प्रिन्सलाई लगातार चौथो पटक उपाधि

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-११-१९
  • |
  • 453 पटक हेरिएको

सशस्त्र प्रहरीको एपिएफ क्लबका प्रिन्स दाहालले चौथो पटक पनि पुष्पलाल स्मृति राष्ट्रिय र्‍याङर्‍याङ ब्याडमिन्टनको उपाधि उचालेका छन् ।

१३ औँ पुष्पलाल स्मृति राष्ट्रिय र्‍याङर्‍याङ ब्याडमिन्टन २०८० को शनिवार भएको फाइनलमा शीर्ष ८ तर्फको पुरुष एकलमा ललितपुरका प्रफुल महर्जन माथि २१–१८, २२–२० को सङ्घर्षपूर्ण जित निकाल्दै प्रिन्सले चौथो पटक उपाधि उचालेका हुन् । यस विधाको तेस्रो स्थानमा एपिएफका देवराज राना र नेपाल पुलिसका सुनिल जोशी रहे ।

नेकपा एमाले निकट नेपाल खेलकुद महासङ्घ, नेपालको आयोजनामा भएको प्रतियोगिताको शीर्ष ८ को महिला एकल तर्फ ललितपुरकी रसिला महर्जनले जित हात पारिन् । रसिलाले भोजपुरकी नङ्गशल तामाङलाई १७–२१, २१–१५, २२–२० को सङ्घर्षपूर्ण खेलमा पराजित गरेकी हुन् । तेस्रो स्थानमा आर्मीकी अनु माया राई र नेपाल पुलिसकी निता लम्साल रहे ।

विजेताले नगद ५० हजार, उपविजेताले नगद ३० हजार र तृतीय स्थान प्राप्त गर्नेले नगद १२ हजार ५ सय सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

पुरुष शीर्ष ८ बाहेकको उपाधि भने एपिएफका क्षितिज खनालले हात पारे । खनालले फाइनलमा नखिपोटका विवेक चौधरीलाई २१–१६, १७–२१, २१–१५ ले पराजित गर्दै उपाधि उचालेका हुन् । तेस्रो स्थानमा आर्मीका पविन लिङ्गथेप र एपिएफका रोशन साउद रहे ।

यस्तै यसै विधाका महिला तर्फको खेलमा कास्कीकी दिलासा रानाले जित हात पारिन् । उनले बेलटार ब्याडमिन्टन एकेडेमीकी रोजी राईलाई २१–१४, २१–१३ ले पराजित गरेकी हुन् । तेस्रो स्थानमा नेपाल पुलिसकी सुषमा श्रेष्ठ र पोखरा स्पोर्टस् ब्याडमिन्टन सेन्टरकी आयुष्मा नेपाल रहे ।

चन्द्रागिरिस्थित महांकाल ब्याडमिन्टन क्लबको कभर्डहलमा भएको प्रतियोगिताको पुरुष युगल तर्फ एपिएफका प्रिन्स दाहाल र विजित थापा मगर तथा ललितपुरका प्रफुल महर्जन र आर्मीका सुरोज महर्जनको जोडी बिच भएको प्रतिस्पर्धामा प्रिन्स र विजितको जोडीले जित हात पारे । प्रिन्स र विजितको जोडीले २१–७, २२–२४ र २१–१२ को जित हात पारेका हुन् । तेस्रो स्थानमा पाँचथरका दिवस शङ्कर र भोजपुरका विशाल तामाङ तथा नेपाल पुलिस क्लबका जीवन आचार्य र विष्णु कटुवालको जोडी रहे ।

महिला युगल तर्फ आर्मीकी अमिता गिरी र ललितपुरकी रसिला महर्जनले जित हात पार्दै उपाधि उचाले । गिरी र महर्जनको जोडीले आर्मीकी अनु माया राई र मोरङकी सीमा राजवंशीलाई २१–१९, २१–१२ ले पराजित गरेका हुन् । तेस्रो स्थानमा कास्कीका शीतल के.सी. र अनु राना तथा एपिएफकी शोभा गौचन र नेपाल पुलिसकी निता लम्साल रहे ।

यु–१३ को ब्वाईज तर्फ महांकाल ब्याडमिन्टन क्लबका सफल भुजेलले जित हात पार्दै उपाधि कब्जा गरे । भुजेलले कैलालीका रियांस चौधरीलाई २१–१४, १८–२१, २१–१५ ले पराजित गरेका हुन् । तेस्रो स्थानमा धन्वन्तरिका सुहम कार्की र एपिएफका आरुष सिम्खडा रहे ।

