पुरस्कार रकमको जिम्मा कसले लिने–क्यान की सेभेन थ्री?

“मैले जितेको पुरस्कार कहिले पाउँछु”–हुसैन तलत

  • Image प्रदीप लेखी
  • ५ श्रावण २०८०, शुक्रवार
  • 1756 पटक हेरिएको
पुरस्कार रकमको जिम्मा कसले लिने–क्यान की सेभेन थ्री?

नेपाल क्रिकेट सङ्घको ड्रिम प्रतियोगिता भनेर सुरुवातमा निकै चर्चा पाएको नेपाल टी २० लिगको घोषणा हुँदा जति आशा गरिएको थियो, प्रतियोगिता सकिँदासम्म चर्चा भन्दा विवाद धेरै भयो । प्रतियोगिता विदेशी कम्पनीलाई व्यवस्थापनको जिम्मा दिने निर्णय गरेको खबर सार्वजनिक भएको दिन देखि प्रतियोगिताको फाइनल सकिँदासम्म कुनै न कुनै रूपमा विवाद कायमै रह्यो । भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसलाई क्यानले व्यवस्थापनको जिम्मा दिने निर्णय गरेदेखि नै यो प्रतियोगिताका लागि क्यानले किन यस्तो कदम चाल्यो भन्ने प्रश्न नेपालमा क्रिकेट शुभचिन्तकले उठाएका थिए । पैसाका लागि राम्रो पृष्ठभूमि नभएको कम्पनीसँग सम्झौता गरेको भन्ने आरोप क्यानलाई लागेको थियो ।

बिचमा क्यानले पाउनुपर्ने अग्रिम भुक्तानी नदिएको भन्दै कार्यसमितिको बैठकबाट नै सम्झौता रद्द गर्ने सम्मको कुरा गरेको थियो । तर त्यो कुरा त्यतिकै थाती राख्दै क्यानले सोही कम्पनीसँग मिलेर अन्तिममा करिब ६ महिना अगाडी प्रतियोगिता आयोजना सम्पन्न गरेको थियो । प्रतियोगिताका बेला पनि खेल मिलेमतो भएको भन्दै सहभागी टिमलाई सिबीआईले अनुसन्धान नै गरेको थियो । प्रतियोगिता अगाडी क्यानले नै यो प्रतियोगिताले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन ठुलो भूमिका खेल्ने र अरू देशमा भइरहेका फ्रेन्चाइजी प्रतियोगिता भन्दा कम नहुने दाबी गरेको थियो । तर ठिक उल्टो पहिलो संस्करणको नेपाल टी २० खेल मिलेमतोको खाडलमा पर्न पुग्यो । जसको कालो दाग क्यानलाई नलागेको होइन । 

नेपाली क्रिकेटमा खेलाडीले धेरै पारिश्रमिक पाएको भनेर क्यानका पदाधिकारीले गर्व गरेको प्रतियोगिताको बिचमा नै भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसका मालिक जतिन आलुवालिया भारत हिँडेपछि क्यान चौतर्फी घेरामा पर्‍यो । अझै भनौँ क्यानका पदाधिकारीका अपरिपक्वताका कारण प्रतियोगिताका सहभागी भएका टिमका खेलाडी नै अन्योलमा परे । आफूले पाउनुपर्ने रकम कताबाट लिने भन्ने अन्योल नभएको होइन । जसोतसो प्रतियोगिता सकिएर सबै लाखापाखा लाग्दा प्रतियोगिताको पुरस्कार रकम भने अहिलेसम्म न पाउनुपर्ने खेलाडीले पाएका छन् नत प्रतियोगिता जितेको टिम लुम्बिनी अल स्टार्सले नै । 

५५ लाख पुरस्कार रकम रहेको प्रतियोगिताको उपाधि जितेको लुम्बिनीले कुल ८ लाख अमेरिकी डलर झन्डै नौ करोड रुपैयाँ खर्च गरेको थियो । नेपाली क्रिकेट टिम अमेरिका भ्रमणमा गएका बेला अध्यक्ष चतुर बहादुर चन्दसहित कोषाध्यक्ष रोशनकुमार सिंह र त्यो बेला टिमका व्यवस्थापक तथा अहिलेका कार्यवाहक सचिव दुर्गाराज पाठकसँगको छलफलपछि अमेरिकामा आफ्नो व्यवसाय गर्दै आएका र पूर्व खेलाडी तथा शुभचिन्तकको टिम नेपाल अलस्टार्सले नेपाल टी २० मा भाग लिने निर्णय गरेको थियो । तर जुन रूपमा प्रतियोगिता अगाडी यो टिमका लगानीकर्ता हौसिएका थिए, अहिले आएको निकै खिन्न भएका छन् । कारण करोडौँ रुपैयाँ खर्च गरेर जितेको उपाधिको पुरस्कार रकम प्रतियोगिता सकिएको ६ महिनासम्म पनि नपाउनु । यति मात्र होइन, प्रतियोगितामा विदेशी खेलाडी तथा प्रशिक्षकको श्रम स्वीकृतिका लागि दिएको रकम पनि आवश्यक भन्दा बढी लिएको भन्ने उनीहरूको आरोप छ ।

केही दिन अगाडी सेतोपाटीमा अलस्टार्सका सह मालिक तथा पूर्व खेलाडी वरदान चालिसेले दिएको अन्तरवार्ताले यति बेला नेपाली क्रिकेटमा बहसको विषय बनेको छ । प्रतियोगिता सकिएको ६ महिना भन्दा बढी भइसक्दा पनि बारम्बार क्यानलाई सम्पर्क गर्न खोज्दा पनि कुनै जवाफ नआएपछि बाध्य भएर मिडियामा जानुपरेको अलस्टार्सका सह मालिक उत्सव सिग्देलको भनाई छ । उनका अनुसार आफुहरुको क्यानका पदाधिकारीसँग कुनै व्यक्तिगत दुस्मनी नभएको बरु उनीहरूलाई आफ्नो काममा उत्तरदायी हुनपर्छ भन्ने आभास गराउन खोजेको बताए । साथै उनले भने– हामीहरूको मुख्य मागहरू प्रतियोगिता सकिएको ६ महिना भन्दा बढी समय हुँदा पनि श्रम स्वीकृतिलाई बुझाएको १० लाख रुपैयाँको कुनै लेखाजोखा छैन ।

प्रतियोगिता जनवरीको ११ तारिखमा सकिँदा श्रम स्वीकृतिका लागि भनेर जनवरी ३० तारिखमा श्रम स्वीकृतिको अन्तिम किस्ताका रूपमा अमेरिकाबाट नै दुई लाख पठाएको बताए । यति मात्र होइन यत्रो समय हुँदा सो प्रतियोगिताका आयव्यय खर्च सार्वजनिक किन नगरेको भन्ने प्रश्न पनि हाम्रो रहेको बताए । आफूले पाउनुपर्ने रकम र सो प्रतियोगितामा उत्कृष्ट खेलाडीले पाउने रकमका बारेमा क्यानसँग जवाफ माग्न खोज्दा कुनै जवाफ नदिएको उनको भनाई छ । 

साथै सिग्देलले प्रतियोगिताको भविष्यका बारेमा पनि प्रश्न गरेका छन् । अब नेपाल टी २० लिग के हुन्छ भन्ने जवाफ पनि क्यानबाट जान्न खोजेको बताए । आफूहरूले नेपाली क्रिकेटको विकासका लागि योगदान गर्न आउँदा लगानी नै जोखिममा पर्ने अवस्था आएकाले बाध्य भएर अहिले बोल्नु परेको पनि बताए ।

No photo description available.

नेपाल टी २० लिगमा लुम्बिनी अल स्टार्सले टिमका खेलाडी र व्यवस्थापकलाई गरेको काम अरू टिमका खेलाडीले नै त्यो बेला प्रशंसा गरेका थिए । तर प्रतियोगिता सकिएको समय जति जति बढ्दै गयो उनीहरूमा नेपाल क्रिकेटका पदाधिकारी प्रति तिक्तता पनि बढ्दै गएको छ । एक किसिमले भन्ने हो भने अहिले लुम्बिनी र क्यानको केही पदाधिकारीबिच सित युद्ध जस्तो सुरु भएको छ । 

यस्तैमा नेपाल क्रिकेट सङ्घको निर्वाचनको तयारीमा छ । त्यसका लागि क्यानभित्र बाहिर नदेखिने रूपमा समूह विभाजन भइरहेको छ । चुनाव अगाडी किन यो विषय उठाएको भन्ने प्रश्नमा सिग्देल भन्छन्–“आफूले पाउनुपर्ने रकम को बाट पाउने भन्ने यकिन हुनपर्‍यो, एक पक्षले अर्कोलाई देखाउने अर्कोले क्यानसँग बुझ भन्ने, यो कुराले त आफूहरू झन् दबाबमा पारेको छ । साथै उनले केही समयपछि क्यानको निर्वाचन आउँदै छ । त्यो बेला अहिलेको समै कार्यसमिति आउँछ भन्ने यकिन पनि छैन, त्यो अगाडी नै आफुहरुको हिसाबकिताब यही कार्यसमितिले गरोस् भन्ने हो ।”

यता नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुर बहादुर चन्दसँग यो विषयमा बुझ्दा उनले प्रतियोगितामा क्यानले आयोजना नगरेको जस्तो आशय देखाए । सो बेला टिमसँगको सम्झौता खेलाडीको पारिश्रमिक लगायतका कामहरू क्यानले सेभेन थ्री स्पोर्टसँग गराएको थियो । तर त्यो बेला पारिश्रमिकको विवाद आउँदा उनले नै सो कम्पनीसँग जसरी पनि असुलेर दिने बाचा गरेका थिए । तर अहिले पनि चन्द पुरस्कार लगायतका रकमहरूका लागि पहल गरिरहेको बताउँछन् । 

यता अलस्टार्सका मालिकहरू यत्रो समय हुँदा पनि रकम असुल्न नसके किन कानुनी प्रक्रियामा नगएको भन्ने प्रश्न उठाएका छन् । अध्यक्ष चन्दले फ्रेन्चाइज टिमहरूले सबै डिल सेभेन थ्री स्पोर्टसँग गरेको बताउँदै प्रतियोगिता आयोजनाको जिम्मा पनि उसैको भएको बताए । तर समस्या आएपछि सहजीकरणको लागि क्यान अघि सरेको उनको प्रस्टीकरण छ । तर, अहिलेसम्म खेलाडीले म्याच फी पाउन सकेका छैनन् भने लुम्बिनी अलस्टार्ससहित दोस्रो र तेस्रो भएका टिमले पनि पुरस्कार रकम पाएका छैनन् । आफूहरूले गरेको लगानी बालुवामा पानी सरह भएको लुम्बिनीका मालिकहरूले बताएपछि क्यानका पदाधिकारी झस्किएका छन् ।  क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहले नेपाल टी २० लिग सेभेन थ्रीस्पोर्टसले आयोजना गरेको बताउँदै पैसाको कुनै चलखेल नभएको बताए । उनले आफूले एक पैसा पनि नलिएको बताउँदै यसलाई पुष्टि गरे क्रिकेटमा कहिल्यै नफर्कने बताए । 

मैले पाउने पैसा कहिले आउँछ–हुसैन तलत

नेपाल टी २० लिगमा प्रतियोगिताको उत्कृष्ट खेलाडी बनेका विदेशी खेलाडी हुसैन तलतले आफूले पाउनुपर्ने रकम कहिले आउँछ भनेर लुम्बिनी अल स्टार्सका मालिकहरूलाई बारम्बार सोधिरहेका हुन्छन् । अल स्टार्स फ्रेन्चाइजबाट टेक्सासमा भएको ह्युस्टन ओपन खेल्न पुगेका तलतले फेरि टिमका मालिकहरूलाई भाइ नेपाल टी २० का मेरा वेस्ट प्लेयरका प्राइज कब आएगा ( नेपाल टी २० मा आफूले पाउने पुरस्कार रकम कहिले आउँछ ) भनेर प्रश्न गरेका थिए । नेपाल टी २० मा ब्याटिङ र बलिङ दुबैमा उत्कृष्ट प्रदर्शन गरेका तलतले १० विकेट लिनुका साथै तीन सय ६७ रन बनाएका थिए । सो प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई आयोजकले पाँच लाख दिने घोषणा गरेको थियो ।

यस्तै फाइनल खेलको म्यान अफ दी म्याच बनेका हरमित सिंहको भनाई पनि तालातको जस्तै थियो । अहिलेसम्म पनि किन पुरस्कार रकम नदिएको भन्ने उनको प्रश्न थियो । हरेक खेलको म्यान अफ दी म्याचलाई ४० हजार दिने भनिएको थियो ।

नेपालमा गएर खेलेका विदेशी खेलाडीको नजरमा नेपाल टी २० प्रतियोगिताको अवधारणा राम्रो भए पनि जे जे भयो त्यो नराम्रो भएको उनीहरूको भनाई थियो ।