कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ स्कुलले विजयी सुरुआत गरेको छ। उद्घाटन खेलमा सुदूर पश्चिमाञ्चल एकेडेमी (एसपिए)लाई ८४ रनले हराउँदै लिटल फ्लावरले फराकिलो जित हात पारेको हो।
टस जितेर पहिले ब्याटिङ रोजेको लिटल फ्लावरले निर्धारित २० ओभरको खेलमा एक सय ३५ रन बनायो। १९.२ ओभर खेलेको लिटल फ्लावरका कप्तान कृष्ण कार्कीले टिमका लागि सर्वाधिक ६५ रनको योगदान गरे। बसिर अहमदले ३० रन योगदान दिँदा अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन्। सुदूर पश्चिमाञ्चल एकेडेमीका वीरेन्द्र चन्द र प्रकाश जैसीले ३/३ विकेट लिँदा खगेन्द्र कुँवरले २ विकेट लिए।
एक सय ३७ रनको विजयी लक्ष्य पछ्याएको एसपिए १६ ओभरमा अलआउट हुँदै ५१ रनमा समेटियो। आशिष लुहारले ११ रन बनाउनु बाहेक अन्यले दोहोरो अङ्कमा रन बनाउन सकेनन्। लिटल फ्लावरको बलिङमा विपिन खत्रीले ३ तथा बसिर अहमद, कौशल रुपाखेती र सचिन भट्टले २/२ विकेट लिए।
खेलको प्लेयर अफ द म्याच लिटल फ्लावरका कृष्ण कार्की घोषित भए।

प्रतियोगिता उद्घाटन गर्दै नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुर बहादुर चन्दले एलपीएलजस्ता मोफसलमा भइरहेका प्रतियोगिताले राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा महत्त्वपूर्ण योगदान पुर्याइरहेको बताए । सुदूरपश्चिममा क्रिकेटमा सम्भावना भएका खेलाडीहरू धेरै भए पनि पूर्वाधारको अभावले खेल क्षेत्रको विकास हुन नसकेको उनको भनाई थियो।
खेलको विकासका लागि राज्यले पूर्वाधारमा लगानी गर्नुपर्नेमा जोड दिँदै उनले फाप्लामा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको कामलाई तीव्रताका साथ अगाडि बढाउन सरकारलाई आग्रह गरे।
आयोजक क्लबका अध्यक्ष रामचन्द शाहीले मोफसलबाट क्रिकेटको विकास गर्ने उद्देश्यले विगत आठ वर्षदेखि एलपिएल सञ्चालन गरिरहेको बताए। प्रतियोगिता विद्यार्थीलाई आफ्नो प्रतिभा देखाउन अवसर भएको र यसले सुदूरपश्चिममा क्रिकेटको विकासमा टेवा पुर्याउँदै आएको उनले बताए।
लिटल फ्लावर स्पोर्टस् क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको यो आठौँ संस्करण हो। प्रतियोगिताको उपाधि विजेताले दुई लाख ५५ हजार र उपविजेताले एक लाख २८ हजार रुपैयाँ पुरस्कार पाउने छन्। प्रतियोगितामा काठमाडौँ, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ वटा टिमको सहभागिता रहेको छ।