आर्मी इटहरी गोल्ड कपको उपाधि नजिक 

  • Image नेप्लेज
  • १४ चैत्र २०८०, बुधवार
  • 755 पटक हेरिएको
आर्मी इटहरी गोल्ड कपको उपाधि नजिक 

विभागीय टिम त्रिभुवन आर्मी क्लब १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्ड कपको फाइनल प्रवेश गरेको छ ।

इटहरी रङ्गशालामा बुधवार राती सम्पन्न पहिलो सेमिफाइनल खेलमा साबिक विजेता सगरमाथा क्लब मोरङमाथि पेनाल्टी सुट आउटमा २–१ गोलको जीत हात पार्दै आर्मी उपाधि नजिक पुगेको हो । निर्धारित समयमा दुवै टिमले गोल रहित बराबरी खेलेपछि खेलको निर्णय सिधै पेनाल्टी सुट आउटमा धकेलिएको थियो । 

आर्मीको जिताउन गोलकिपर बिकेश कुथुले सगरमाथाको ३ वटा प्रहारलाई विफल तुल्याए । उनले विजय भुजेल, स्टेफन समीर बिनोङ र प्रिसोको प्रहार रोकेका थिए ।  दिवाकर चौधरीको प्रहार भने गोलमा परिणत भएको थियो । विमल घर्ती मगरको प्रहार आकासिएको थियो ।

आर्मीका फत्तेमान घले र रिपु भुलानले गोल गरे । नवयुग श्रेष्ठको प्रहार बारमा लागेर बाहिरिएको थियो । जीतेन्द्र कार्कीको प्रहार सगरमाथाका गोलकिपर प्रिसोले रोके । 

बुधवारको खेलको म्यान अफ द म्याच गोलकिपर कुथु घोषित हुँदै नगद १० हजार पाए ।

बिहीबारको अन्तिम सेमिफाइनल खेल गत वर्षको उपबिजेताले चर्च ब्वाईज युनाइटेड काठमाडौँ र आयोजक राष्ट्रिय जागृति क्लबबिच प्रतिस्पर्धा हुनेछ ।

आयोजक पाहुना टोली कञ्चनजंगा फुटबल क्लबलाई पराजित गर्दै सेमिफाइनल पुगेको हो भने चर्च ब्वाइजले न्युरोड टिम एनआरटीलाई पराजित गर्दै आयोजकसँगको सेमिफाइनल भिडन्त पक्का गरेको थियो । शनिवार हुने फाइनल खेलको विजेताले नगद १० लाख रुपैयाँ हात पार्नेछ । उपबिजेताले ५ लाख रुपैयाँमा चित्त बुझाउनुपर्नेछ ।