पाकिस्तानले टेस्ट र टी २० कप्तान मसुद र अफ्रिदीलाई बनायो

  • Image नेप्लेज
  • २९ कार्तिक २०८०, बुधवार
  • 5351 पटक हेरिएको
पाकिस्तानले टेस्ट र टी २० कप्तान मसुद र अफ्रिदीलाई बनायो

पाकिस्तान क्रिकेट टोली विश्वकपको लिग चरणबाट बाहिरिएपछि टोलीका कप्तान बाबर आजमको नेतृत्वको कडा आलोचना भएको थियो। बाबर आजमले आफ्नो देश पुगेसँगै क्रिकेटका सबै फर्म्याटको कप्तानीबाट राजीनामा दिएका छन् । बाबर आजमले सामाजिक सञ्जालमा पोस्ट सेयर गर्दै यो चकित पार्ने निर्णय लिएका हुन् । बाबर आजमले पदबाट राजीनामा दिएपछि पाकिस्तान क्रिकेट बोर्डले दुई नयाँ खेलाडीलाई टी–२० र टेस्ट फर्म्याटका लागि कप्तानको जिम्मेवारी दिएको छ ।

शान मसूदलाई टेस्ट फर्म्याटमा पाकिस्तानी टोलीको कप्तान बनाइएको छ भने टी–२० अन्तर्राष्ट्रियमा शाहिन शाह अफ्रिदीलाई यो जिम्मेवारी दिइएको छ । एकदिवसीय ढाँचाका बारेमा अहिलेसम्म कुनै निर्णय भइसकेको छैन, तर शाहिन शाह अफ्रिदीको टी–२० प्रदर्शनलाई हेरेर उनलाई एकदिवसीय ढाँचाको कप्तान पनि बनाउन सकिन्छ ।

बाबर आजमले राजीनामा दिएपछि पाकिस्तान क्रिकेट बोर्डले आधिकारिक विज्ञप्ति जारी गर्दै बाबर आजमलाई टेस्ट फर्म्याटको कप्तानी जारी राख्न भनिएको थियो तर उनले तीनवटै फर्म्याटबाट टाढा रहने निर्णय गरे जसलाई बोर्डले पनि सम्मान गरेको छ ।  

पाकिस्तानका नयाँ टेस्ट कप्तानका अगाडि पहिलो चुनौती अष्ट्रेलियाको भ्रमण हुनेछ, जहाँ पाकिस्तानी टोलीले ३ टेस्ट म्याच खेल्नेछ। त्यसपछि शाहिन शाह अफ्रिदीले टी–२० फर्म्याटको कप्तानी सम्हाल्नेछन् । शाहिन अफ्रिदीका लागि पहिलो चुनौती न्यूजिल्याण्ड भ्रमण हुनेछ, जहाँ पाकिस्तानी टोलीले जनवरी महिनामा ५ टी–२० खेलको शृङ्खला खेल्नेछ।