गल्र्स तर्फ दीपक ब्याडमिन्टन एकेडेमीका अस्मिता खत्रीले क्लब मध्यपुरकी स्वर्लिन श्रेष्ठलाई २१–१७, २१–१६ ले पराजित गर्दै उपाधिमा नाम लेखाइन् । दीपक ब्याडमिन्टन एकेडेमीकी उपासना बोहरा र बेलटार ब्याडमिन्टन एकेडेमीकी दिया राई संयुक्त तेस्रो भए ।

यु – १७ एकल तर्फ आर्मीका सुप्रिम पन्तले युनिग्लोबल कलेजका सक्षम ढकाललाई २१–१८, २१–१२ ले पराजित गर्दै उपाधि उचाले । एपिएफका अरुण अधिकारी र रिभाईभ लिजर पार्कका किरण न्यौपाने संयुक्त तेस्रो भए ।

गल्र्स तर्फ कास्कीकी दिलासा रानाले जित हात पार्दै उपाधि कब्जा गरिन् । महिला एकलमा पनि रोजीलाई पराजित गर्दै जित निकालेकी दिलासाले यस स्पर्धामा राईलाई १४–२१, २१–१६, २१–१५ ले पराजित गरेकी हुन् । दीपक ब्याडमिन्टन एकेडेमीका अस्मिता खत्री र उपासना बोहरा संयुक्त तेस्रो स्थानमा रहे ।

मास्टर्स युगल ४५ वर्ष माथिको खेलमा पिस फिटनेस सेन्टरका सञ्जय कपाली र अनिल थामसुहाङ्गको जोडीले रिभाईभ लिजर पार्कका शुक्र तामाङ र भीम बहादुर थापाको जोडीलाई २१–१८, २१–१० ले पराजित गर्दै उपाधि उचाले । तेस्रो स्थानमा ललितपुरका मधु गुरुङ र प्रकाश राईको जोडी र पाँचथरका दीपक आङ्गदम्बे र कुस्माका प्रेम गुरुङको जोडी रहे ।

प्रिन्सलाई बाइकसहित सम्मान

मास्टर्स युगल ५५ वर्ष माथिको प्रतिस्पर्धामा कास्कीका राम बहादुर गुरुङ र गुल्मीका खगेन्द्र रेग्मीको जोडीले बाजी मारे । उक्त जोडीले पिस फिटनेस सेन्टरका गणेश राई र कर्ण बहादुर शाहीको जोडीलाई २१–१३, २१–१३ ले पराजित गरेका हुन् । फिटनेस पार्कका पूर्ण जोशी र उमेश के.सी., तथा ललितपुरका दिल कन्दङ्गवा र एपिएफका प्रेम श्रेष्ठको जोडी तेस्रो स्थानमा रहे ।

प्रतियोगितामा विजयी खेलाडीहरूले मेडल, ट्रफी र प्रमाण पत्रका साथ शीर्ष ८ वरीयता देखि बाहेकको पुरुष एकल र महिला एकलका शीर्ष तीन स्थान प्राप्त गर्नेले नगद २० हजार, १० हजार र ५ हजार प्राप्त गरे । यस्तै पुरुष युगल तर्फ शीर्ष तीन स्थान प्राप्त गर्नेले नगद ३० हजार, १५ हजार र ५ हजार प्राप्त गरे । महिला युगल तर्फका शीर्ष तीनले नगद २० हजार, १० हजार र ५ हजार, यु–१७ र यु–१३ विधामा शीर्ष तीन स्थान प्राप्त गर्नेले नगद १५ हजार, ८ हजार र ४ हजार तथा मास्टर्स ४५ वर्ष र ५५ वर्ष माथिका शीर्ष तीन स्थान प्राप्त गर्नेले नगद ३० हजार, १५ हजार र ५ हजार प्राप्त गरे ।

विजयी खेलाडीहरूलाई समापन समारोहका प्रमुख अतिथि चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी, उपप्रमुख बसन्ती श्रेष्ठ, नेकपा एमोलकी केन्द्रीय सदस्य शर्मिला कार्की, नेपाल ब्याडमिन्टन सङ्घका उपाध्यक्ष लव भक्त श्रेष्ठ, पुष्पधन शाक्य, महासचिव वीरेन्द्र श्रेष्ठ, उपमहासचिव नवीन विक्रम शाह लगायतले पुरस्कार वितरण गरेका थिए ।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey