विश्वकप क्रिकेट : श्रीलंका अफगानिस्तानसँग ७ विकेटले पराजित

  • Image नेप्लेज
  • १३ कार्तिक २०८०, सोमवार
  • 1808 पटक हेरिएको
विश्वकप क्रिकेट : श्रीलंका अफगानिस्तानसँग ७ विकेटले पराजित

आइसीसी विश्वकप क्रिकेटमा अफगानिस्तानले सेमिफाइनल प्रवेशको सम्भावना कायमै राख्दा श्रीलंका भने समूह चरणबाटै आउट हुने खतरा बढेको छ । अफगानिस्तानले जारी विश्वकपमा तेस्रो जित निकाल्दै ६ अंक बनाएको छ । अफगानिस्तान एकै पटक तीन स्थान उक्लदै पाँचौ स्थानमा पुग्दा श्रीलंका भने १ स्थान तल झर्दै छैटौं स्थानमा पुगेको छ । दुवै टोलीका अब तीन तीन खेल बाँकी छन् ।

पुणेमा सोमबार अफगानिस्तानले श्रीलंकालाई ७ विकेटले पराजित गरेको हो । श्रीलंकाले दिएको २४२ रनको लक्ष्य अफगानिस्तानले ४५.२ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो । 

अफगानिस्तानका ओपनर रहमनुल्लाह गुर्वाज खाता नखोलेरै आउट भएपछि दबाबमा आएको थियो । तर इब्राहिम जर्दान र रहमत साहले ७३ रनको साझेदारी गरेर टिमलाई माथि ल्याउन मद्दत गरेका थिए । इब्राहिम जर्दान टिमको स्कोर ७३ रन भएका बेला व्यक्तिगत ३९ रन बनाएर आउट भएका थिए । उनले १ छक्का र ४ चौका प्रहार गरे । त्यसैगरी रहमत साहले भने अर्धशतकीय पारि खेल्दै टिमलाई जितको बलियो आधार दिए । साह ७४ बलमा ६२ रनको महत्वपूर्ण पारि खेलेर पभेलियन फर्किए । त्यसपछि कप्तान हस्मतुल्लाह साहिदी र अज्मतुल्लाह ओमरजाईले नटआउट १११ रनको साझेदारी गर्दै जित पक्का गरे । अज्मतुल्लाह ओमरजाईले ७३ तथा हस्मतुल्लाह साहिदीले ५८ रनको नटआउट पारि खलेका थिए ।

श्रीलंकाका दिलसन मधुसनकाले २ विकेट लिँदा कसुन रन्जिताले एक किवेट हात पारे । 

Hashmatullah Shahidi scored his 18th half-century, Afghanistan vs Sri Lanka, World Cup, Pune, October 30, 2023

त्यसअघि पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ओभरको ३ बल बाँकी हुँदा २४१ रन बनाएर समेटिएको थियो । श्रीलंकाका कुनै पनि ब्याट्सम्यानले अर्धशतकीय पारि खेलेनन् । अफगानिस्तानका लागि फजलहक फारुकीले सर्वाधिक ४ विकेट लिए ।

अफगानिस्तानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरे र यो धेरै हदसम्म सही साबित भयो । श्रीलंकालाई छैठौं ओभरमा २२ रनको स्कोरमा पहिलो झटका लागेको थियो भने दिमुथ करुणारत्ने १५ रन बनाएर आउट भए। यसपछि पथुम निसान्का (६० बलमा ४६)ले कुसल मेन्डिस (५० बलमा ३९)सँग दोस्रो विकेटका लागि ६२ रन जोडे पनि १९ औं ओभरमा ८२ रनमा निसाङ्का आउट भए ।

श्रीलंकाले २२ औं ओभरमा १०० रन पुरा गरेपनि २८ औं ओभरमा १३४ रनको स्कोरमा कुसल मेन्डिस आउट भए । यसअघि उनले सदिरा समराविक्रमा (४० बलमा ३६) सँग तेस्रो विकेटका लागि ५० रनको साझेदारी गरे । तर, मेन्डिस आउट भएपछि समाराविक्रमा पनि ३० औं ओभरमा १३९ रनको स्कोरमा आउट भए ।

यसपछि पनि श्रीलंकाले नियमित अन्तरालमा झट्का झेल्दै आएको र जसका कारण अन्त्यमा २५० रनको अंक पनि पार गर्न सकेन । ३६औँ ओभरमा १६७ रनको स्कोरमा धनन्जय डि सिल्भा (१४) र चरित असालान्का (२२) पनि ३९औँ ओभरमा १८० रनको स्कोरमा आउट भए। दुष्मन्थ चमेरा (१) पनि ४० औं ओभरमा १८५ रनको स्कोरमा रनआउट भए ।

टोलीलाई २४० भन्दा माथि पु¥याउन महिष टिक्षानाले २९ र एन्जेलो म्याथ्युजले २३ रनको महत्वपूर्ण इनिङ्स खेले । तर, श्रीलंकाले अन्तिम ३ विकेट ११ रनमा गुमायो र तीन बल बाँकी रहँदा अलआउट भयो। फजलहक फारुकीका अलावा मुजिब उर रहमानले २ तथा राशिद खान र अजमातुल्लाह ओमरजाईले एक एक विकेट लिए ।