रोहितको शतकका बाबजुद मुम्बईको हार, चेन्नई २० रनले विजयी

  • Image नेप्लेज
  • ३ वैशाख २०८१, सोमवार
  • 1407 पटक हेरिएको
रोहितको शतकका बाबजुद मुम्बईको हार, चेन्नई २० रनले विजयी

काठमाडौं । रोहित शर्माको शतकका बाबजुद मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किंग्ससँग पराजित भएको छ।

आइतबार राति मुम्बईको घरेलु मैदान वानंखडेमा चेन्नईले मुम्बईमाथि २० रनको जित हासिल गरेको हो।

चेन्नईले दिएको २०७ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८६ रन मात्र बनाउन सक्यो।

मुम्बईका लागि ओपनर रोहित शर्माले ६३ बलमा ११ चौका र ५ छक्काको सहयोगमा अविजित १०५ रनको शतकीय ईनिङ खेले। तिलक बर्माले २० बलमा ५ चौकाको सहयोगमा ३१ रन बनाए।

अर्का ओपनर इशान किशनले १५ बलमा ३ चौका र १ छक्काको सहयोगमा २३ रन बनाए। पहिलो विकेटका लागि शर्मा र किशनले ४३ बलमा ७० रनको साझेदारी गरेका थिए।

यता, चेन्नईका लागि मधिशा मधिरानाले ४ तथा मुस्ताफिजुर रहमान र तुसार देशपान्डेले समान १र१ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०६ रन बनाएको थियो।

चेन्नईका लागि ऋतुराज गायकवाड तथा शिभम दुवेले अर्धशतक बनाए। दुवेले ३८ बलमा ६ चौका र २ छक्काको सहयोगमा अविजित ६६ रन बनाए। कप्तान गायकवाडले ४० बलमा ५ चौका र ५ छक्काको सहयोगमा ६९ रन बनाए।

दुवे र गायकवाडले तेस्रो विकेटका लागि ४५ बलमा ९० रनको महत्वपुर्ण साझेदारी गरेका थिए। ओपनर रचिन रविन्द्रले १६ बलमा २ चौका र १ छक्काको सहयोगमा २१ रन बनाएका थिए भने अर्का ओपनर अजिंका रहाणेले ५ रन मात्र बनाउन सके। ड्यारियल मिचेलले १४ बलमा १७ रन बनाए।

यस्तै पूर्व कप्तान महेन्द्रसिंह धोनी २० रनमा अविजित रहे। उनले ४ बलमा ३ छक्का प्रहार गरेका थिए भने २ रन अन्यबाट जोडेका थिए।

मुम्बईका लागि हार्दिक पान्ड्याले २ तथा जेरार्ड कोट्जे र श्रेयस गोपालले समान १र१ विकेट लिए।

छैटौं खेलबाट चौथो जितका साथ चेन्नई ८ अंकसहित तेस्रो स्थानमा कायमै रहेको छ। छैटौं खेलमा चौथो हार व्यहोरेको मुम्बई ४ अंकसहित पुछारबाट तेस्रो स्थानमा रहेकाे छ।