क्यारेबियन महासागरको तटमा चम्किँयो सगरमाथाको शान

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-०१
  • |
  • 736 पटक हेरिएको

नरेशकुमार जोशी 

काठमाडौं । एकातिर क्यारेबियन महासागर अर्कातिर प्रयोगमा नआएको पुरानो विमानस्थलको मध्यभागमा अवस्थित रंगशालामा सगरमाथाको काखमा हुर्किएका खेलाडीले नेपाली राष्ट्रिय गान गाउँदा रंगशाला तरंगित बनेको थियो । जहाँ आफ्ना खेलाडी हौस्याउन उपस्थित थिए सयौं नेपाली दर्शक ।

त्यो रमणीय महासागर तटको वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टस्थित आर्नोस भाले क्रिकेट रंगशालामा छुकछुक लाग्ने गरी नेपाली क्रिकेट टिम पछि पर्दा बालुवाटारमा राष्ट्रिय टिमको पोशाक लाएर काँचको पर्दामा खेल नियाली रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल पनि हत्प्रभ भएका थिए । खेल हो हारजीत भैरहन्छ,तर यहाँ अनुशासनलाई उच्चस्थानमा राखिन्छ । राजनीतिमा जस्तो मतगणना रोकेर हार्न लागेको कुनै उम्मेदवारलाई जिताएर माला अविर पहिर्याउने छुट खेलमा हुँदैन । यही नै यसको सुन्दर पक्ष हो । यसले नै विश्व जगतमा खेलकूदको विश्वसनियता बचाएको छ । नेपाली क्रिकेट टिम झिनो अन्तरले पराजित भएपनि प्रशन्न भएर राष्ट्रिय झण्डा हल्लाउँदै रमाउनुको कारण यत्ति मात्रै हो । सेन्ट भिन्सेन्टस्थित आर्नोस भाले क्रिकेट रंगशालामा विश्व क्रिकेटका चर्चित क्विन्टन डि कक, एडेन मार्कराम, हेनरिक क्लासेन लगायतका अग्ला कदका खेलाडीको लहरैमा मध्यम कदका नेपाली खेलाडीहरु राष्टिय गान गाएर मैदान उत्रिएका थिए टेष्ट राष्ट्र दक्षिण अफ्रिकाविरुद्धको प्रतिस्पर्धामा ।

टस जितेर नेपालका कप्तान रोहितकुमार पौडेलले पहिले फिल्डिङ गर्ने निर्णय गरे । नेपालले पहिलो पारीमा गर्व गर्न लायक बलिङ गर्दै दक्षिण अफ्रिाकालाई निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा एक सय १५ रनमा रोक्यो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले राम्रो सुरुवात गरेपनि सुखद अन्त्य गर्न चुक्यो । अन्तिम दुई बलमा रन जोड्न नसक्दा गर्विलो इतिहास रच्न नेपाल चुकेको हो । यो पराजयले नेपालको अन्तिम आठमा पुग्ने सपना मात्र समाप्त भएन टी–२० विश्वकप २०२६ मा सिधै छनोट हुने अवसर समेत गुमेको छ । आज दक्षिण अफ्रिकालाई पराजित गरेको भए नेपालका लागि सोमबार हुने खेल निर्णायक हुने थियो ।

ब्याटिङ : धैर्यपूर्ण सुरुवात, फिनिसर ब्याट्सम्यानको परीक्षा

चर्चित र अनुभवले खारिएको दक्षिण अफ्रिकाका कागिसो रबाडा, एनरिक नॉर्टजे, तबरेजÞ शम्सी लगायतका बलरहरुको धारिलो बलिङ सामना गर्न निकै कठिन मानिन्छ । अन्तर्राष्ट्रिय क्रिकेटका कम मात्र प्रतियोगिता र फ्रेन्चाइज होलान् जहाँ यिनीहरुको सहभागिता नभएको होस् । तर, आजको खेलमा नेपालका ओपनरद्वयले कठिनाई महसुश गरिरहेका थिएनन् । तर, दोस्रो ओभरको पाँचौं बलमा आसिफ शेखले लामो शट खेल्न खोज्दा ‘टप एज’ क्याच उठाउन पुगे । रबाडा फलोथ्रुमा क्याचको लागि बोलाइयो । उनीसँग प्रशस्त समय थियो । तर उनले बललाई नियन्त्रणमा लिन सकेनन् । आसिफले एक बलिदान पाए ।

त्यसपछि केहीसमय नेपालले धैर्य र संयमित ब्याटिङ गर्यो । उनीहरुले राम्रो सुरुवात गरेपनि दक्षिण अफ्रिकाका स्पिनर तबरैज साम्सीको आठौं ओभरको दोस्रो बलमा ओपनर कुशल भूर्तेल आउट हुन पुगे । त्यसपछि क्रिज सम्हाल्न आएका कप्तान रोहित पौडेलले पहिलो बलमा रन लिन सकेनन् । दोस्रो बलमा बोल्ड आउट हुन पुगे । पछिल्लो समय लयमा समाएका कप्तान ‘डक आउट’ हुन पुग्दा स्टेडियममा लहरै उभिएका नेपाली समर्थक स्तव्ध हुन पुगे ।

कप्तानको विकेट झरेपछि अर्का आशलाग्दा खेलाडी अनिलकुमार शाहले ओपनर आसिफ सेखसँग अर्धशतकीय साझेदारी गर्दै नेपाललाई लक्ष्य नजिक डोर्याउँदै थिए । २४ बलमा २७ रन बनाएका शाहलाई मार्क्रमले यानसेनबाट क्याच आउट गराए । उनी आउट हुँदा नेपाललाई ३८ बलमा ३१ रनको आवश्यकता थियो । त्यसपछि हतारिँदै गएका नेपालका मध्यक्रमका खेलाडीको ब्याटबाट अपेक्षित रन बन्न सकेनन् । ओपनर आसिफ सेख सेट भइसकेका थिए । तर, उनी अर्धशतक बनाउने मुडमा थिए क्या हो लामो हिट गर्न खोज्दा आउट हुन पुगे । त्यसपछि क्रिजमा आएका स्टार क्रिकेर दीपेन्द्र सिंह ऐरी ६ रनमा आउट भए । सोमपाल कामी ८ र गुलशन झाले ६ रन बनाए ।

अन्तिम ओभरमा जीतका लागि नेपाललाई आठ रन आवश्यक थियो । स्ट्राइकमा थिए, गुलसन झा । राम्रो फिनिसरका रपमा चिनिने झाले पहिलो र दोस्रो बल डट खेले । तेस्रो बलमा चौका तथा चौथो बलमा २ रन जोडे । अब नेपाललाई दुई बलमा दुई रन चाहिएको थियो । एक रनमात्र लिन सकेको खण्डमा खेल ‘सुपर ओभर’मा जान्थ्यो । तर, त्यस्तो भएन । ओटेनिल वार्टमानको पाँचौं बल पनि उनले डट खेले । अब निर्धारित ओभरको अन्तिम बलमा दुई रन आवश्यक थियो । तर बल र ब्याट टच हुन सकेन र बल विकेटकिपरको हातमा गयो । रन लिन दौडिएका झा आउट हुन पुगे र नेपालको इतिहास रच्ने अवसर केही पर नै रोकियो ।

बलिङ. भूर्तेल र दीपेन्द्रको कसिलो बलिङ : रेकर्ड बनाउन चुके सन्दीप लामिछाने
कप्तान रोहितकुमार पौडेल र प्रशिक्षक मोन्टी देसाईलाई धेरै ठाउँमा पत्रकारले सोध्ने गर्छन्, नेपालको बलियो पक्ष के हो ? उनीहरुको जवाफ हुन्छ– नेपालको बलियो पक्ष त ब्याटिङ युनिट नै हो, हामी राम्रो स्कोर गर्न सक्छौं । यस जवाफलाई नकार्न पनि त सकिँदैन । नेपालका ओपनरले राम्रो सुरुआत दिलाएका अधिकांश खेलमा सकारात्मक नतिजा पनि आएको छ ।

तर, आजको खेलमा नेपालको कुनै पक्षबाट सन्तुष्ट भइन्छ भने त्यो ब्याटिङ नभई बलिङ हो । विषेशगरी अलराउण्डर दीपेन्द्र सिंह ऐरी र पार्ट टाइम स्पिनर कुशल भूर्तेलको कसिलो बलिङमा दक्षीण अफ्रिकाका खेलाडीहरु एकपछि अर्को जालमा फस्दै गए । अर्कोतर्फबाट अनुभवी लेग स्पिनर सन्दीप लामिछानेको उत्तिकै कसिलो बलिङ थियो । भूर्तेलले ४ तथा ऐरीले ३ विकेट लिएपछि सुपर आठमा पुगेको दक्षिण अफ्रिकाका खेलाडीहरु छक्क परेका थिए । अर्कोतिर सोमपाल कामीले उत्तिकै राम्रो सुरुआत दिलाएका थिए । उनले ब्याट्सम्यानहरुलाई खुल्नै दिएनन् । कप्तान रोहितकुमार पौडेलको कप्तानी रणनीतिले मज्जाले काम गरेको देखिन्थ्यो बलिङ युनिटमा । तर पाँच महिनापछि मैदानमा फर्किएका क्रिकेटर सन्दीप लामिछानेले टी–२० अन्तरर्राष्ट्रियमा छिटो एक सय विकेट लिने खेलाडीको सूचीमा नाम लेखाउन सकेनन् । चार ओभर बलिङ गरेका सन्दीपले १८ रनमात्र खर्चिए पनि विकेट लिन सकेनन् । उनी बलिङमा आउँदा दक्षिण अफ्रिकाका खेलाडीहरु संयमित भइरहेका देखिन्थे । समग्रमा आज नेपालले गर्व गर्न लायक बलिङ गर्यो ।

नेपाली क्रिकेटमा विश्वजगतको ध्यान
झण्डै १० वर्षपछि विश्वसामु प्रदर्शन गरिरहेको नेपालले अपेक्षित नतिजा निकाल्न नसकेपनि नेपालको प्रदर्शनलाई लिएर क्रिकेट जगतमा चर्चा चुलिन लागेको छ । विषेशगरी भारत र पाकिस्तानका क्रिकेट समर्थकहरुले नेपालको खेललाई चासो साथ हेरिरहेको र निकट भविष्यका लागि प्रिडक्ट गर्न लागेको सामाजिक सञ्जाल हेर्नेहरुले सजिलै चाल पाइरहेका छन् । त्यस्तै, विश्व क्रिकेटका चर्चित कमेन्टेटर हर्षा भोग्लेले नेपाली क्रिकेट टोलीलाई नेपालको शीर उँचो राख्नुपर्ने बताएका छन् । ‘शीर उँचो राख नेपाल । त्यो दक्षिण अफ्रिका थियो जसलाई तपाईंहरूले झन्डै हराउनुभयो । तपाईंहरूको सबैभन्दा उत्साही समर्थकहरूमध्ये एक छन्, तपाईंहरूले उनीहरूलाई विश्वास दिलाउनुभएको छ । आशा छ, छिट्टै नै ठूला दिनहरू आउनेछन्,’ भोग्लले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey