बार्यनको ८ गोल, हेरि केनले गरे ह्याट्रिक

  • Image नेप्लेज
  • ११ कार्तिक २०८०, शनिवार
  • 1046 पटक हेरिएको
बार्यनको ८ गोल, हेरि केनले गरे ह्याट्रिक

जर्मन बुन्डेस लिगा फुटबलमा शीर्ष स्थानमा रहेको बार्यन म्युनिखले डारमस्टडलाई निकै फराकिलो अन्तरले पराजित गरेको छ । घरेलु मैदानमा पाहुनाटोली डारमस्टडको पोस्टमा बार्यनले ८ गोल गरेको हो । 

जसमा हेरि केनले ह्याटिङक समेत पूरा गरेका थिए । तनावपूर्ण खेलमा ३ खेलाडी रातो कार्ड पाउँदै मैदान पनि छाड्न पुगे । चौथो मिनेटमै बार्यनका जोसुवा किम्ची रातो कार्ड पाउँदै मैदान छाडेपछि १० खेलाडीमा झरेको थियो ।

२१ औं मिनेटमा डारमस्टडका कुलुस जीगासुला रातो कार्ड पाउँदै मैदान छाडेपछि दुवै टिम १०–१० खेलाडीमा झरेका थिए । ३१ औं मिनेटमा डारमस्टडका अर्का खेलाडी माटेज मेगलिकाले रातो कार्ड पाएपछि डारमस्टड ९ खेलाडीमा झरेको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ८ गोल नै दोस्रो हाफमा निस्किएको थियो । ५१ औं मिनेटमा केनले गोलको खडेरी तोडेका थिए । ५६ औं मिनेटमा लोरियो सानेले बार्यनको अग्रता दोब्बर बनाए ।

Image

६० औं मिनेटमा जमाल मुसेलाले बार्यनका लागि तेस्रो गोल गरे । ६४ औं मिनेटमा सानेले व्यक्तिगत दोस्रो गोल गर्दा बार्यनले अग्रता ४–० बनाएको थियो । ६९ औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दा बार्यन ५–० ले अघि बढेको थियो । ७१ औं मिनेटमा थोमस मुलरले गोल गर्दै टिमलाई फराकिलो जिततर्फ अग्रसर बनाए । ७६ औं मिनेटमा मुसेलाले व्यक्तिगत दोस्रो गोल गर्दा बार्यन ७–० ले अघि रहेको थियो । ८८ औं मिनेटमा हेरि केनले गोल गर्दै ह्याट्रिक पूरा गरेपछि बार्यन ८–० को जित निकाल्न सफल भयो ।

जितपछि बार्यन म्युखिन २३ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ भने पराजित भएको  डारमस्टड १४ औं स्थानमा छ । 

बुन्डेस लिगा अन्तर्गत बोरुसिया मालागाच्छेले हेडेनहमलाई २–१ गोल अन्तरले पराजित गर्दा बर्मेइनले युनियन बर्लिनलाई २–० ले स्तब्ध बनाएको छ । यस्तै, अक्सबर्गले वुल्फसबगलाई ३–२ गोल अन्तरले पराजित गर्दा हफिनहमले स्टुगार्टलाई पनि ३–२ ले नै स्तब्ध बनायो ।