दाङ भ्याकेशन लिगमा डाँफे युवा क्लब र पुरन्धारा क्रिकेट क्लब विजयी

  • Image नेप्लेज
  • २३ मंसिर २०८०, शनिवार
  • 546 पटक हेरिएको
 दाङ भ्याकेशन लिगमा डाँफे युवा क्लब र पुरन्धारा क्रिकेट क्लब विजयी

नेवा सप्लायर्स दाङ भ्याकेशन लिगमा डाँफे युवा क्लब र पुरन्धारा क्रिकेट क्लब विजयी भएका छन् । शनिवार चन्द्र ज्योति क्रिकेट क्लब र डाँफे युवा क्लब बिच भएको खेलमा डाँफे क्लब ४ विकेटले विजयी भएको हो भने पुरन्धारा क्रिकेट क्लब र इन्द्रेणी क्रिकेट क्लब बिच भएको खेलमा पुरन्धारा क्रिकेट क्लब ६८ रनले विजयी भएको छ  ।

लिग चरण अन्तरगत शनिवार भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको चन्द्र ज्योति क्रिकेट क्लब ३१ ओभरमा सबै विकेट गुमाउँदै १ सय २२ रन बनाएको थियो । चन्द्र ज्योतिका लागि ध्रुवबहादुर चौधरीले १७, चेतनारायण चौधरीले ११ रन बनाउनु बाहेक अरू  खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् ।

डाँफे युवा क्लबका विजय पाण्डे र दिनेश न्यौपानेले समा ३–३ विकेट लिए । आकर्ष पाण्डेले २ र धनबहादुर केसीले १ विकेट लिए ।

१ सय २३ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङ गरेको डाँफे युवा क्लबले २३ दशमलव ३ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै विजयी भयो । डाँफेका लागि आकर्ष पाण्डेले ४३ रनको योगदान दिए  । धनबहादुर केसीले अविजित ३४ रन बनाउँदा विजय डाँगीले १५ रन जोडे ।  चन्द्र ज्योति क्रिकेट क्लबका कीमत घर्ती मगरले ३ र मिलन चौधरीले २ विकेट लिए । प्रतियोगितामा डाँफे युवा क्लबका आकर्ष पाण्डे प्लेयर अफ द म्याच भए ।

यसैगरी, शनिवार नै पुरन्धारा स्टेडियम भएको अर्को खेलमा पुरन्धारा क्रिकेट क्लबले टस जितेर ब्याटिङ गर्दै ३४ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८१ रन बनायो । पुरन्धाराका लागि हेमराज रानाले ३९ रन बनाउँदा दीपक भुलले ३४ रन बनाए । यसैगरी, रुपेन्द्र परियाले २७, सचिन विकले १६ रन बनाए ।

इन्द्रेणी क्रिकेट क्लबका लागि पुरन विकले ४ विकेट लिँदा हरिस केसी र रवि वलीले समान ३–३ विकेट लिए । अनुप डाँगीले २ र भोजराज केसीले १ विकेट लिए ।

एक सय ८२ रनको विजयी लक्ष्यका साथ मैदानमा उत्रिएको इन्द्रेणी क्रिकेट क्लब २५ ओभरमा सबै विकेट गुमाउँदै १ सय १३ रनमै समेटियो ।

सुरुवात राम्रो गरे पनि पहिलो विकेट पतनपछि सम्हालिएर खेल्न नसक्दा इन्द्रेणी सस्तैमा समेटियो । हरिस केसीले ३९, रवि शाहले २८ रन बनाउनु बाहेक अरू खेलाडी क्रिजमा टिक्न सकेनन्  । पुरन्धाराका दिलीप विष्ट, हेमराज राना, दीपक भुल, सागर पोख्रेलले समान २–२ विकेट लिए । प्रतियोगितामा पुरन्धाराका दीपक भुल  प्लेयर अफ द म्याच भएको दाङ जिल्ला क्रिकेट सङ्घका सचिव सज्नु केसीले बताए ।

होम एन्ड अबेका आधारमा खेलाइने लिगको अर्को खेल शनिवार पनि हुनेछ । जिल्लाको घोराही, लमही र बबईमा लिग खेलाउने गरी प्रतियोगिता भइरहेको छ । जिल्लाभरका ९ वटा टिमको सहभागिता रहेको लिगका खेलहरू वैशाख अन्तिम सातासम्म सञ्चालन हुनेछ । लिगमा विभिन्न उमेर समूहका खेलाडीलाई समावेश गरी खेलाइएको जिल्ला क्रिकेट सङ्घका अध्यक्ष प्रदीप मजगैँयाले जानकारी दिए ।