गरेका थिए, जसले नेपालको नाम उच्च बनाएको छ।
यो प्रतियोगिता १२ सेप्टेम्बरदेखि २१ सेप्टेम्बरसम्म स्विस मानेजर सफ्टवेयरको प्रयोगमा ९ चरणसम्म खेलाइनेछ, जसमा सहभागी खेलाडीहरूलाई ९० मिनेटको खेल समयसहित ३० सेकेन्डको वृद्धि समय (increment) दिइन्छ। बुद्धिचालमा उच्च प्रतिस्पर्धा रहने यो प्रतियोगितामा विश्वभरका खेलाडीहरूले भाग लिइरहेका छन्।
विवेक थिङले हंगेरियन खेलाडी बेन्सलाई पराजित गरेर दुई चरणको खेलबाट सतप्रतिशत नतिजा हात पारेका छन्। उनले आगामी तेस्रो चरणमा हंगेरियन अन्तर्राष्ट्रिय मास्टर मेसजारोस आन्द्राससँग प्रतिस्पर्धा गर्नेछन्। थिङले यो प्रतियोगितामा आफ्नो अन्तर्राष्ट्रिय रेटिङ २२८२ बाट १८ अंक बढाउन सके फिडे मास्टरको उपाधि प्राप्त गर्ने संभावना छ।
प्रतियोगिताको विजेताले ३७५ यूरो पुरस्कार पाउनेछन् भने उपविजेताले ३०० यूरो र तेस्रो स्थानमा आउनेले २५० यूरो पाउने छन्।
विवेक थिङको यो सफलता नेपाल बुद्धिचाल महासंघका लागि पनि गर्वको विषय बनेको छ। महासंघले यसअघि ४५ औं चेस ओलम्पियाडका लागि खेलाडी छनोट गरेको थियो, तर भिसा समस्याका कारण नेपाली टोलीले भाग लिन पाएन। विश्व बुद्धिचाल महासंघले यो विषयमा चासो देखाउँदै आगामी साधारणसभामा छलफल गर्ने प्रतिबद्धता जनाएको छ।