विनाेद सिंह विष्ट
बैतडीको दशरथचन्द नगरपालिकामा बुधबारदेखि नगरस्तरीय टी–२० क्रिकेट प्रतियोगिता शुरु भएको छ।
बुड्डाबाजे खेलमैदानमा रातामाटामा शुरू प्रतियोगिताकाे उद्घाटन खेलमा दनपा ३ दुर्गाभवानीलाई ९ विकेटले पराजित गर्दै दनपा वडा नं २ देहीमाडौंले विजयी शुरुवात गरेको छ ।
जितका लागि पाएकाे ८३ रनको सामान्य लक्ष्य देहीमाण्डौंले ६ दशमलव ५ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्याे । जसमा दिपक बोहराले अर्धसतकीय पारी खेल्दै ५४ र गजेन्द्र बाेहराले २२ रन बनाए ।
दुर्गाभवानीका लागि किरन पुजाराले एकमात्र विकेट लिए।
त्यसअघि टस जितेर ब्याटिङ गरेको दुर्गाभवानीले १७ ओभरमा ८२ रनमा अलआउट भयाे । उसका दिनेश पुजाराले सर्वाधिक १३ रन बनाए। देहिमाडाैंका गजेन्द्र बाेहराले ३ विकेट लिए । उनी म्यान अफ दि म्याच पनि घोषित भए ।
प्रतियोगितामा ११ नगरका ओटै वडाका ११ टीमको सहभागिता रहेको छ ।
यही कात्तिक २२ गते सम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम हुने टीमलाई नगद २२ हजार ५ सयसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै दोश्रो हुने टीमलाई नगद १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
यस्तै म्यान अफ दि सिरिजलाई नगद २ हजार २५० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने बेस्ट बलर र बेस्ट ब्याट्सम्यानलाई समान १ हजार १२५ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
नगर खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र चन्दको अध्यक्षतामा भएको प्रतियोगिता उद्दघाटन समारोहमा दशरथचन्द नगरपालिकाका प्रमुख पुष्करराज जोशी (लख्खाभाइ) प्रमुख अतिथी रहेका थिए । यस्तै दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशिला चन्द बिशिष्ट अतिथी रहेकी थिइन् ।
उद्दघाटन सत्रमा वडा अध्यक्षहरु, बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्द लगायतको सरोकारवालाहरुको पनि उपस्थिती रहेको थियो ।
नगर खेलकुद विकास समितिको बार्षिक कार्यतालिका अनुसार दशरथचन्द नगरपालिकाको सहयोगमा प्रतियोगिताको आयोजना गरिएको हो ।
प्रतियोगिताको उद्दघाटन सत्रमा ब्याडमिन्टनका अन्तरराष्ट्रिय खेलाडी सुरेश जोशीलाई नगद २५ हजारसहित दोसल्ला, प्रमाणपत्र र मायाको चिनो दिएर सम्मान गरिएको छ ।
दशरथचन्द नगरपालिका ९ घर भएका जोशी १९ औं दक्षिण एसीयाली खेलकुद प्रतियोगितामा नेपालको तर्फबाट ब्याडमिन्टन खेलाडीको रुपमा प्रतिनिधित्व गरेका थिए ।
यसका साथै समापन समाराेहमा क्रिकेट खेलमा अन्तर्राष्ट्रिय टाेलीमा सहभागी भएका पुरुष खेलाडीहरुलाई दाेसल्ला र कदर पत्र बाट सम्मान गरिने जनाएको छ।
प्रतियोगिताले क्रिकेटको विकासका साथै खेलाडी उत्पादनमा सहयाेग पुग्ने विश्वास गरिएको छ।